प्याराग्लाइडिङ हटाए पर्यटन व्यवसायमा ठूलो धक्का

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणको पर्खाइमा रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडानलाई अन्यत्रै सार्न निर्देशन दिएको छ । विमानस्थलबाट हुने हवाईजहाज र सराङकोटबाट हुने प्याराग्लाइडिङ उडान एकैपटक र एउटै आकाशमा सम्भव नहुने भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

पर्यटन व्यवसायीहरू भने यो कुरा मान्न तयार छैनन् । प्याराग्लाइडिङ व्यावसायी सकेसम्म पोखराको आकाशबाट बाहिर जान तयार छैनन्। पोखराकै आकाशमा उडान गर्न पाए हुन्थ्यो भन्ने व्यवसायीको चाहना छ । अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुंगा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो।

मान्द्रेढुंगा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन्। व्यवसायीले पोखराको आकाशमा झण्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने उनीहरूको तर्क छ।

पोखराबाट प्याराग्लाइडिङ विस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी र रोजगारीमा धक्का पुग्ने व्यवसायीको भनाइ छ।‘अप्ठेरो आईपर्दा पर्यटन क्षेत्र जोगाउने एउटा बलियो माध्यम प्याराग्लाइडिङ हो र यसलाई पोखराबाट विस्थापित गर्नु हुँदैन तर व्यवस्थित भने गर्नुपर्छ,’ व्यवसायी भन्छन्।पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए।

पोखराको प्याराग्लाइडिङ सुरुवात गर्दाका पाइलट राजेश बमजन भन्छन्, ‘प्याराग्लाइडिङ पोखराको मात्र नभई समग्र पर्यटन क्षेत्रको मेरुदण्ड हो। प्याराग्लाइडिङ बचाउन नसक्ने हो भने त्यसले पोखरालाई मात्र नभइ पोखराको पर्यटन व्यवसायलाई पनि मार पार्नेछ। यहाँको पर्यटन पनि बच्ने छैन।’कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई ब्यूँताउन प्याराग्लाइडिङले निकै नै सघाएको उहाँले बताउनुभयो। ‘लेकसाइडको पर्यटन जोगाउन प्याराग्लाइडिङको भूमिका छ।

अप्ठेरो अवस्थामा प्याराग्लाइडिङले पाहुना तानेर पोखराको पर्यटन क्षेत्रलाई गुन लगाएको छ,’ बमजनले भन्नुभयो, ‘प्याराग्लाइडिङको कारणले पोखराले मात्र नभई समग्र मुलुकको अर्थतन्त्रले लाभ पाएको छ। त्यसैले विस्थापित नभई व्यवस्थित गर्नुको विकल्प छैन ।’ बमजनका अनुसार चिनियाँ पर्यटकको पोखरामा ओइरो लाग्नुको पछाडिको कारण नै प्याराग्लाइडिङ थियो । पोखरा भित्रिएका करिब ९० प्रतिशत चिनियाँ पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

यस्तै लामो समय बस्ने पर्यटक पनि प्याराग्लाइडिङकै हुन्छन्। एकल (सोलो) उडान गर्ने विदेशी पाइलट पोखराको आकाशमा प्याराग्लाइडिङ उड्नकै लागि भनेर दुई सातादेखि दुई महिनासम्म बस्ने गरेको बमजनको भनाइ छ। ‘ती सोलो पाइलट उड्नकै लागि भनेर पोखरा आउँछन् । केही गरी पोखराबाट प्याराग्लाइडिङ हटेमा ती पर्यटक आउने छैनन्’ उहाँले भन्नुभयो, ‘पर्यटक आउन नपाउँदाको नोक्सान पर्यटनमै पर्ने हो, त्यसको मार राज्यलाई पनि पर्छ ।’

विमानस्थल पनि चल्ने र प्याराग्लाइडिङ पनि बच्ने किसिमले काम गर्ने हो भने यो प्रडक्ट जोगिन सक्ने उहाँको भनाइ छ। ‘पोखराको आकाशबाट प्याराग्लाइडिङ बाहिरिएर नयाँ ठाउँमा जाँदा त्यस ठाउँको प्रवर्द्धन हुनु स्वभाविक हो तर पर्यटकले सेवा सुविधा नपाउँदा यो व्यवसाय झन् धरापमा पर्छ,’ उहाँले भन्नुभयो, ‘पोखरामा होटल, रेस्टुरेन्टको सुविधा, पहुँच, अनुकूल मौसम नयाँ ठाउँमा नपाउन सकिन्छ। त्यसले प्याराग्लाइडिङ उडानमा मार पर्छ। नयाँ ठाउँमा पर्यटकको लामो बसाइ पक्कै हुँदैन। महिनौ दिन बस्नलायक पूर्वाधार नयाँ ठाउँमा नहुन सक्छन् । सुविधायुक्त बसोबास नभए पर्यटक हच्किन सक्छन्।’

प्याराग्लाइडिङ उडानमा लामो अनुभव भएका पाइलट बमजनले मौसमको हिसाबले पनि सराङकोट वर्षभरिका लागि उड्न योग्य हुने बताउँछन्। पोखरामा जत्तिको यो सहजता अन्यत्र कतै छैन। फेवाताल, बाटो, दृश्यावलोकनले पनि सराङकोट उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँका अनुसार फेवातालका कारण प्याराग्लाइडिङ उडानको लागि आवश्यक वातावरणीय अवस्था सराङकोटमा बन्ने गरेको छ । जबकी सराङकोट नजिकैको तोरीपानी र मान्द्रेढुंगामा त्यो अवस्था रहन्न।

‘बाह्रै महिना उडानमा मौसम तयार पार्न फेवातालको भूमिका हुन्छ। तोरीपानीमा अप्ठेरो हुँदा पनि सराङकोट सहज हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङलाई विस्थापित भन्दा पनि व्यवस्थित गरेर लैजान सकेमा राज्यले लाभ पाउने अन्यत्र, नोक्सान हुने उहाँले बताउनुभयो। ‘प्याराग्लाइडिङ जोगाउने जिम्मा पोखरेली व्यवसायीको मात्र नभई राज्यको पनि हो,’ उहाँले भन्नुभयो ।

प्याराग्लाइङि व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखराको प्याराग्लाइडिङ संसारकै उत्कृष्ट पाँचवटा गन्तव्य मध्ये तेस्रोमा पर्ने बताउँछन्। नेपालको पर्यटन प्रवर्द्धनमा प्याराग्लाइडिङले निकै सघाएको र युरोप, चिनियाँ, भारतीय र बंगलादेशको पर्यटकको रोजाइ समेत बढाउन सफल भएको अध्यक्ष भण्डारी बताउँछन्। ‘पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने पहिलो आधार प्याराग्लाइडिङ हो। त्यसैले यसलाई पोखराकै आकाशमा जोगाउन सक्नुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार पोखराको नयाँ विमानस्थलको दिगोपनका लागि पनि यहाँको प्याराग्लाइडिङ जोगाउन आवश्यक छ। ‘विभिन्न ठाउँबाट पाहुना आएमा विमानस्थल चल्ने हो। प्याराग्लाइडिङले पर्यटक तान्छ, उनै पाहुना हवाईजहाज चढेर पोखरा आउने हुन्,’ उहाँले भन्नुभयो, ‘हवाईजहाज र प्याराग्लाइडिङबीच नै सम्बन्ध छ। त्यसैले पोखरामै प्याराग्लाइडिङ आवश्यक हो।’

प्याराग्लाइडिङ उडान हुने सराङकोटको आकाश व्यवसायीले भन्दा पर्यटक र सम्भाव्यताले रोजेको ठाउँ रहेको उनी बताउँछन्। ‘बाह्रै महिना प्याराग्लाइडिङ उड्न योग्य ठाउँ सराङकोट हो। नेपालका धेरै डाँडाकाँडाबाट प्याराग्लाइडिङ उडाउन सकिन्छ। हामीले अन्यत्र जाँदा त्यहाँ पनि प्याराग्लाइडिङ उड्छ भनेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो, ‘बाह्रै महिना उडान सम्भव बनाउन यहाँको तालले सघाएको छ। राज्यको लगानी नहुँदा पनि हामीले उडान गरेका हौं।’ उहाँका अनुसार वर्षमा कम्तिमा एकलाख ५० हजार पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङ गर्छन्।

अध्यक्ष भण्डारीका अनुसार सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ तर प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाइ १७ सय मिटर रहेकाले त्यो भित्र समेटिने गरी उडान गर्न सकिने अवस्था रहन सक्छ। ‘तोकिएको क्षेत्र र उचाइभित्र रहेर उडान गर्छौं भनेका छौ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि अध्ययन गर्न सकिने हाम्रो भनाइ छ।’ उहाँका अनुसार प्याराग्लाइडिङका ६० कम्पनी पोखरामा छन्। ती कम्पनीमा सबैगरी करिब दुइ अर्ब रूपैयाँ लगानी छ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि हेरेर प्याराग्लाइडिङ जोगाउन सकिने आधार रहेको बताउनुभयो। ‘वर्षमा करिब डेढलाख पर्यटक प्याराग्लाइडिङ उड्छन। ती सबै पोखरा बाहिरबाट भित्रिने हुन्, अधिकांश जहाज चढेरै भित्रिने हुन्,’ उहाँले भन्नुभयो, ‘केही गरी यो प्रडक्ट पोखराबाट बाहिरियो भने ती पर्यटक पोखरा नआउन सक्छन्। त्यसको मार व्यवसायीलाई मात्र नभई राज्यलाई पनि पर्नेछ।’ प्याराग्लाइडिङ भन्दा विमानस्थल नै आवश्यक भए पनि विमानस्थल चलाउने र प्याराग्लाइडिङलाई व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘प्याराग्लाइडिङ उडानका लागि आकाशमा ‘सानो बक्स’ निर्माण गरेर साँघुरो आकाशमा उड्न दिन सकिन्छ। प्याराग्लाइडिङ हटेमा पर्यटक नै नआउन सक्छन्। भूकम्प र कोरोनापछि पोखराको पर्यटन जोगाउने आधार बनेको प्याराग्लाइडिङ जोगाउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘समय र एयरबक्स तोकेर उडान गर्न तयार छौं। हामी सानो आकार र आकाशमा उड्न तयार छौं। केही वर्षका लागि नियन्त्रित जोनमा रहेर उड्न सकिन्छ। राज्यले व्यवस्थापन गरे पुग्छ।’ nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…

thumbnail

मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…