बुटवल । बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा फेला परेको छ । तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले बताउनसभयो । उहाँले हिरासतमै आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताउनुभयो । उहाँको अवस्था गम्भीर रहेको छ ।
नेपालीकी दिदी मनकुमारीले घटना शंकास्पद भएको रातोपाटीलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबारे छानबिन गर्नुपर्छ ।’ उहाँले आफूलाई अस्पतालमा झुक्याएर हस्ताक्षर गर्न लगाएको बताउनुभयो । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो । नेपाली बुटवलको देविनगरमा भाडामा बस्दै आएका थिए । रातोपाटीबाट