प्रजातन्त्र स्मृति दिवस !

  चन्द्रप्रकाश बानियाँ

ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्व जबर्जस्ती बनाउन पाइदैन’ । ….आदि इत्यादि !!

उनको गुनासो लामै थियो । ठूलै थियो । उनी वाचाल छन् । धाराप्रवाह बोल्न आउँछ । बोल्ने ढङ्ग छ । कुरोले हो कि भन्ने बनाउँछन् । तर उनको सोच खोटरहित छ भन्न गाह्रो पर्दो रहेछ । मान्छेहरुमा अरुले पनि आफूले जस्तै सोचुन भन्ने आकांक्षा राख्छन् तर आफूले पनि विषयलाई अरुको आँखाले हेर्नुपर्छ भन्ने सोच्दैन । उनको थनथन सुनेपछि मलाई पुरानो एउटा सम्झना आयो ।

कुरो २०५८ सालतिरको हो । तिनताका बेनीबजारमा बसिन्थ्यो । दिन, बार, गतेमिति र वर्षहरु सधैझै घुमिरहन्छन् । देशको राजनीति जमेको जस्तो अवस्था थियो । कि माओवादी सक्रिय थियो कि राजसंस्था उत्ताउलिएको थियो । बाँकी सबै निष्क्रिय थिए, गुपचुप थिए । सुतुमुर्गलेझै मुन्टो लुकाएर लुकेका थिए । कुन दिन कुनचाहिँ पक्षकोे उत्साह मृत्युमुखमा पुगेको कमिलाको प्वाङ बन्ने हो भन्ने कुराको निधो थिएन । दिनबारले त्यो कुरा बुझ्ने क्षमता राख्दैनथे । उनीहरु आफ्नो गतिमा एकोहोरो हिँदेका हिड्यै थिए । स्वभावतः घुमिफिरी फागुन सात गते टुप्लुप्किएछ । पत्तो नै पाइएन ।

पंचायतकालमा हरेक दिवसहरु धुमधामसँग मनाइन्थे । आजकाल दिवस मनाईरहने उत्साह मानिसहरुमा देखिदैन । प्रजातन्त्र दिवस होस् कि शहीद दिवस, । पंचायत कालमा जस्तो जुलुस, नारा, बाजागाजा, नृत्य, झाँकी केही पनि हुन छोडिसकेको थियो । शिक्षक, कर्मचारी र पदमा रहेका राजनीतिक कार्यकर्ताहरुलाई मात्रै होइन, प्रजातन्त्र दिवस मनाउने औपचारिक रहर सबैलाई लाग्ने जमाना थियो । मनमा जाँगर उत्साह होस् कि नहोस् जुलुसमा सामेल हुनै पथ्र्यो । वाध्यतावस एकदिन दिवसको नाममा खर्चनु अनिवार्य कर्तव्य मानिन्थ्यो ।

बेनीको बसाई, स्वभावतः त्यो वर्ष जिल्लास्तरमा मनाइने प्रजातन्त्र दिवसको निम्तो आउने नै भयो । सधैं भैंm औपचारिकताका लागि मात्र भए पनि त्यस बर्ष पनि देशैभर प्रजातन्त्र दिवस मनाईने योजना बनाइए होलान् । म्याग्दी अपवाद बन्ने कुरै भएन । सदरमुकाम बेनीजारमा “सरकारी प्रजातन्त्र दिवस आयोजक समिति” बनाइएको रहेछ । त्यही समितिले कार्यक्रमको पेशकीमै औपचरिक जानकारी गराएको थियो । फागुन ६ गतेको साँझमा फोन मार्फत स्थानीय विकास अधिकारीले व्यक्तिगत रुपमा समेत निमन्त्रणाको नविकरण गरेकै थिए । डबल निम्ता पाएर पनि समारोहस्थलतिर मेरा गोडाहरु भने चलेनन् । सभामा उपस्थित भएर प्रजातन्त्रका फोस्रा गन्थन सुन्नु भन्दा घरमै बसेर बद्री पगेनीको ‘राम्रै हुन्छ भन्थे जोतिषिले……’ भन्ने अडियो क्यासेट सुनेर दिन बिताउनु राम्रो होला जस्तो लाग्गेको थियो ।

पञ्चायत कालमा बर्ष नबिराईकन प्रजातन्त्र दिवस मनाउने गरिन्थ्यो । धुमधामसँग मनाइन्थ्यो । २०४६ साल पछाडि भन्दा त्यो बेलाका समारोहहरु भव्य हुने गर्थे । जे जसरी होस् कार्यक्रमहरु भव्य र आकर्षक बनाईन्थ्यो । आफ्नो जीन्दगीको महत्वपूर्ण उर्जावान आयु पञ्चायतकालमै बितेको हो । चाडपर्व, रामरमिता, मेला दिवस, उत्सव समारोहहरुमा रमाउन सकिने समय तन्नेरीवयमै हो । पञ्चायतसँग सँगै मेरो उमेरको रमाईलो गर्ने कालखण्ड पनि ढलिसकेको थियो ।

उसो त पञ्चायती कालखण्डमा पनि त्यस्ता औपचारिक सभा समारोहमा हृदयदेखि नै उत्साह उमङ्गकसाथ सामेल हुन सकिएको एउटै उदाहरणको सम्झना छैन मसँग । ‘पाको’ को अगाडि ‘बुढो’ समेत थपिएको विशेषण पाउने दिन आईसकेका थिए । उसै पनि रमाईलो अपच हुने उमेर, जाँगर मरिसकेका दिन, त्यसमाथि व्यक्तिगत स्वतन्त्रता खोसिएको तत्कालीन परिस्थितिमा प्रजातन्त्र दिवसले पञ्चायत कालको नमिठो झझल्को दिलाएको थियो । मनलाई सम्झाउन हजार प्रयत्न गर्दा पनि सफल हुनै सकिन । अटेरी मनलाई लौरो लगाएर जंगी आदेश दिनै पर्ने आवश्यकता महसुस भएन । त्यसैले त्यस बर्षको प्रजातन्त्र दिवसमा सामेल भईएनथ्यो ।

उत्सव मनाउने जाँगर चलोस् पो कसरी ? २०४६ सालको राजनैतिक परिवर्तनलाई बहुदलीय प्रजातन्त्रको पुनस्थापना भनियो । २०४७ सालको संविधानले ‘सार्वभौमसत्ता जनतामा नीहित ग¥यो’ भनिएको थियो । ‘व्यक्तिगत स्वतन्त्रता र कानुनको सर्वोच्चता’ को प्रत्याभूति भयो भनिएको थियो । तर सरकारले आतंककारी तथा विध्वंशात्कम कार्य नियन्त्रण ऐन जारी गरेर शाही सेना परिचालन गरेपछि संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रता पूर्णरुपमा निलम्बित भैसकेको थियो । त्यो विज्याई काँग्रेस र एमालेको मिलेमतोमा भएको थियो । त्यसमाथि १८ असोजको शाही घोषणाले संविधान नैे निलम्बित गरिदिएको थियो । संविधाननै नरहेपछि न रहे बाँस न बजे बाँसुरी भनेजस्तो परिस्थिति बनेको थियो ।
देशको मूल कानुन मुल्तबीमा परेपछि कानुनको सर्वोच्चता भडखालामा परिगयो । नागरिकको स्वतन्त्रता र कानुनको सँर्वोच्चता दुबै निलम्बित भैसकेपछि प्रजातन्त्र नामको चरी त ‘बिचरी’ हुने भैहाल्यो । प्रजातन्त्र नै नरहेपछि प्रजातन्त्र दिवस मनाउनुको के अर्थ थियो र ?

त्यो त पञ्चायतकालको नौटङ्ीको पुनरावृत्ति मात्रै त थियो ! हुँदै नभएको वस्तु छ भनेर भ्रम छर्नुको के अर्थ थियो र ? होइन छैन भन्ने जानीजानी कुन उत्साहले दिवसमा सामेल हुनु ? २०४६ सालको परिवर्तनलाई २०४७ साले संविधानले प्रत्याभूत गरेको छ भन्ने विश्वास ज्ञानेन्द्र शाहको हस्तक्षेपले समाप्त पारिदिएको थियो । किताबमा लेखिनु सबैकुरा होइन रहेछ । खोदा पहाड, निकला चुहा, भनेजस्तो नागरिकको हक अधिकार संरक्षण गर्ने दायित्व बोकेको संविधान आफ्नै सुरक्षा पनि गर्न नसक्ने पिलन्धरे ठहरेको थियो । त्यसैले फागुन ७ मा प्रजातन्त्र दिवस मनाउनुको औचित्य कसरी सावित गर्न सकिन्थ्यो र ? बरु प्रजातन्त्र दिवसको सट्टा ‘प्रजातन्त्र स्मृति दिवस’ को आयोजना भैदिएको भए खुसीखुसी सामेल सहभागी हुन सकिन्थ्यो होला । !

२०५८ साले प्रजातन्त्र दिवसको दिन मेरो अवस्था महाभारतयुद्धको साइत गरेका दुर्योधनको जस्तो भएको थियो । महाभारत युद्धको तैयारी जोडतोेडले चलिरहेको थियो । देशदेशावरबाट अनगिन्ति राजा रजौटाहरु कुरुक्षेत्रमा उपस्थित भैसकेका थिए । पक्षविपक्षमा पंक्तिबद्ध भैसकेका थिए । कौरवनरेश दुर्योधनले युद्ध मैदानतर्फ लाग्नु पूर्व आफ्ना सबै इष्टमित्र, अभिभावक, हितैषी, गुरुहरुसँग भेटेर शुभकामना र आशिर्वाद थापे । दिव्याङ्ग लोग्नेको सिको गरेर आजन्म संसार नहेर्ने प्रण गरेकि राजमाता गान्धारीसँग पनि महाराज दुर्योधनले आशिर्वाद थाप्न गए । राजमाताले दुर्योधनलाई चीरिञ्जीवि हुने आशिर्वाद दिइन् ।

मातासँग उनले युद्धमा विजयश्री प्राप्त गर्ने आशिर्वादको लागि आग्रहपूर्वक अनुरोध गरे । गान्धारीले पटक्क मानिनन् । ‘जहाँ सत्य हुन्छ, त्याहाँ वासुदेव श्रीकृष्ण हुन्छन् । जहाँ श्रीकृष्ण हुन्छन, त्यहाँ विजयश्री हुन्छ । अर्थात अन्तिम विजय सत्यको हुन्छ । सत्य पाण्डवको पक्षमा छ । यो युद्धमा कौरवपक्षको हार हुनु निश्चित भएको हुनाले हुनैनसक्ने विजयको आशिर्वाद दिनुको अर्थ छैन’ भनेर स्पष्ट भनिदिइन् । आमाको कठोर वचन सुनेरका दुर्योधन अध्याँरो अनुहार र दुःखी मन लिएर कुरुक्षत्रतर्फ लागेथे रे ! लडाई हारे पनि जिते पनि युद्धमैदानमा जान दूर्योधन वाध्य थिए, दिवसमा हाँजिर हुनैपर्ने वाध्यता मलाई थिएन । गइएनथ्यो ।

कृष्ण पहाडीको जनयुद्ध दिवसप्रतिको गुनासो भन्दा प्रजातन्त्र दिवस मनाउनु पर्ने रोइलो सुनेर पुरानो कुराको याद आएको हो । जनयुद्ध दिवसको कुरो मात्र पनि कानभित्र छिर्दा पिडाको अनुभुति गर्नुपर्ने कारण के थियो र ? माओवादीले जनयुद्धको नाममा हतियार नउठाइदिएका भए कृष्ण पहाडीहरुको अन्तिम अभिष्ट भन्न मिल्ने यो गणतान्त्रिक लोकतन्त्र कमसेकम उनको जीवनकाल आउने सम्भावना थिएन । जो सुकैले जे सुकै भनोस्, कसैले मानोस् कि नमानोस् गणतन्त्र माओवादीकै कारणले आएको हो ।

नाम सुन्दै एलर्जी भए पनि जनयुद्धकै परिणाम हो गणतन्त्र । लोकतन्त्रको जननी पहाडीहरुले खेलेको सडक परेडबाट आएको हो भन्नु भ्रम सिवाय केही होइन । त्यो विशुद्ध आत्मरति मात्र हो । दुई दुई वर्षसम्म काठामाडौंका सडकमा रुटिन आन्दोलनमा आफू पनि नियमितरुपमा उपस्थित भइएकै हो । १२ बुँदे सहमति हुनुपूर्वको आन्दोलनको टिठलाग्दो अवस्था सबैले देखे जानेकै कुरा हो । त्यसले राजशाहीलाई ढलाउँथ्यो भन्नु फिस्टाको बच्चाको भारले बाँस पतक्कै नुगाउँछ भनेर पत्याउनु जस्तै थियो ।

हो.. गणतन्त्र स्थापनामा पहाडीहरुको नागरिक आन्दोलनको पनि महत्वपूर्ण भाूमिका अवश्य थियो तर त्यो हुटिटयाउँको आकास थाम्ने स्वप्नभन्दा फरक थिएन । होष्टेमा हैंस् मात्रै थियो त्यो । १२ बुँदेपछि आन्दोलन जुरुक्क उठेको कुरा किन बिर्सन्छन् होला पहाडीहरुले कुन्नी ? आफूले श्रेय लिन मन छ भने अरुको यथोचित मूल्याङकन गर्न जान्नुपर्छ । अरुको योगदान देख्न नसक्नेहरुले आफूले पनि जस खोज्नु हुदैन । त्यस्तो चेष्टा समाजको लागि पाच्य हुदैन पनि ।

पहाडीहरुले नमाने पनि देशमा दशवर्ष हतियार चलेकै हो । एकातर्फ हतियार चलाउनेहरु जागिरे थिए, अर्कापट्टि व्यवस्था परिवर्तनका पक्षधर सामान्य नागरिक थिए । ती दुबैथर नेपाली जनता नै थिए । जनताले लडेको लडाई जनयुद्ध नभए के थियो त ? त्यसलाई अर्को कुन नामले सम्बोधन गर्नुपर्ने हो त ? आह्वान प्रचण्डहरुले गरे होलान् मैदानमा लड्ने सर्वसाधारण जनता नै थिए । जनयुद्धलाई इन्कार गर्नु भनेको जनताको अपमान गर्नु हो । युद्ध नरुचाउनु एउटा कुरा हो अरुको अपमान गर्नु अर्को कुरा हो । हतियार उठाउने जनताको अपमान गर्ने अधिकार पहाडी मात्र होइन, कसैलाई पनि छैन ।

अन्तमा एउटा कुरा भनौं, पन्ध्र÷सत्र हजार नेपालीहरुको ज्यान युद्धले लिएकै हो भनेर पहाडीहरुले पनि मान्छन् । त्यो युद्धमा मर्नेमार्ने नेपालीहरु नै थिए । अर्थात त्यो युद्ध नेपालीहरुले भागलिएको युद्ध थियो । नेपालीहरुले लडेको युद्ध थियो । १७ हजार मरे, हजारौं अङ्गभङ्ग भएको अवस्थामा छन् । लाखौ नेपाली प्रभावित भए । सिङ्गो देश लडेको युद्ध, सिङ्गो नेपाली आवादी सामेल भएको युद्ध माओवादीको मात्र थियो भन्न मिल्छ र ? माओवादीले लडेको यद्ध पहाडीहरुले नमान्ने हो भने अरुले काँग्रेसले लडेको २००७ सालको युद्धलाई प्रजातटन्त्र दिवस भनेर मानिदिनुपर्छ भन्ने आग्रह राख्न मिल्छ र ?

२०४६ सालको आन्दोलनसँग असहमत हुनेहरु पनि त थिए, तिनले २०५४७को संविधान मानेका थिएनन् र ? प्रजातन्त्र पुनस्थापित भएको दिन भनेर चैत्र २६ मान्ने गरेका थिएनन् र ? कतिजना नेपालीले लडेको युद्ध जनयुद्ध हुने हो र ? युद्धमा सामेल हुनेहरुको संङ्ख्या नपुगेको हुनाले जनयुद्ध मान्न इन्कार गरिएको त होइन होला । युद्धमा सामेल हुनेको संख्याकै गणना गर्ने हो भने २००७ सालको युद्धमा भन्दा हजारौं गुणा बढी नेपालीहरुले भाग लिएका होइनन् र ? देश पहाडीहरुको आग्रहमा चल्नुपर्ने हो र ? सरकारले पहाडीहरुको पूर्वाग्रहमा शिरोपर गर्नुपर्ने हो र ? जनयुद्ध दिवस घोषणा गर्न पहाडीहरुको अनुमति लिनुपर्ने हो र ? त्यस्तो कुरा अलि पचेन है पहाडीजी ? ओलीले. बोल्नु र पहाडीहरुले भाका छोप्नुको कुनै गुढ अर्थ पो छ कि ?

पुरानो घर ढलाएर नयाँ घर ठड्याइसकेपछि पनि पुरानो घरको नाममा श्राद्धतर्पण गर्नुको कुनै अर्थ रहन्छ र पहाडीजी ? मनमा आग्रह पाल्नु र मुखले तितो पोखिहाल्नु फरक कुरा हो । कैयौं कुरामा आफू सहमत नभए पनि मान्नु साँचो अर्थमा लोकतान्त्रिक चिन्तन हो । लोकतान्त्रिक मर्यादा हो भनेर पहाडीजीलाई सिकाइरहनु पर्ने हो र ? मालिका प्रेस साप्ताहिकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार