
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा हामी पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको उहाँको भनाइ थियो । ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो ।ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताउनुभयो ।
‘मकैको खेती काण्ड भन्ने पुस्तक लेख्दा जेल जानुपर्ने अवस्था थियो । लक्ष्मीप्रसाद देवकोटाले लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भयो’, उहाँले भन्नुभयो, ‘२००७ सात सालपछि बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलायो ।’ उहाँले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताउनुभयो । नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै उहाँले कहिले पनि उहाँले राजाको विरोध नगरेको उल्लेख गर्नुभयो । उहाँले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको उल्लेख पनि गर्नुभयो ।
ओलीले प्रेस स्वतन्त्रता भनेको स्वतन्त्रतासम्बन्धी मानवीय चेतनासँगको विषय भएको पनि बताउनुभयो । उहाँले मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको बताउँदै सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले सञ्चारमाध्यम सत्य र न्यायको पक्षमा हुनुपर्नेमा पनि जोड दिनुभयो । प्रेस चौतारीको पोखरामा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । रातोपाटीबाट