निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक

काठमाडौं । निर्वाचन आयोगले तीनै तहमा प्रतिनिधित्व गर्ने दलहरुको सवैदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको हो।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव घोषणा गरेको फागुन २४ गते एक महिना पुगिसकेको छ । यस अवधिमा आयोगले गरेका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिकाबारे छलफल गर्न आज विहान ११ बजे बैठक बोलाएको छ । बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुँदैछन ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

ती दलका सम्बन्धमा आयोगले जाँचबुझ अन्तिम चरणमा पुर्याएको र स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० २०७९ साल वैशाख ३० का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार