
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।जसपाको दुई दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले एकढिक्का भएर निर्वाचनमा जाने निर्णय गरेसँगै विवाद समाधान भएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजनको संघारमा पुगेको थियो।
एक–अर्काले आफ्ना पक्षमा रहेका सांसद र कार्यकारिणी सदस्यको हिसाब गर्न थालिसकेका थिए। सार्वजनिक रूपमा दुबै पक्षको आरोप–प्रत्यारोपसमेत चलेको थियो। भट्टराई पक्षले आफूसँग बहुमत रहेको दाबीसमेत गरेको थियो। यसअघि भट्टराई पक्षले पार्टीमा तीन अध्यक्षमध्ये एक अध्यक्षको चयन हुन बाँकी रहेकाले चयन गर्न माग गरेको थियो।
आइतबार र सोमबार दुई दिनसम्म बसेको बैठकले पार्टीभित्र रहेका विवादलाई समाधान गरेको नेताहरूको दाबी छ। भट्टराई पक्षले माग गरेजस्तै अध्यक्षको चयन त भएको छैन तर तीन सदस्यीय ‘हेडक्वार्टर’ गठन गरेको छ। ‘हेडक्वार्टर’मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई हुनुहुन्छ । पार्टीमा तत्काल कुनै विषयमा निर्णय लिन परेमा ‘हेडक्वार्टर’को बैठकले गर्नेछ। यसअघि पनि यो अधिकार तीन नेतालाई दिइएको थियो।
तर यादवले यसको पालना नगरेकाले उनीमाथि भट्टराई पक्षले दबाब बढाएको थियो।भट्टराई पक्षले वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा रहेको दाबी गरे पनि उनी कतै खुलेका छैनन्। राईले साथ दिएको भए भट्टराई आफैंले कार्यकारी अध्यक्ष बस्न चाहेको यादव पक्षको आरोप छ।जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले पार्टीभित्रको समस्या समाधान भएको र विवाद लगभग टुंगिएको बताउनुभयो।
‘अध्यक्षको विषयमा विधान अधिवेशनले टुंगो लगाउने भन्ने हो। बाँकी सामूहिक नेतृत्वको हकमा तीन जनाको मुख्यालय बनाउने भइयो,’ उहाँले भन्नुभयो,‘समायोजन भइनसकेका जिल्ला प्रदेश, खास गरेर राजपाको हकमा महेन्द्र यादवजीसँग रहेकाहरूको समायोजन गर्ने निर्णय भएको छ। यो काम चैत १० गते भित्र सक्दैछौं।’नयाँ शक्तिको समेत समायोजन गरेर सम्बोधन गर्ने भन्ने भएको र एकढिक्का भएर निर्वाचनमा होमिने निर्णय भएको उहाँले बताउनुभयो।
अर्को अध्यक्ष चयन गरेर जाने विषय जोडका साथ उठेको भए पनि सामूहिक नेतृत्वमा गएपछि अहिलेका समस्या समाधान हुने उहाँले बताउनुभयो। एउटा जीवन्त पार्टीमा व्यक्तिको निर्णयमाथि सामूहिक निर्णय हुन्छ। हामीले त्यो थिति बसाल्दैछौं। अब तीन जना बाहेकको सहमतिमा निर्णय नहुने भएको छ,’ उहाँले भन्नुभयो,‘चुनावको बेलामा अविश्वासको वातावरण रहेन। कहीँकतै विवाद भयो भने तीन जनाले यो टुंगो लगाउने निर्णय भएको छ।’
अर्का कार्यकारिणी सदस्य एवं वन मन्त्री रामसहाय प्रसाद यादवले एकढिक्का भएर अब सशक्त रूपले आफूहरू चुनावमा जाने बताउनुभयो।‘गाँउ–गाँउ जाऔं, जसपालाई जिताऔं’ भन्ने अभियान लिएर जाने उहाँको भनाइ छ।पार्टीको संगठनात्मक सिद्धान्त नै सामूहिक नेतृत्वमा जाने भएकाले केन्द्रीय कमिटीले हेडक्वार्टर बनाएको उहाँले बताउनुभयो। उहाँका अनुसार केन्द्रीय समितिले निर्णय गरेर बनाएको हेडक्वार्टरले जुनसुकै महत्वपूर्ण निर्णय गर्न सक्छ भने त्यसलाई कार्यकारिणी र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ।
‘एउटा राष्ट्रिय पार्टीमा यस्ता विवाद भइरहन्छन्। त्यसलाई समाधान गरेर जानु महत्वपुर्ण हो। हामी यसमा सफल भएका छौं। अबको हाम्रो मुख्य कार्यभार निर्वाचनमा सफलता पाउनु हो,’ उहाँले भन्नुभयो,‘निर्वाचनमा विकासलाई मुख्य एजेन्डाका रूपमा लैजान्छौं। स्थानीय तहको निर्वाचन भनेको संघ र प्रदेशको एउटा आधार हो। संघीयता समानुपातिक समावेशी सबैको प्रतिनिधित्वको सवालमा सबै समुदायको पहिचान अधिकारको आधारशिलाको रूपमा लिन्छौं।’ सेतोपाटीबाट