व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताउनुभएको छ । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताउनुभएको हो ।

देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिकता उन्मुख बनाउन नेपाल सरकार लागिरहेको स्मरण गराउँदै मन्त्री पौडेलले प्रविधिमैत्री पाठ्यक्रम, शिक्षासँगको तालमेल, दक्ष जनशक्ति उत्पादन र समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । यसका लागि आन्तरिकको साथै बाह्य सहयोगको पनि आवश्यकता रहेको उहाँले बताउनुभयो।

मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पारेको र त्यसको तयारीमा नेपाल चुकेको स्वीकार गर्दै अहिले भने अनलाइन शिक्षणको अभ्यास थालेको बताउनुभयो । भविष्यमा आइपर्न सक्ने त्यस्ता अवस्थालाई मध्यनजर गर्दै अबको शिक्षालाई प्रविधिमैत्री बनाउनतर्फ सरकार लागिरहेको उहाँको भनाइ छ ।

यस्तै, मन्त्री पौडेलले नेपालले आगामी जुलाईदेखि विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । सन् २०३० सम्म कायम रहने यो कार्यक्रममा अहिले भइरहेको शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै मूलधारका विवाद र विपद घटाउन मद्दत गर्ने उहाँले बताउनुभयो । मन्त्री पौडेलले कोभिड–१९ ले नेपालको शिक्षा प्रणाली र नीति, शैक्षिक संरचना र विषयवस्तुलाई समयानुकुल परिवर्तनको महसुस गराउनुपर्ने अवस्थामा ल्याएको बताउनुभयो ।

यसका साथै समानताको नीति, अभिभावक र समुदायसँगको समन्वय, सुशासन, प्रविधिको उपयोग र शिक्षकको विकासको विषयमा पनि परिवर्तनको आवश्यकता रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सूचीकृत गरेको भन्दै ८ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइरहेको पनि जानकारी गराउनुभयो । साथै उहाँले केही समयभित्रै माध्यमिक शिक्षालाई निःशुल्क गर्न सरकारले तयारी गरेको बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…