काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने भएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा उक्त सडक खण्डको बैकल्पिक मार्ग खोज्न लागि परेका छन् ।सांसद गर्बुजाले भौतिक मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोको समस्यालाई हल गरी दिन आग्रह गरेका छन् । फापरखेतको पहिरो बेनी –दाबाङ्ग सडकको सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । उनका अनुसार सडकदेखि करिब २ सय मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
यहाँ करिब १८ वर्षअघि सडक मार्ग खोल्नुपूर्व नै पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुदाँ यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी जोड्ने सडक वर्षायाममा निकै जोखिमपूर्ण बन्दै गएको सांसद गर्बुजाको भनाइ छ ।
हालसम्म उक्त सडकखण्डमा राज्यको करोडौ खर्च भएपनि समस्याको समाधान हुन नसकेको गर्बुजाले बताए । वर्षेनी खर्च गर्नुभन्दा अब नेपाल सरकारले यसको विकल्प खोजी दीर्घकालीन समाधान दिनुपर्ने उनले बताए । यसको दीर्घकालीन समस्याको समाधानका लागि पखेर र पहिरो भन्दामाथि म्याग्दी नदीमा बेलीब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्नुपर्ने हुन्छ,’ सांसद गर्बुजाले भने ।राताेपाटीबाट