मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गर्नुभएको छ । न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गर्नुभएको हो । आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर त्यसमा आफूले अस्वीकार गरी तथ्य र प्रमाणका आधारमा आदेश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई फोन आएपछि कुराकानी गरेको थिएँ । उनले आफ्नो कुरा गरिरहेँ, मैले यो मान्छेले को कोसँग कुराकानी गरेको रहेछ र को कोसँग डिल गरेको रहेछ भनेर सुन्नका लागि अँ अँ र हो हो भनेको हो । मैले पैसाको डिल गरेको छैन र कसैसँग लिएको पनि छैन । न्यायाधीश आफैँले अनुसन्धान गर्न सक्ने भएकाले यो मुद्दालाई कसले कसरी लिएका रहेछन् भनेर उनको अफर सुनेकोसम्म हो । मैले कुनै डिल गरेको वा लाभ लिएको छैन । मलाई फसाउनका लागि कसैले डिजाइन गरेको हुनुपर्छ । यसका लागि छानबिन गर्न म आग्रह गर्छु ।’

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।

​सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । यद्यपि न्यायाधीश कोइराला भने घुस लिने सम्बन्धमा डराउँदै मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ भन्ने लगायतका कुरा गरिरहेको अडियोमा सुन्न सकिन्छ ।

तर अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् । बाहिरिएको अडियो टेपमा न्यायाधीश कोइराला आफैँले डिल गरेका छैनन्, र उनले हुन्छ वा हुँदैन केही पनि भन्नुभएको ् छैन । उता अधिवक्ता पोखरेलले भने सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोज्नुभएको छ । यद्यपि उक्त प्रकरणमा न्यायाधीशले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिनुभएको थियो ।

न्यायाधीश कोइरालाले भन्नुभयो, ‘म कहिल्यै विवादमा आएको व्यक्ति पनि होइन । मैले कसैलाई अप्ठेरोमा पारेर आर्थिक लाभ लिएको पनि छैन र लिने पनि छैन । न्यायाधीशको हैसियतमा मैले कसैको कुरा सुन्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा हो । मैले यो मुद्दाबारे थप बुझ्न र आवश्यक पर्दा अधिवक्ता वा प्रतिवादीका नातेदारलाई कारबाहीसम्म गर्न सकिन्छ भनेर कुराकानी सुनेको सम्म हुँ । तर मैले आर्थिक लाभ लिएर कुनै आदेश वा फैसला गर्दिन, नियमानुसार गर्छु भनेर भनेको छु ।

मैले नै उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको हो । डिल गरेको भए त मान्छे बाहिर हुन्थ्यो होला नि । त्यसकारण यस मुद्दामा भएको के थियो भनेर म माथि छानबिन गर्न सम्माननीय ज्यू (कामु प्रधानन्यायाधीश) र न्याय परिषद्लाई आग्रह गर्छु । छानबिनका लागि म पूर्ण सहयोग गर्छु र दोषी देखिए कारवाहीका लागि तयार छु । मैल अस्वीकार गरेको कुरा हटाएर नियतवश मैले सुनेको मात्रै विषयलाई बाहिर ल्याइयो, यो स्वार्थसमूहको इन्ट्रेष्टमा आएको छ, मुद्दालाई प्रभावित बनाउने नियतका साथ आएको छ ।’

यसै विषयलाई लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपरान्ह १ः३० बजेका लागि न्याय परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।न्याय परिषद् ऐन अन्तर्गत कुनै न्यायाधीशको सम्बन्धमा उजुरी आएमा वा कुनै प्रमाणसहित सञ्चारमाध्यममा समाचार आएमा त्यसैलाई प्रमाणका रूपमा लिई जाँचबुझ समिति बनाउन सक्नेछ । जाँचबुझ समितिले छानबिनका लागि भन्दै नेपाल राजपत्रमा सूचना प्रकाशन गरेमा उहाँ निलम्बनमा पर्नुहुनेछ । समितिले बर्खास्तीका लागि सिफारिस गरेमा न्याय परिषद्को बैठकबाट निर्णय गराई जिल्ला वा उच्च अदालतका न्यायाधीशलाई बर्खास्तीसम्म गर्न सकिने व्यवस्था छ ।रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…