वि.सं. २०६३ सालको असारे पन्ध्र । काठमाडौं फर्किएको हप्तादिन बितिसके पनि म्याग्दी आउजाउको थकाइ मरिसकेको थिएन । त्यतिनै बेला म्याग्दीका नयाँ सिडियो साहेब अझै गलेश्वर महादेवको दर्शन गर्न जान सकेका छैनन् रे भन्ने समाचार सुनिएथ्यो ।
समाचारले दश वर्षे युद्धको त्रासद स्मृति ताजा गराउँथ्यो । औपचारिक रुपमा युद्ध समाप्तिको घोषणा नभैसकेका भए पनि बैशाख ११ मा राजा र आन्दोलनकारीहरुबिच सम्झौता भैसकेको थियो ।
राजसंस्थाको भविष्यको छिनोफानो नभए पनि राजशाहीले घुँडा टेकिसकेको थियो । माओवादी आन्दोलनले विश्राम लिने कुरा दिल्ली सम्झौताले निश्चित गरिसकेको थियो । त्यसैले जिल्लाको प्रशासनिक प्रमुख ३ किलोमिटर उताको गलेश्वर जान डराउनुपर्ने अवस्था थिएन जस्तो लागेको थियो । तैपनि सार्वजनिक समाचारले भर्खरै आफूले म्याग्दीमा देखेभोगेका परिस्थितिको स्मरण गराएथ्यो ।
कुलपूजामा सामेल हुन म्याग्दी पुगिएको थियो । हरेक तीन वर्षमा गरिने बानियाँहरुको कुलपूजा दश बर्षमा त्यसपाली निर्धक्कसँग सम्पन्न भएको थियो । पञ्चायतकालदेखि सधैं सत्ताको विपक्षम उभिँदै आएको मेरो गाउँ भिरमुनी माओवादी द्वन्दकालमा प्रशासनको आँखीदेखि हुनु स्वभाविक थियो । सेना, प्रहरी, प्रशासनका दृष्टिमा मेरो गाउँ आतंङ्कवादीको किल्ला मानिन्थ्योे ।
सबै गाउँलेहरु विद्रोही मानिन्थे । आतंङ्ककारीका मतियार मानिन्थे । हली, गोठाला, मजदुर, किसान, शिक्षक, विद्यार्थी लगायत सबै सर्वसाधारणले सुरक्षा संयन्त्रको सानूठूलो कहर व्यहोरेका थिए । कूलपूजनको अवसरमा जंङ्गलको बिचमा ठूलो संख्यामा जम्मा भएर पारिवारिक भोज गर्ने हिम्मत गर्न ठूलै जोखिम उठाउनु पर्ने हुन्थ्यो । त्यसैले अघिल्लो वर्ष गर्नुपर्ने नियमित कुलपूजा गरिएको थिएन । हिम्मत भएन । जानीजानी जङ्गली न्यायको शिकार हुनुपर्ने स्थिति निम्त्याउने मूर्खता किन गर्ने जस्तो लागेकोले सानू पूजा दिएर भाखा सारिएको थियो ।
ढाँट्नुको के प्रंयोजन छ र ? वास्तवमा सहरीया बुद्धिजीवीहरुले कल्पना गर्ने गरेजस्तो माओवादी आतंङक हाम्रो गाउँठाउँतिर पटक्क थिएन । गाउँमा गैरसामाजिक क्रियाकलापहरु निमिट्यान्न भएका थिए । बेलामौकामा सरकारी उपद्रो र आतंक हुनेगर्थे र मात्रै हो, नत्र गाउँमा साँच्चै अमनचयन र शान्ति थियो । तर पनि, मान्छेहरुमा अव्यक्त त्रास व्याप्त थियो । रातमा सैनिक आक्रमण हुने हो कि, अथवा हमला भैदिने हो कि भन्ने डर सधैं रहन्थ्यो ।
बेनी आक्रमणको भोलिपल्ट सेनाले गरेको बर्बर हवाई कार्यवाहीमा शहादत हुने सातजना परियार बन्धुहरु राखु र पुलाका थिए । आन्दोलन रोकिएपछिको त्यो समयमा गाउँमा रहुन्ज्याल हरेक घरआँगन, बाटोडोरेटो र चौरचौतारीहरु जताततै आफन्तजनहरुको ‘सेना कहिले ब्यारेक फर्कन्छ’ भन्ने प्रश्नमा निरुत्तर हुनुपथ्र्यो । यसै हुन्छ भनेर भविष्यवाणी गर्न सकिदैनथ्यो ।
एउटा कुरा भने स्पष्ट थियो । जनताको जिउधनको सुरक्षाको निम्ति तैेनाथ सुरक्षाफौज नेपाली समाजमा अलोकप्रिय भैसकेको थियो । सेनाको जागिरे हुनुपर्दा भोग्नुपर्ने जनताको घृणाभाव खप्न नसकेर आधा दर्जनभन्दा बढी सेनापुलिस सेवामा संलग्न मेरा गाउँले भाइहरुले जागिर छोडिसकेका थिए ।
युद्धविराम घोषण भैसकेको थियो । माओवादीको शीर्ष नेतृत्व फेरि जंगल पस्नु नपर्ने विश्वासका साथ सार्वजनिक भैसकेको थियो । शाही सेनाले आफू सधैं जनता र राष्ट्रको मातहतमा रहने प्रतिवद्धता सार्वजनिक गरिसकेको थियो र पनि सेनाप्रतिको अविश्वास र अरुचि मेरा गाउँलेहरुको मनमष्तिष्कबाट हटिसकेको थिएन ।
संयोग पनि विचित्रको हुन्छ । त्यसवर्ष मेरो एकजना गाउँले भाईले कमिसनमा छिर्ने अवसर पाएको थियो । सेकेन्ड लेफ्टिनेन्ट भएको भाइलाई गाउँलेहरुले भने मूर्ख ठहराएका थिए । सेना ब्यारेक फर्किदिए हुन्थ्यो र उनीहरुको अनुहार सार्वजनिक रुपमा फेरि कहिल्यै देख्नु नपरे हुन्थ्यो भन्ने भाव गाउँलेहरुको अनुहारमा स्पष्ट पढ्न सकिन्थ्यो ।
काठमाडौंतिर लाग्ने सन्दर्भमा बेनी झर्नासाथ दलबल सहित बजारगस्तीमा निस्केका सिडिओ र डिएस्पीसँग मध्यबजारमा जम्काभेट भएथ्यो । सिडिओ सा’बबाट भोलिपल्ट कार्यकक्षमा भेट्ने निम्तो पाएको कुरा आजपर्यन्त मेरो स्मरणमा ताजै छ तर भेटिहाल्नुपर्ने कुनै काम थिएन ।
त्यसमाथि तारबारले घेरिएका जिल्लास्तरीय कार्यालयहरुका दृश्यले एकखाले वितृष्णा र अरुचिको अनुभूति गराउँथ्यो । जिल्लास्तरीय सबै कार्यालयहरु नारायणहिटी राजदरबारकोभन्दा अग्लो तारबारले घेरिएका देखिन्थे । जनआन्दोलन स्थगित भैसकेको थियो । शान्ति स्थापनाको दायित्वबाट सैनिक शक्तिलाई मुक्त गरिसकिएको थियो । तैपनि मेरो जिल्लाका जनसरोकारका अड्डा, अदालतहरु तारबारको अभेद्य किल्लाभित्र घेरिएका थिए । निरङकुश राजशाहीबाट जनता मूक्त भैेसकेका थिए र पनि कार्यालयहरु जेलभित्रै रहेजस्तो लागेको थियो ।
शान्ति सम्झौता हुनुपूर्व पनि तारबारहरुको कुन औचित्य थियो र ? तारबारहरुले घेरिदैमा नत कार्यालयहरु सुरक्षित रहेका थिए नत सिडिओहरु नै जोगिएका थिए । माओवादी विद्रोहीहरुले आँटेको दिन सिडिओ र डिएस्पीहरुलाई उनीहरुकै कार्यालयबाट पाता फर्काएर लगेको देखिएकै थियो ।
सारा सरकारी भवनहरु भष्मिभूत पारिएकै थिए । तारबारले घेरिएर सुरक्षित महसुुस गर्नु “के जातिको न्यानो” भनेजस्तो मात्रैे हो भन्ने कुरा दुई बर्ष अगाडिको बेनी आक्रमणको घटनाले प्रमाणित गरिदिइसकेको थियोे । उही म्याद नाघेको औषधिको प्रयोग गर्ने मूर्खतापूर्ण अभ्यासको निरन्तरता देख्दा सुरक्षा दस्ताको निरीह मानसिकताप्रति अलिकता दया र अलिकता सहानुभूति प्रकट गर्न मन लागेको थियो । मनमा बिचरा भन्ने भाव उत्पन्न भएको थियो ।
हिजो जे भयो भयो । अब त प्रशासन र अदालत जस्ता जनसरोकारका कार्यालयहरुमा जनता जनार्दनहरु निर्धक्क आउजाउ गर्ने व्यवस्था हुनुपथ्र्यो । हेर्दै त्रासद लाग्ने वातावरण देखिनु दुर्भाग्यको विषय थियो । राजनीतिक परिस्थिति बदलिसक्दा पनि प्रशासनको मानसिकतामा परिवर्तन आईसकेजस्तो लाग्दैनथ्यो । तारबारको घेराउले जनतामा त्रास र आतंङ्कको मनोविज्ञान भन्दा अरु गतिलो सन्देश के सम्प्रेषण गथ्र्यो र ? तारबारले ज्यान जोगिँदैन भन्ने हरिज्ञान अधिकारीहरुमा भैसकेको हुनुपथ्र्यो । जनता र प्रशासनबिच भावनात्मक दुरी बढाउने कारण तारबार बनेको थियो । जिल्ला कार्यालयहरुको हविगत देख्दा तीन बर्ष अगाडिसम्म मेरो कलमको टुप्पोमासमेत बारुदको गन्ध सुघ्ने प्रशासनको रुग्ण र कायर मानसिकतामा कुनै परिवर्तन आएको रहेनछ भन्ने अनुभूति हुन्थ्यो ।
भर्खरै माओवादी प्रभावित मानिएको गाउँबाट सरकार नियन्त्रित बजारमा झरेको मेरो अन्तर्मनले ती दुई ठाउँको वातावरणबिच तुलना गर्न खोज्दै थियो । शहरबजारमा अ।शंङ्का, त्रास र आतङ्क यथावत रहँदा गाउँघरतिर भने उन्मूक्ति र स्वतन्त्रताको वातावरण व्याप्त भैसकेको थियो । हिजोसम्म हतियार बोकेर गाउँ, कुना, कन्दरा र वनजंङगल चहार्ने माओवादी कार्यकर्ताहरु निर्धक्कसँग निहत्थै शहरबजारमा गस्ती गर्न थालिसकेका थिए तर सदरमुकामस्थित सरकारी कार्यलयहरु तारबारमूक्त हुन सकेका थिएनन् । स्वयं आफैप्रतिको अविश्वासले मान्छेहरुलाई सबभन्दा बढी असुरक्षित महसुस गर्नु पर्ने अवस्थामा पु¥याउँदो रहेछ, सायद !
जिल्लातिर नयाँ पुराना प्रशासकहरुको आउने जाने सिलसिला निरन्तर चलिरहन्छ । अस्ती भर्खर मैले भेटेका सिडियोलाई नयाँ अधिकारीले प्रतिस्थापन गरिसकेका थिएछन् । नयाँ अधिकारीका कारणले जिल्लाबासी इष्टमित्र आफन्तहरुले अत्तो, गाह्रो, अप्ठेरो भोग्न नपरे हुन्थ्यो । त्यस्तै हो ! सधै असल हाकिमहरु फेला पर्दैनन् । कहिले सज्ज्नको फेला परिन्छ, कहिले दुर्जनको । “काला गए गोरा आउँछन्” भन्ने लोकोक्ति छ । सधैं खराब हाकिमहरु मात्रै सुमर्नु पर्ने होइन क्या रे ! असलै भए पनि सधैं जिल्लामा राखिरहन सकिने होइन । राम्रो कुरा केहो भने दुर्जनसँग पनि सिङ्गो जिन्दगी बिताउनु पर्ने हुँदैन । ढिलो चाँडो सबैलाई बिदा गर्नै पर्छ । गर्न पाईन्छ ।
म्याग्दी जिल्ला अन्तर्गतका तीर्थस्थलहरुमध्ये सबैभन्दा ठूलो धार्मिक मेलाजात्रा लाग्ने ठाउँ ‘गलेश्वर’ हो । गलेश्वर महादेवको प्रसिद्धिले जिल्लाको सीमारेखा धेरै अघि नैे छिचोलिसकेको हो । अघिल्लो वर्ष राजाबाट गलेश्वर महादेवको दर्शन भ्रमण भएको थियो । धार्मिक धामको प्रसिद्धि र आकर्षणमा त्यसले पनि थप सहयोग पु¥याएको थियो । दर्शनार्थी श्रद्धालु भक्तजनहरुको आवागमन दिनानुदिन बढ्दो थियो । राजालेसमेत भाकल मनितो गरेको देवस्थलमा एकपटक आफू पनि पुग्ने मनोकांक्षा सबै जनसाधारणमा रहनु स्वाभाविकै थियोे ।
सिडिओसाबलाई गलेश्वर महादेवको दर्शन भ्रमण गर्ने अवसर नमिलेको घटना एउटा रोचक समाचार नै थियो भन्नुपर्छ । कहिल्यै गलेश्वर नपुगेको मानिसका लागि त्यो समाचार समाचारजस्तो नलागे पनि बेनी र गलेरश्वरको भूगोलसँग परिचित हुनेहरुका लागि भने पत्याइनसक्नुको समाचार थियो । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार र गलेश्वर अलग ठाउँहरु हुँदै होइनन् । आधा घण्टामै बेनी–गलेश्वर पैदल ओहोर दोहोर गर्न भ्याईन्छ । बेनी गलेश्वर एउटै बजारका दुई टोलहरु हुन भन्दा फरक पर्दैन । त्यसैले सदरमुकाम टेकेको एकडेढ महिना बितिसक्दा पनि चर्चित देवधाममा नवागन्तुक सिडिओ सा’ब पुग्न नसक्नु वास्तवमै अनौठो घटना हो भन्नैपथ्र्यो ।
हुन त प्रमुख जिल्ला अधिकारीको लागि तिर्थाटन प्राथमिकताको विषय हुन सक्तैन । अर्थात मनले चाहेर पनि कामधन्दाले फूर्सद नमिल्न सक्छ । फेरि हाम्रा राजालाई जस्तो सिडियो हुनेहरुका लागि हिन्दु धर्मावलम्बी हुनैपर्ने वाध्यात्मक व्यवस्था संविधानले गरिदिएको थिएन । तैपनि जुनसुकै धर्मालम्बी भए पनि राजालेसमेत दर्शन पूजा गरेको देवधाममा बेनीसम्म पुगिसकेको जो कसैका मनमा एकपटक पुग्ने हुटहुटी हुन्छजस्तो लाग्छ । त्यसमाथि तत्कालीन विषम परिस्थितिमा सबैको अन्तिम भरोसा ‘भगवान शरणम्’ हुने नै भो । सिडिओ सा’ब मात्रै अपवाद बन्न सक्ने कुरा हुदैनथ्यो । त्यसैले ढुक्कसँग जो कसैले पनि ठोकुवा गर्न सक्ने कुरा के थियो भने नयाँ सिडिओ सा’ब गलेश्वरधाम पुग्न अवश्य लालयित थिए होलान् तर परिस्थिति अुनकुल थिएन होला ।
नयाँ सिडिओ सा’बले गलेश्वर बाबाको दर्शन गर्ने अवसर नपाउनुको वास्तविक कारण न धार्मिक थियो न साम्प्रदायिक ! कार्यव्यस्तता त झन् भन्नै मिल्दैनथ्यो । राज्यको नियन्त्रण जिल्ला सदरमुकामहरुको चौघेरोमा सिमटिएको बेला धर्मकर्म गर्ने फुर्सदसमेत नहुने गरी कार्यव्यस्तता हुने कुरै थिएन । नाम थरका दृष्टिले अनुमान गर्दा सिडिओ सा’ब हिन्दु धर्मालम्बी नै हुनुपर्छ भन्न सकिन्थ्यो । त्यसैले जाने मन भएर पनि ठिङ्गुरिएर बस्न विवश भएको हुनुपथ्र्यो । सुनिएको कुरा के थियोे भने धर्मकर्म, आस्था, विश्वास वा कार्यव्यस्तताले होइन सुरक्षा व्यवस्थाका कारणले गलेश्वर पुग्न दिएको थिएन ।
सिङ्गो जिल्लाकै शान्ति सुरक्षाको जिम्मेवारी लिनुपर्ने अधिकारी स्वयं आफैले असुरक्षित महसुस गरेर आफ्नो दर्शन पूजामा अनुपस्थित भएको कुराले देवाधिदेव महादेवको चित्त पनि दुःखाएको थियो होला । नराम्रो लागेको थियो होला । रिसाहा देवताको रुपमा चिनिने महादेवको क्रोधवस तेश्रो नेत्र खुल्न गयो भने लोकमा अनिष्ट हुन सक्ला र सिडिअो सा’ब को पनि कामदेवको जस्तो हविगत होला भनेर त पत्याउन सकिँदैनथ्यो । तैपनि सार्वजनिक ठाउँथलोहरुमा सर्वसाधारण मात्रै होइन स्वयं सुरक्षा अधिकारीहरु समेतले असुरक्षाको अनुभूति गर्नुपर्ने कारणको निदान र निराकरण भैसकेको थिएन भन्नुपर्ने हुन्थ्यो ।
एक दशकभर मुलुकले खोजेको कुरा शान्ति र प्रगति थियो तर राज्यले सुरक्षा दिने प्रयत्न गरेका थियो । पछिल्लो घटनाले जति राम्रो प्रबन्ध गर्न खोजे पनि सुरक्षाको प्रत्याभूति गर्न राज्य असफल भएको थियो भन्ने प्रमाणित हुन्थ्यो । कुरा सानो भए पनि मुलुकको जिम्मेबार तहले त्यसको मर्म बुझेन भने लोकतन्त्र बहाली होस् कि निरंकुशतन्त्र, परिस्थितिमा तात्विक अन्तर आउन सक्ने होइन भन्न कुनै ज्योतिषिले धुलौटो हेरकोर गर्नु पर्दैनथ्यो । कमसेकम सिडिओ सा’बहरुले निर्धक्कसँग गलेश्वर महादेवको दर्शनयात्रा गर्न सक्ने दिनहरु चाँडै फर्काइदिए हुन्थ्यो भन्ने भाव समाजमा हुने नै भयो । मालिका प्रेस साप्ताहिकबाट