
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ।
पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सोमबार बसेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न अध्यक्ष यादवले निर्देशन दिनुभएको हो । प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने यादवले बताउनुभयो । गाउँ, नगर, वडा लगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।
‘प्रत्येक केन्द्रीय सदस्यहरु एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रुपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरु, प्रदेशका साथीहरु, जिल्लाका साथीहरु, गाउँ, नगर, वडा लगायत पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरुसँग समन्वय गरेर अभियान चलाऔं,’ अध्यक्ष यादवले भन्नुभयो, ‘यसरी गयौँ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौं । आफूले जिम्मा लिएको पालिकालाई जिताउन भरपुर प्रयास गरौं।’वैशाख ३० गतेसम्मका लागि उक्त अभियान गर्ने र त्यसपछि फेरि नयाँ निर्णय गर्ने भन्दै पार्टीलाई स्थापित गर्नका लागि पनि स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउनु पर्ने उहाँको भनाई छ । नागरिक खबरबाट