
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका लागि आगामी चुनाव चुनाव नभएर लडाईको मोर्चा भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहिवार बुटवलमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘माओवादीलाई हराउने ठूलो षडयन्त्र भएको छ । यो परिवर्तन उल्टाउने षडयन्त्र भएको छ । हामी सबैले ब्याटलमा जाने बुझियो भने हामीले जित्छौं । हामीले यसलाई चुनाव मात्र बुझिम् भने हामी हार्छौं ।’
उहाँले कार्यकर्ताहरुलाई सबै हिसावले लड्न तयार नहुने हो भने प्रतिक्रान्ति हुने बताउँदै आफूले त्यसको छनक पाइसकेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तन विरोधी नेता र पार्टीलाई जिताउन सबै विदेशी तागत लगेका छन् । यो प्रशिक्षण सामान्य होइन । तपाई हामीले अब खतराको घण्टी बज्यो भन्दै तयार गरेनौं भने यो देशलाई जोगाउन पनि हामी जित्न जरुरी छ ।’ उहाँले एक अर्को प्रसंगमा विगतमा प्रतिगामी कदम केपी ओलीको बुद्धिले मात्र नभएको बताउँदै अन्तराष्ट्रिय डिजाइनमा भएको उल्लेख गर्नुभयो ।
चुनाव केन्द्रित दुई महिने अभियानका लागि कार्यकर्तालाई निर्देशन दिँदै उनले सबैले एउटा संकल्प लिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पटक हामीले दूई महिना आँखा चिम्लियौं । हामीले जिते सबैले जित्छौं । पहिले जित्नु पर्यो । हारियो भने सबै जाने हुन्छ । अब दुई महिला जनताको बीचमा जानुपर्यो । आत्मसमिक्षा गर्ने । जनताको सेवा गर्न र सांस्कृतिक रुपान्तरणका लागि दुई महिना युद्धस्तरमा संकल्प गरेर जानु पर्दछ ।’ उहाँले विगतमा आफूहरुले डेढ महिना आन्दोलन गर्दा प्रतिगमन सच्चिएको स्मरण गर्दै अबका दुई महिना डटेर अगाडि बढे चुनाव जित्ने बताउनुभयो । नागरिक खबरबाट