म्याग्दी । घटना २०७० साल आषाडको दोश्रो साताको प्रारम्भकै हो । उनताका मेरो बसाई गोंगबुमा थियो । व्यापार व्यवसाय थिएन । कामको खोजीमा काठमाडौं छिरेको पनि होइन । नितान्त व्यर्थैमा ज्यान जान्छ कि भन्ने तर्सोले बेनीबाट भागिएको थियो भन्न लाज मान्नु पर्दैन । मलाई त किन हो मर्ने कुरासँग उति डर लागेको थिएन । मरिहालिएला वा ज्यानै लिइहाल्लान् भनेजस्तो लाग्दैनथ्यो । तर कैयौं मान्छेहरुमा विवेक हुदैन । विवेक नहुनेको हातमा हतियार परेपछि जानुपर्ने नपर्ने जसको पनि ज्यान जान सक्छ । ज्यान जाने कुरालेभन्दा पनि दुःख कष्ट झेल्नुपर्ने कुराले तर्साएको थियो । खासगरेर, बेनी छोड्नुको कारण आफन्त, इष्टमित्रहरुको आग्रह थियो भन्नु बढ्ता हुदैन ।
काठमाडौ. छिरेको १० वर्ष भैसकेको थियो । माओवादी आन्दोलन सकिएको पनि आधा दशक बितिसकेको थियो । माओवादी आन्दोलनका कारणले बेनीबाट विस्थापित भएको मेरो परिवार आन्दोलनको समाप्तिपछि पुनस्थापित हुन सकेन । त्यसका विविध कारणहरु छन् । तिनको गनिटिपी चर्चा गर्नुको कुनै अर्थ छैन । जुनसुकै कारणले भए पनि फेरि बेनी फर्कने कुराले पटक्कै आकर्षित गरेन । बिनाकामधन्दा काठमाडौंमा सपरिवार त्यति लामो समयसम्म टिक्नु चानचुने कुरा थिएन । नितान्त सिमान्त जीन्दगी बिताउने अभ्यास गरिएको थियो । गर्नै पथ्र्यो । कि काठमाडौं छोड्नुपथ्र्यो कि भने सिमान्त जीवनशैली अपनाउनै पथ्र्यो । मेरो रोजाईमा काठमाडौं नै रह्यो । झण्डै बेनीको एक दशकको बसाई पनि त्यस्तै थियो ।
कसैले दिए खाने, बोलाए जाने भनेजस्तो अवस्था थियो । महेस कान्छाको चिया यति धेरै पिइए होला कि हिसाब गर्ने हो भने आजसम्म यथास्थितिमा रहेको मेरो पुर्खाको नासो २५ पाथी जाने रोचे पनि भरिन्थ्यो होला । कसैले कतै बोलायो भने गइन्थ्यो । नभए छिमेकका पत्रिका पसल वा महेस कान्छाको पसल मेरो समय बिताउने ठाउँ थिए । एकदिन नजिकको पसलमा पत्रिका पढ्दै गरेको बेलामा लिलाभाईको गाडी अघिल्तिर आएर रोकियो । साँघुरो सडक, गाडी रोक्ने ठाउँ थिएन । भाइले निकै हतारो भएझै गाडीमा उक्लने उर्दी गरे । कुनै कामविशेषले त होला नि भनेर बिनासोधपुछ पछिल्लो सिटमा बसेँ । गाडी चलेपछि कता जानुपर्ने रहेछ भन्ने कुरा खुल्यो ।
पुलस्त्य–पुलहाश्रममा नयाँ शिवमन्दिर निर्माण कार्य चलिरहेको थियो । शिवमन्दिरका भित्रि कुनाहरुमा ऋषिबन्धुद्वय पुलस्त्य र पुलहका मूर्तिहरु राख्दा कस्तो होला भनेर भाइले सोधिटोपले । सोधिटोपले भन्नुको अर्थ निर्माण समितिले निर्णय गरिसकेको रहेछ । पाषाण मूर्तिहरुको खोजीमा भाइ काठमाडौं गएका रहेछन् । ललतिपुरको औद्योगिक क्षेत्रस्थित मूर्तिनिर्माण कारखाना जाने योजना रहेछ । कामधन्दा नभएको मान्छे म, भाइले जाउँ भनेपछि किन भनेर प्रश्न गर्ने कुरै भएन । हैन छैन भन्ने कुरा भएन । लुरुक्क परेर गइयो । अर्थात गोंगबुबाट साइत गरियो ।
गौशाला पुगेपछि एकजना गेरुबस्त्रधारी मानिस गाडीमा चढे । ती रहेछन् गुरु ! किश्वर गुरु !! सायद गौतम थर हो क्या रे ? नाम त मैले दर्जनभन्दा बढी पटक सुनेको थिएँ । विशेष प्रसङ्गमा भाइ कृष्णले पनि उनको बारेमा चर्चा गरेजस्तो लाग्छ । याम काका, लिला भाईहरुले अनेकबार त्यो नाम उच्चारण गरेको सुनेको थिएँ । पुलस्त्याश्रम र जगन्नाथमा सम्पन्न महायज्ञहरुमा “होता” को भूमिका निर्वाह गरिसकेका महामना गुरुजीसँग प्रत्यक्ष भेटघाट हुने अवसर जुरेको थिएन ।
गुरुजीसँग भेट्ने खासै जिज्ञासा ममा थिएन । गेरुबस्त्रधारीहरुसँगको सतसङ्गप्रति कहिल्यै आकर्षण जागेन । ती गुरुको बारेमा आफ्न्तहरुले केही सकारात्मक कुरा गरेका थिए । कमसेकम मेरो स्मरणमा उनको “निर्लोभी” चरित्रको चित्रको हलुङ्गो छाँया कुँदिएको थियो । हिन्दू परम्पराको कर्मकाण्ड ब्राह्मण समुदायको पेशा हो । व्यवसायमा अन्र्तनिहीत लोभको भावनाले कर्मकाण्डलाई थप विकृत र कुरुप बनाएको छ । सोझा सिधा धर्मभिरुहरुलाई डरत्रासमा पारेर दानदक्षिण गर्न उक्साउने अर्थात मनोवैज्ञानिक शोषण गर्ने चेष्टाको अब्बल नमूना “गरुडपुराण” हो । दान लिनेदिने परम्पराले सिङ्गो ब्राह्मण समुदायलाई लोभको पर्याय बनाइदिएको छ । आम पुरोहित चरित्रविपरित किशोर गौतम फरक छन् भन्ने मेरा आफन्तीहरुको भनाईले उनीप्रति नजानिदो उत्सुकता मभित्र टुसाएको थियो भन्नु बढी हुदैन ।
कुनै कुराप्रति पनि अनावश्यक आशक्ति प्रदर्शन नगर्ने मेरो जन्मजात स्वभावै हो । “अजिङ्गरको आहारा दैवले जुटाउँछ” भनेजस्तो कहिलेकहीँ बिनाकसरत बिनाउद्यम आवश्यकताहरु अकल्पनीय रुपमा पूरा हुन्छन्, खाँचो टर्छ । टरेन र अप्ठेरो प¥यो भने पनि चटपाउने, आत्तिने बानी छैन । मनभित्र कतै जिज्ञासा टुसाएको भए पनि मैले खोजेर किशोर गुरुलाई भेट्ने थिइन । संयोगले भेट भयो, राम्रो भयो ।
ऋषिद्वय पुलस्त्य पुलहका पाषाण मूर्तिहरु निमाणर््ाको सन्दर्भमा मूर्ति निर्माणशालातिर जाने आग्रह भाइ लिलाको थियो । मेरो रुचिको विषय थिएन । अरुको रुचिमा पनि आनन्द लिइदिने मेरो पुरानै बानी हो । तन्नेरी उमेरमा आफूले सुरापान नगरे पनि साथीहरुले पिएको हेरेरै घन्टौं बिताइदिन्थे । कैयौं पटक उनीहरुसँग बसेर सिङ्गो रात गुजारेको छु ।
मूर्तिशालाको अवलोकन पनि हुने, भाइलाई साथी भैदिने भनेर हिँडेको भेट भयो किशोर गुरुसँग । विलकुल हतारो नगरिकन, शब्द शब्द तौलेर र त्यसमा अलिकता मिश्री पनि घोलेर बोल्ने बानी रहेछ गुरुजीको ! गुरुजी आवश्यकताभन्दा बढी नै शिष्ट र औपचारिक बन्न खोजेको पो हो कि जस्तो लाग्दो रहेछ । सायद पहिलोचोटि भेट्ने सबैलाई त्यस्तै लाग्छ होला । कमसेकम बानी नपरुन्ज्याल उनको बोलीमा कृत्रिमताको अनुभूति गराउने गुण रहेछ भन्दा फरक पर्दैनरहेछ ।
किशोर गुरुसँगको त्यो छोटोमिठो भेटघाट मेरालागि फलदायी नरहे पनि प्रेरणदायी भने अवश्य रह्यो । गुरु असाधारणरुपमा मृदृभाषी रहेछन् । संस्कृत भाषाको गहिरो अध्ययन भएका गुरुजीमा “विद्या ददाति विनय” भन्ने भनाई लागु हुँदो रहेछ । उनको त्यही गुणले गर्दा निर्णय आफूले गरेर पनि अरु धेरैको अनुमोदन जुटाउनसक्ने प्रशंसनीय कलाको विकास उनमा भएको हुनुपर्छ । मनभित्र जति नै उत्सुकता र जिज्ञासा भएता पनि किशोर गौतमलाई खोज्दै हिड्ने मेरा स्वभाव थिएन । लिला भाइकै सौजन्यस्वरुप संक्षिप्त मिलाप र वार्तालापको अवसर जु¥यो । सत्सँगको अमूल्य अवसरका लागि लिला भाई धन्यवादका पात्र छन् ।
मूर्ति निर्माणको सिलसिलामा आएको आधिकारिक टोलीसँग ‘नौमती बाजाको स्वरमा जन्ती हिँडे’ झैं पाटन औद्योगिक क्षेत्रमा पुग्ने अवसर मिलेको थियो । अर्डर दिने औपचारिकता पूरा भयो । मेरो मनमा थियो–शिवमन्दिरमा ऋषिद्वयको जस्तै शिवको पनि पाषण मूर्ति राखिने होला ! कारखानामा पुगेको टोलीले शिवमूर्तिको खोजी नगरेपछि सायद धातुमूर्तिको स्थापना गरिने होला कि भन्ने अनुमान गरेँे । तर समितिको त्यस्तो कुनै योजना रहेनछ । शिवमन्दिरभित्र शिवको मूर्ति होइन “लिङ्ग” स्थापित गर्ने निर्णय भएको जानकारी मिल्यो ।
मन्दिर निर्माण समिति, आश्रम संरक्षण तथा विकास समिति, यज्ञ आयोजक समिति, पण्डित पूजारीहरु, धार्माधिकारीहरु र शिवभक्तहरुको साझा धारणासँग मत बझाउनुपर्ने आवश्यकता थिएन, मत बझाउनुको अर्थ पनि थिएन । “मूल्य नहुने ठाउँमा वाणी खर्च नगर्नु” भन्ने नीतिवचन पालन गर्नु उचित लाग्यो । चुप लागियो । जानुनपर्ने गाउँको बाटो सोधिरहनुको के अर्थ रहन्छ र ?
किशोर गुरुले शिवमन्दिरभित्र ऋषिहरुको मूर्ति राख्नु उचित होला कि नहोला भनेर सोधेथे । धार्मिक मान्यताको जानकारी मलाई थिएन । शिवको मूर्ति अगाडि उसैगरी विराजमान ऋषिहरुका मूर्तिहरु स्थापना गर्नुभन्दा शिवस्थापनाको अगाडि आदरपूर्वक उभिएका मूर्ति राख्नु उपयुक्त होला कि भन्ने राय दिएको थिएँ । मूर्ति बनेर आए होलान् । यथास्थानमा स्थापित गरिए होलान् । मैले भनेजस्तै ऋषिद्वयका उभिएक मूर्ति स्थापित गरिएका छन् कि छैनन् भनेर मैले हेरेको छैन । उभिएका मूर्ति छन् भन्ने त्यो मेरो कल्पना हो भन्दा फरक पर्दैन ।
हिन्दूधर्मको मूलश्रोत वेदलाई मानिन्छ । वेद (उपनिषद)ले परब्रह्मलाई श्रृष्टिको आदिश्रोत मान्छ । ब्रह्मलाई अदृश्य, नित्य र सर्वव्यापक पनि मान्छ । जगत नियन्ता परब्रह्म परमेश्वरको कुनै रुप आकार हुँदैन भनेर मानिन्छ । वैदिक मान्यताको विशद व्याख्या विश्लेषण उपनिषद, पुराण र गीताले गर्छ भनेर पनि मानिन्छ । वैदिक सिद्धान्तको आखिरी कडी ‘गीता’ हो । गीताले ज्ञानसून्यहरुमा इश्वरप्रति आस्था, विश्वास र प्रेम जगाउनका निमित्त मूर्तिको औचित्य स्वीकारेको छ । हिन्दूहरुले मूर्ति बनाउन निकै ढिलोगरी सिकेका हुन् । इसाको पहिलो शताब्दीमै बुद्धिष्टहरुले मूर्ति बनाउन थालेका थिए । हिन्दूहरुले नबौ शताब्दीपछि मात्र मन्दिर निर्माण र मूर्ति स्थापना गर्न थालेको देखिन्छ ।
इतिहासको कुनै कालखण्डमा वैदिक आर्यहरु पश्चिमतिरबाट सिन्धुघाँटी छिचोलेर भारतप्रवेश गरेका हुन् भन्ने मान्यता छ । आर्यहरुको आगमनपूर्व द्रविढहरुले सिन्धुघाँटी सभ्यताको विकास गरिसकेका थिए । आर्यजातिको आदि ग्रन्थ ऋग्वेदलाई मानिन्छ । ऋग्वेदमा लिङ्ग पुज्ने पणीहरुको आलोचना निन्दा गरिएको छ । त्यसको अर्थ शिवलिङ्ग स्थापना गर्ने चलन आर्यहरुको आदि परम्परा होइन । देवी, नारायण, ब्रह्मा र शिव आर्यहरुका लागि आगन्तुक देवता हुन् भन्नुपर्ने हुन्छ । आर्यहरुले ती देवी देवताहरु स्थानीय समाजबाट सापटी लिएका हुन् ।
धर्म भनेको आस्था हो । आस्था र विश्वासका निमित्त कुनै साकार तत्व (मूर्ति)को आवश्यकता पर्दैन । अर्थात धर्माचरणका लागि कुनै मठमन्दिरको आवश्यकता पर्दैन र देवमन्दिरमा मूर्ति राख्नुपर्छ भन्ने केही छैन । धर्मले मानेको इश्वरको सर्वोच्च रुप निराकार र सर्वव्यापी परमात्मा हो । इश्वरको निराकार र सर्वव्यापक स्वरुपको अनुभूति गर्न नसक्नेहरुका लागि मूर्तिको प्रदर्शन आवश्यकता छ भन्ने हो भने त्यस्तो आकृति सुन्दर र कलात्कमक हुनुपर्छ भन्ने केही छैन ।
खस परम्परामा चुच्चो परेको ढुङ्गोमाथि गोबरको पगडी लगाईदिएर “गोष्ठदेव”को रुपमा पूजागर्ने चलन शताब्दियौं पुरानो हो । देउराली देवता स्थापनाको परम्परा पनि त्यस्तै हो । त्यसरी पनि त देवता मान्ने चलनले निरिन्तरता पाएकै छ । काम चलेकै छ । लिङ्ग भनेको जननेन्द्रियको प्रतीक होइन भन्ने हो भने महादेवको लिङ्गस्वरुपको पूजा गर्ने परम्परा पनि ढुङ्गो ठड्याएर देवता मान्ने परम्पराकै परिस्कृत रुप होला भनेर अनुमान गर्न सकिन्छ ।
साँचो कुरा गर्ने हो भने पछैमा शिवमन्दिर निर्माण गर्ने कुरालाई मेरो विवेकले कहिल्यै सही मानेन । त्यो ठाउँ हो भने ऋषिद्वय पुलस्त्य र पुलहको आश्रम हो । तपस्यास्थल हो । त्यो ठाउँको आश्रमकै रुपमा विकास हुनुपथ्र्यो, महादेवको आराधनास्थलको रुपमा होइन । त्यसो भन्दा कसैलाई देवविरोधी, धर्मविरोधी रहेको जस्तो लाग्ला तर स्थान मान जसको पनि हुन्छ । पछै ऋषिहरुको आश्रमकै रुपमा परिचित रहँदै आएको हो र त्यो ठाउँको त्यो परिचय मेट्ने काम गर्नु ठिक होइन ।
अन्तमा एउटा कुरा भन्न मनलागेको छ । पुलस्त्य पुलहहरुलाई ब्रह्माका पहिलो छिमलका सन्तान भनेर पुराणहरुले मानेका छन् । त्यो सरासर उटपट्याङ् हावादारी कुरा हो । हिन्दू धर्मशास्त्रहरुले ब्रह्मालाई सृष्टिकर्ता मानेको छ । अर्थात कमसेकम यो पृथ्वीभन्दा उनी जेठा थिए । पृथ्वीको उत्पत्ति भएको अरबौं वर्ष भैसक्यो ।
मान्छे नामको जातिको अविकसित पुर्खाले धर्तीमा पाइला राखेको चार करोड वर्ष भैसक्यो । चिम्पाञ्जीसँग मानवपुर्खाको छुट्टीभिन्न भएको तीन लाख वर्ष बितिक्यो । तर मान्छेले खेतीगर्न सिकेको, गाउँ समाज बनाएर बस्न थालेको १०÷१५ हजार वर्ष मात्र भएको छ । लेख्नपढ्न जानेको छ ६÷७ हजार वर्ष मात्रै भयो । पुलस्त्य र पुलह विद्वान थिए । दुबै भाई आआफ्ना नामका स्मृतिहरु लेखेर छोडेका छन् ।
एउटा गजबको कुरा के रहेको छ भने पुलस्त्य र पुलहले लेखपढ संस्कृत भाषामा गरेका छन् । देवनागरी लिपिको प्रयोग गरेका छन् । संस्कृत भाषा त अलि पुरानै होला देवनागरी लिपि भने उति धेरै पुरानो होइन । इसाको पाँचौ शताब्दीतिरबाट विकास गर्न थालिएको लिपीले एघारौं शताब्दीमा बल्ल पूर्णता पाएको ऐतिहासिक प्रमाण लाग्छ । हजार बाह्रसय वर्ष अघि मात्र जन्मेको देवनागरी लिपिमा लेखपढ गर्ने मान्छे पुलस्तय र पुलह कसरी ब्रह्माका मानसपुत्र हुन् भनेर पत्याउन मिल्छ र ? मालिका प्रेस साप्ताहिकबाट