निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताउनुभयो । नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ ।

२०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको अर्यालले बताउनुभयो।

‘कलर कन्ट्रयास्ट अर्थात् रङमा भिन्नताको कारणले मात्र यो निर्णय गरिएको हो’ उहाँले भन्नुभयो, ‘गण्नामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको हो । यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ ।’

निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गर्नुभएको छ । उहाँले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाउनुभएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार