बजेटको सिलिङप्रति धनगढी उपमहानगरका वडाध्यक्ष रुष्ट

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ लाई ७८ लाख एक हजार पाँच सय ५१ रुपैयाँको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गरि पठाउन भनियो । वडा १४ कार्यालयले विकास, पूर्वाधार, विपद व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकास लगायतका कार्यक्रममा ६७ लाख रुपैयाको हाराहारीमा योजना बनाउँदै उपमहानगरपालिकामा पठाएको छ ।

उपमहानगले पठाएको बजेट सिलिङले सो वडाका पूर्वाधारहरूको विकास गर्न नसकिने भएपछि वडा कार्यालयले प्रदेश सरकार र संघ सरकारबाट थप योजना माग गरेको छ । वडा १४ कार्यालयले संघ तथा प्रदेश सरकारबाट चार करोड २५ लाख रुपैयाको योजना माग गरेको छ । वडा कार्यालयले पठाएको पत्रमा हुलाकी सडकदेखि सुर्यनालासम्म पक्की नालासहित कालोपत्रे, ५३ टोलका ग्राभेल बाटो कालोपत्रे, वडा स्तरीय कान्जी हाउस निर्माण र हुलाकी सडकदेखि दक्षिण बुद्ध मन्दिर हुँदै सिद्धार्थ आधारभुत विद्यालय लिंकरोड

जोड्ने सडक नालासहित कालोपत्रेका लागि अनुमानित एकरएक करोड गरि चार करोड र एचगाउँ देउथान निर्माणका लागि अनुमानित २५ लाख रकमको योजना माग गरेको जनाएको छ । ‘उपमहानगरपालिकाले पठाएको बजेट सिलिङमा रहेर वडाबासीको माग अनुसार पूर्वाधार विकास गर्न सम्भव थिएन,’ वडा १४ का अध्यक्ष मानबहादुर बिष्टले भन्नुभयो– उपमहानगरपालिकाले पठाएको ७८ लाख रुपैयाको सिलिङमा न सडक ग्राभेल गर्न सकिन्छ, न त कालोपत्रे । यहाँको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायतमा सुधार गर्न पनि त्यो बजेट अपुग छ ।’उहाँले उपमहानगरपालिकाले पठाएको बजेट सिलिङ न्यून र वडाका लागि न्यायोचित नभएको बताउनुभयो ।

एक अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागेको उपमहानगरपालिकाले सबै वडामा मिलाएर १५ करोड रुपैयाँको बजेट मात्र विनियोजन गर्नु अनुपयूक्त रहेको उहाँले बताउनुभयो । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले वडाको बजेटका सिलिङका आधारमा अहिलेसम्म योजना तथा कार्यक्रम बुझाएका छैनन् । उहाँले ६३ लाख ८२ हजार रुपैयाँभित्र रहेर योजना तथा कार्यक्रम निर्माण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले अहिलेसम्म उपमहानगरपालिका कार्यालयलाई पठाएका छैनौँ । योजना तथा कार्यक्रम तयार भइसकेको छ । उपमहानगरपालिकाले दिएको बजेट सिलिङले वडाको विकास गर्न सम्भव छैन ।’

उहाँले थप योजनाका लागि संघ र प्रदेश सरकारमा सिफारिस गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– पाँच सय मिटर सडकलाई नालीसहित कालोपत्रे गर्न एक करोड रुपैया लागत लाग्छ । हामीले १० किलोमिटर सडक नालिसहितको कालोपत्रे गर्नुपर्ने अवस्था रहेको छ । उपमहानगरपालिकाको बजेटले त्यो समेट्न सक्दैन । त्यसैले संघ र प्रदेश सरकारमा योजना पठाएका छौं । कत्तिको सम्बोधन हुन्छ, त्यो भने भन्न सकिदैन ।’वडा नम्बर १४ र वडा नम्बर ६ मात्र होइन, उपमहानगरपालिकाले १९ वटै वडामा १५ करोडको बजेटको सिलिङमा रहेर बजेट सिलिङ पठाएको थियो ।

उपमहानगरपालिकाको बजेट सिलिङले तीन सय मिटर सडक पनि नालीसहित कालोपत्रे नहुने भएपछि हरेक वडाले संघ र प्रदेश सरकारसंग वडा गौरवका योजनाका लागि बजेट माग गरेका छन् ।एक अर्ब रुपैयाँभन्दा बढी रकम उपमहानगरपालिकामा राखेर वडामा १५ करोड रुपैयाको मात्र बजेट सिलिङ पठाएपछि अधिकांश वडाध्यक्ष रुष्ट छन् ।उपमहानगरपालिकाले वडा नम्बर ३, ४ र ७ बाहेक सबै वडामा एक करोडभन्दा कम रकमको बजेट सिलिङ पठाएको थियो ।उपमहानगरपालिकाले वडा नम्बर ३ मा एक करोड ११ लाख ३९ हजार तीन सय ८२, वडा नम्बर ४ मा एक करोड पाँच लाख ५१ हजार दुई सय ३० र वडा नम्बर ७ मा एक करोड दुई लाख ६३ हजार छ सय ७३ रुपैयाको बजेट सिलिङ पठाएको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

५७ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो…

thumbnail

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी…

thumbnail

सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी…