
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गर्नुभएको छ । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गर्नुभयो ।
‘एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो,’ उहाँले भन्नुभयो । एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उहाँको तर्क थियो । एमालेका सचिव रघुवीर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेको काम तीन वर्षमा गरेको जिकिर गर्नुभयो ।
जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । नागरिक खबरबाट