सत्ता गठबन्धन प्रभावित नहुने गरी निर्णय गरौँ : लेखक

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा कांग्रेसलाई गठबन्धन आवश्यक छरछैन भन्नेभन्दा पनि सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नुपर्ने बताउनुभएको छ । उहाँले चुनावमा गठबन्धन गर्नेरनगर्ने भन्ने पार्टीको निर्णयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने धारणा राख्नुभयो ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै नेता लेखकले पार्टीका कार्यकर्ता र सत्ता गठबन्धन दल दुवैको भावनालाई बुझेर त्यसअनुसार पार्टीले निर्णय लिनु उपयुक्त हुने बताउनुभएको हो । ‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ,’ लेखकले भन्नुभएको थियो ।

उहाँले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता तथा कार्यकर्ताको मनोविज्ञानलाई ख्याल गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । ‘केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन्छ, हामीले त्यसलाई पनि ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘फेरि पार्टीको निर्णयले सरकार पनि प्रभावित हुनुहुँदैन, त्यसले आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरौँ ।’

जारी केन्द्रीय समिति बैठकमा जिल्ला–जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले धारणा राख्ने क्रम सकिएको छ भने अहिले सिनियर केन्द्रीय सदस्यहरूले बोलिरहेका छन् । यसपछि पदाधिकारीले समेत सोमबारै धारणा राख्ने बैठक निष्कर्षमा पुग्ने केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार