आतङ्ककारीको सूचिमा चढेको एउटा नाउँ

  चन्द्रप्रकाश बानियाँ

२०५८ साल चैत्र महिनाको अन्तिम साताको कुरा हो । जिल्ला विकासले आवधिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । मुकाम रेडक्रस भवन, म्याग्दीमा म पनि एउटा निम्तारुको हैसियतमा उपस्थित थिएँ । भित्री बरण्डामा उभिरहेको बेला, मेरो छेउमै नमस्कारको विनम्र मुद्रामा उभिन आईपुगेकी थिइन् मेरै छोरीको समवयी एउटी महिला सहभागी ! उसै पनि मेरो स्मरणशक्ति कमजोर हुदै जान थालेको थियो ।

पहिल्यै देखभेट र चिनापर्ची भैसकेका मानिसहरुको अनुहार र नाम बिर्सनु मेरो लागि एकदम स्वाभाविक भैसकेको थियो । त्यसमाथि ती नानीसँग मेरो पुरानो परिचय र देखभेट भएको थिएन भन्ने कुरामा पटक्कै शङका थिएन । बिर्सने बानीले पिरोल्न थालेको हुनाले लाजै नमानिकन परिचय नविकरणको याचना गर्ने आदत नै बनिसकेको थियो । मैले चिनिन है भन्न नपाउँदै परिचयको पहल उताबाटै भैदियो । मनमनै धन्यवाद दिएँ ।

चार पाँच वर्षदेखि स्थानीय पत्रपत्रिकाहरुमा निरन्तर कलम चलाउँदै आएको थिएँ । मतलब, काम लाग्ने कुरा त के लेखिन्थ्यो र समसामयिक घटनामा निजी विचार र राजनीतिक टिप्पणीहरु लेखनका विषय हुन्थे । २/४ महिना यता कलमले बिसाएको थियो । उनले मेरा लेखोटहरु पढ्दी रहिछन् । निरन्तरता टुटेकोमा दुःख व्यक्त गरिन् । लेखिरहने आग्रह गरिन् ।

धवलागिरिमै सामाजिक विषयहरुमा कलम चलाउने लेखन्तेहरु पातलो रहेको गुनासो गरिन् । पाठकहरुले लेख्न प्रोत्साहित गर्दा प्रेरणा मिल्नु स्वभाविक भयो । लेख्ने बानी हुनेहरुका लागि पाठक पाउनु जस्तो खुसीको कुरो अरु हुनै सक्तैन । म फुरुँङ्ग परेँ । धन्यवाद भने । आभार प्रकट गरेँ । त्यो औपचारिकता मात्र थिएन, मनैदेखिको भावना थियो ।

कलम चलाउन अल्छी गरेको भन्ने ठानेर होला धेरै जनाको धेरै कोणबाट प्रतिक्रिया प्राप्त भइरहेको थियो । नढाँटीकन भन्नुपर्दा मान्छे त म पक्का अल्छी नैे हुँ । भोलिको लागि काम साँचेर राख्नु हुँदैन भन्ने रावणमन्त्र मेरो हकमा पटक्कै लागु हुँदैनथ्यो । जति नै जरुरी भए पनि कामकुराहरु सकेसम्म परसार्ने आदत बसिसकेको थियो । सकभर टार्ने केटाकेटीदेखि लागेको बानी हो भनिदिँदा फरक पर्दैनथ्यो ।

मान्छेहरुलाई पत्याउन त गाह्रो पर्ला तर यथार्थ के थियोे भने खाने प्युने कुरालाई समेत सम्भव भएसम्म पर सार्ने गर्थेँ । खान हतारो गर्ने बानी नै थिएन । घर परिवारले कर नगरेसम्म मैलो भैसकेको ड्रेस बदल्ने पनि सुद्धि र रुचि रहँदैनथ्यो । अर्थात दिनदिनै कपडा बदल्न मन लाग्दैनथ्यो । दैनिक जीवनमा मैले जे जे गर्थेँ करबलले मात्रै गर्दथेँ । बाहिरी दवाव महसुस नगरेसम्म सानो होस् वा ठूलो काममा हात हालिदैनथ्यो ।

लेख्ने कुरामा अल्छ्याई गर्नुको कारण त्यति मात्रै हो भन्नु सरासर झुट हुन्थ्यो । खासगरेर त्यतिखेर अल्छीपनाको अतिरिक्त थप केही अरु महत्वपूणर््ा कारणहरु अन्तरनिहीत थिए । असलमा अभिव्यक्ति स्वतन्त्रताको नागरिक हक कुण्ठित गर्ने ‘सङ्कटकाल’ लेखनमा आवरोध गर्ने पहिलो र मूख्य कारण थियो ।

कानुनका किताबमा जे लेखिएको भए पनि व्यवहारामा ब्रह्मले देखेको साँचो कुरा लेख्ने बोल्ने छुट कसैलाई थिएन । झुटो कुरो गर्न मनले पटक्कै मान्दैनथ्यो । समाजमा विद्यमान विकृति, विसंगति र अनाचारको कारणले अङ्कुुरित तितामिठा अनुभूतिहरु निसङ्कोच पोख्न नपाएपछि लेखिरहनुको कुनै अर्थ रहँदैनथ्यो ।

भन्नुजस्तो लेख्नु तत्कालीन समयमा सजिलो थिएन । लेख्ने, सुन्ने, सुनाउने कुराको सन्दर्भमा एउटा कविता गोष्ठीको सम्झना आयो । आयोजना त कसको हो कुन्नी ? यतिखेर सम्झना रहेन ।

गोष्ठी उही रेडक्रस भवनको सभाहलमा आयोजित भएको थियो । गणनाथ पौडेल, धु्रवलाल शर्मा, रामप्रसाद सुवेदी, दामोदर रिजाल, सूर्यप्रकाश बानियाँ र कृष्ण पौडेलहरु जस्ता कवितामा राम्रै कलम चलिसकेका स्थानीय कविहरु सहभागी थिएनन् । उनीहरुको अनुपस्थितिले स्वभावतः अस्वभाविक र अप्ठेरो समयपरिस्थितिको पोल खोल्दथ्यो ।

कवि र कविताका शिर्षकहरु फरक थिए तर कविताका अन्तर्वस्तु भने आश्चर्यजनक रुपमा मिल्दाजुल्दा लाग्थे । कविहरुले एउटै शिर्षकमा रचना वाचन गर्दैछन् अथवा कविता रचनाको निमित्त निश्चित विषय बस्तु दिइएको पो हो कि जस्तो आभास हुन्थ्यो । शिर्षकहरु फरक थिए ।
भाषा, शैली र छन्द फरक हुँदा हुनन् तर कविताको भाव एउटै थियो । सार एउटै थियो । अनुभूति उस्तै थियो । शैली एउटै थियो । कविताले होईन आवाजले स्रष्टा छुट्टिन्थ्यो ।

एउटै शिर्षकमा एउटै मान्छेले डेढदर्जन कविता कोरेको हो कि जस्तो लाग्दथ्यो । सबै कविताको भाव एउटै भएको मात्रै होइन, कैयौं कविताहरुको त शब्द र अर्थ पनि दुरुस्त मिल्दथ्यो । कविको अनुहार र आवाजमा ध्यान नदिएर श्रवण गर्दा एउटै कविता कसैले सुल्टोबाट, कसैले उल्टोबाट, कहिले बीचबाट र कतिबेला अन्तरछन्तरबाट छ्यासमिस पारेर पाठ गरेजस्तो लाग्थ्यो । अर्थात हरेकचोटि मञ्चमा उभिने कविले एउटै कविता उल्टाइपल्टाई वाचन गरेजस्तो लाग्दथ्यो ।

नयाँ अनुहार मञ्चमा उभिँदा श्रोतादिर्घामा बस्नेहरुले नयाँपनको अनुमान र अपेक्षा गर्नै पर्दैनथ्यो । जो जो उठे पनि कुरो एउटै, जजस्ले लेखे पनि कविताको सार एउटै, भाव दुरुस्तै ! अनौठो संयोग थियो त्यो !

कविहरु स्वभावैले भावुक हुन्छन् । संवेदनशील हुन्छन् । आफ्नो वरिपरिको वातावरणबाट प्रभावित हुन्छन् । वातावरणीय प्रभावबाट भावनाहरु निर्मित हुन्छन् । तिनै भावनाहरु कवितामा अभिव्यक्त हुन्छन् । कविहरुले कवितामा समाज लेख्छन् । देश लेख्छन् । वन लेख्छन् । पर्वत लेख्छन् । खोला नाला झरना लेख्छन् । टोल छिमेक लेख्छन्, गल्ली गल्छेँडाहरु पनि लेख्छन् । पानी पँधेरो लेख्छन् । रीति लेख्छन् विधि लेख्छन्, धर्म लेख्छन् । संस्कार संस्कृति लेख्छन् । मान्छे लेख्छन् । मान्छेका मनहरु पनि लेख्छन् । मान्छेका मर्म र पीडा लेख्छन् । जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि भनेजस्तो कविहरुले सबैकुरा देख्छन्, देखेको कुरा लेख्छन् । तर त्यो कवितागोष्ठीका कविहरुले सबै कुरा लेखेनन् र बरु सबैले एउटै कुरा लेखेका थिए ।

नेपाल गाउँ नै गाउँको देश हो । गाउँको आवाजमा सिंगो देश बोल्छ । त्यो दिन पाठ गरिएका कवितामा गाउँ बोलेन । कविहरुले गाउँ लेखेनन् । वनपाखा, झरना र हिँउचुली लेखेनन् । गाउँका दीन, दुःखी र गरिब किसान लेखेनन् । गाउँले समाज लेखेनन् । कवितामा गाउँको ढिँडो बोलेन । गुन्द्रुक कुँदिएन । गाउँको अप्ठेरो गौेंडो बोलेन । गाउँको मर्का बोलेन । बरु कविताहरुमा रेडियो बोल्थ्यो । कवितामा टिभी बोल्थ्यो । सरकारी अखवारहरु बोल्थे । कवितामा बरु शहर बोल्थ्यो । बजार बोल्थ्यो । सरकारी कार्यालयको अधिकारी बोल्थ्यो । कवितामा सरकार स्वयं बोल्थ्यो ।

देशको वास्तविकता भन्दा टीभी, रेडियो र सरकारी अखवारहरुका प्रायोजित समाचारहरुबाट प्रभावित कवि र कविताको जमघट थियो त्यो । आँखा निकालेर कोठरीमा बन्द गरिएको माकुरोले दिनरात कमलकोटी मात्रै देख्छ रे । पुराणमा लेखिएको कथा हो यो । यथार्थमा मान्छेका लागि संसार अन्धाले हात्ति छामेको कथा जस्तै हुँदो रहेछ । कविता नितान्त नीजी अनुभवको अभिव्यक्ति हो । निश्चय कलमहरु प्रायोजित थिएनन् । किनिएर कसैको प्रशस्तीमा रगडिन विवश अवश्य थिएनन्  तै पनि तिनको लेखनमा स्वभाविकता थिएन ।

कविता लेख्न सुन्नमा उति धेरै रुचि रहँदैनथ्यो । कष्टसाध्य अनुभव थियो, मेरो लागि त्यो क्षण । सरकारी भजन किर्तन नभए पनि स्वेच्छाले वा करबलले होस् दुरुस्त मिलाईएको सरकारी ‘स्यालभाका’ अभिव्यक्त थियो कवितामा । राणा जर्नेलको नोकरले मालिक रिझाउन बाङ्गो रुखलाई सोझै देखिदिए जस्तो । कविहरुले मुलुकमा व्याप्त हिंसा, प्रतिहिंसा र अशान्तिको भागिदार सरकारलाई ठान्दै ठानेनन् । विद्राहीहरुले हतियार नउठाइदिएका भए मुलुक स्वर्ग हुन्थ्यो भन्ने बुझाईको भावाव्यक्ति सबै कवितामा थियो । वास्तविकताको पाटो त्यो मात्रै हो भनेर सबैको आत्माले भनेकै होला कि .कारण अरु नै केही थियो कुन्नी ?

तत्कालीन समय परिस्थितिबाट कविहरुमात्रै होइन, सबै प्रभावित थिए । मान्छे प्रभावित थिए । समाज प्रभावित थियो । कलम प्रभावित थियो । आफ्नो पनि कलम बिसाउनुको अर्को कारण थियो– जीवन प्रतिको ‘अपार मोह’ । अर्थात ‘बाँच्ने उत्कट रहर’ । प्रसिद्ध स्नायु विशेषज्ञ डा. देवकोटाको ‘यथासम्भव तनावमुक्त रहने’ सल्लाह अनुसार व्यक्तिगत उन्नति प्रगतिका तमाम महत्वाकांक्षा तिलाञ्जली दिएर र अनेक सम्भावनाहरुलाई एकातिर पन्छाएर नितान्त निष्क्रिय जीन्दगी बिताउन थालेको पनि पुरै आधा दशक बितिसकेको थियो । साथीहरुका बीचमा भरिसक्य बढी बाँच्ने तुच्छ अभिलाषा निर्लज्जतापूर्वक अभिव्यक्त गरेर नेकपा मालेको सक्रिय पार्टीजीवनबाट फुर्सद लिएको थिएँ । सक्रिय राजनीतिबाट सन्यास लिएको थिएँ ।

संसारको सबभन्दा अल्छी मान्छे भनाउन राजी थिएँ । सम्भावित सुख सुविधाका ईच्छा आकांक्षा पुरै त्यागेर ‘सीमान्त नेपाली जीवन’ बिताउने निर्णय मेरो खुसी राजीको मञ्जुरी थियो । कमसेकम तत्काल मरिहाल्ने मनसुबा पटक्कै थिएन । अल्पायुमै मरेर प्राप्त हुने ‘शहादतको गरीमा गौरव’ प्रति पनि मोह थिएन । सयौं कष्ट, हजारौं दुःख र लाखौंं पीडा भोग्नु खप्नु परे पनि अझै केही थप बर्षहरु बाँचेर हेर्ने देख्ने रहर मरेको थिएन । पानी मरुवा नामर्दको जीन्दगी नै किन नहोस् ज्युने अदम्य ईच्छा थियो । अनुद्योगी, वेकम्बा, पृथ्वीको अवाञ्छित भार भनाएरै भएपनि अलि समय बाँच्न मन लागेको थियो । त्यसैले पनि लेख्न छोडिएको थियो ।

सुरक्षा समिति म्याग्दीद्वारा तयार गरिएको रेकर्डमा आंतङ्ककारीहरुको रुपमा ‘सूचिकृत’ गरिएको एउटा नाँउ मेरो पनि थियो भन्ने कुराको जानकारी मेरा सबै हितैषी सुभेच्छुक मित्रहरुलाई नहुन सक्थ्यो । माओवादीका कृयाकलापहरुले आतङ्क सिर्जना गर्न सक्छन् तर माओवाद आफैमा अपराध किमार्थ हुन सक्तैन भन्ने मान्यता राखिन्थ्यो । मजस्ता नागरिकहरु कुनै दिन माओवादी त हुन सक्छन्, तर आतंककारी किमार्थ हुदैनन् भनिन्थ्यो । त्यसैले सुरक्षासंपयन्त्रको निगरानीमा परिन्थ्यो । डर लागेर हो कि काम देखाउनका लागि हो मेरो कलमले कोरेका अक्षरमा आतङकको भ्रुण रहन्छ भन्ने मान्यता अधिकारीहरुले राख्थे । त्यसैले लेख्न डराउनु पथ्र्यो ।

माओवादी पार्टीलाई सहयोग गर्नका निमित्त धनसञ्चय थिएन । खुवाउनका लागि अतिरिक्त अन्न सञ्चित थिएन र आफै बन्दुक समातेर जङ्गल पस्ने हिम्मत पनि थिएन । एउटा जाबो १० रुपैया जाने कलम थन्काएपछि टाउको वरिपरि हरदम घुम्ने सम्भावित मृत्युघण्ट पन्छेला कि भन्ने कल्पना गर्नुलाई अपराध ठानिएको थिएन । वास्तवमा त्यो चिन्तन हददर्जाको कायरता थियो र पनि रत्तिभर सङकोच नमानेर लेख्ने काम स्थगित गरिएकै थियो । लेख्ने मन त थियो, बाँच्दो रहर पनि उत्तिकै प्रबल थियो । त्यसैले ज्यान माया मारेर लेख्ने हिम्मत जुटेको थिएन । बस्, कुरोको वास्तविक चुरो त्यत्ति थियो । मालिका प्रेस साप्ताहिकबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार