वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिँदैनः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताउनुभयो । मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकारकी कार्यालयहरूमा नेपाली बिस्कुटमात्रै खाने नीति बनाएका छौँ । विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ । वार्षिक साढे ३ खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ । कृषि प्रधान देशले साढे ३ खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ रु त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ ।’

अर्थमन्त्री शर्माले पछिल्लो समय पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले नभइ अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धहरूको प्रभावका कारण मूल्य बढेको बताउनुभयो । मन्त्री शर्माले खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरूको प्रभाव कारणले बढेको बताउनुभयो । उहाँले नेपालमा तोरी आउने युक्रेन र रसियाबाट नै भएकाले कच्चा पदार्थ आयात बन्द भएकाले खानेतेलको मूल्य बढेको बताउनुभयो ।

नेपालको हिमालदेखि तराईसम्म तोरी फल्ने भएकाले तोरीको उत्पादन बढाएर तेलमा समेत आत्मनिर्भर बन्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री शर्माले साढे ३ खर्ब भन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको बताउनुभयो । मन्त्री शर्माले सरकारले स्पञ्ज आइरनमा दिएको छुटले देशमा के परिर्वतन भएको छ भन्ने कुरा छलफलमा सिमित नभइ उद्योगहरुको अनुगमन गरेर हेर्न समितिलाई आग्रह गर्नुभयो ।

उहाँले स्पञ्ज आइरन ल्याएर नेपालमा नै प्लेट बन्ने र उद्योग बिस्तार गर्न सरकारले प्रोत्साहन गर्ने निर्णय के कारणले गलत र देशको हितमा भएन भयो भन्दै प्रश्न गर्नुभयो । मन्त्री शर्माले सरकारले स्पञ्ज आइरनमा दिएको भन्सार छुटले थप १५ देखि २० वटा उद्योग प्लेट बनाउने करोडौं लगानी भएर उद्योग स्थापना भएको बताउनुभयो । उहाँले नेपाल अब फलाम जन्य सामग्रीमा आत्मनिर्भर मात्रै नभएर निकासी गरी व्यापार घाटा कम गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षदेखि निकासी गर्ने उद्योगहरूका लागि ८ प्रतिशत अनुदान दिने व्यवस्था भएकाले उद्योगमैत्री नीति अगाडि ल्याएको दाबी गर्नुभयो । त्यस्तै अर्थमन्त्री शर्माले सरकारले दिनुपर्ने मल किसानले ल्याउँदा सहज रुपमा ल्याउन पाउनुपर्ने बताउनुभयो । कुनै पनि किसानले जोहो गरेर मल ल्याएको छ र भन्सारमा रोकिएको भए तत्काल सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…