अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

  साधन राम्जाली/धनिलाल गर्बुजा

म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो।

गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो। नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर ताल बनेको छ। विश्वकै उत्कृष्ट मौरिस हर्गोज पद मार्गको गन्तव्यमा पर्ने यो ताल पञ्चकुण्ड धामले समेत परिचित छ।

करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पाँच भागमा बनेको तालनजिकै भगवान् शिवको मन्दिर पनि छ। यस तालमा स्नान गरी नजिकै रहेको शिव मन्दिरमा पूजाआजा गरे पाप नष्ट हुने धार्मिक विश्वास छ। हिमालको आधार शिविरमा अवस्थित यस तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ।

पूर्वाधार अभाव र प्रचारप्रसार नहुँदा ताल ओझेलमा परेको वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो। स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले भन्नुभयो, “धार्मिक रूपमा समेत परिचित यस ठाउँमा पूजा गरेर स्नान गरे पाप नष्ट हुने विश्वास छ।” उहाँका अनुसार यस ताललाई सन् १९५० मा शेर्पा भाषामा दिकिचो ताल अर्थात् जम्ने ताल भनेर नामकरण गरिएको थियो।

पछि तालसम्म पद मार्ग पुगेपछि स्थानीयले पञ्चकुण्ड ताल नामकरण गरेका हुन्। पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधारशिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको मौरिस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गुरुङले बताउनुभयो ।

उक्त ताल गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटरको दूरीमा छ। हुमखोलादेखि २१ किलोमिटर पैदल यात्रापछि उत्तरी अन्नपूर्र्ण आधार शिविर पुग्न सकिन्छ।ताल सम्म पुग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र संघीय सरकारको पर्यटन मन्त्रालयको बजेटबाट पदमार्ग,झोलुङ्गे पुल र पर्यटक आश्रय स्थल निर्माण गरिएको छ ।

पदमार्गको पहुँच विस्तारपछि तालमा घुम्न आउनेको सङ्ख्या बढेको वडा नम्बर ४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। तालको माथि चार हजार एक सय ९० मिटर उचाइमा अन्नपूर्ण आधार शिविर छ। आधारशिविरमा खानेपानी,टेलीफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार