बेनी । म्याग्दीको मंगला गाउँपालिका–३,स्थित घामताङ्गका पहिरो पीडित शेरबहादुर नेपालीको परिवारलाई युके र स्वीडेनबाट करिब साढे एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मिना घर्ती मगरको पहलमा युकेमा शिला मगर्नीको नेतृत्वमा ८७ हजार र स्वीडेनमा नर रोका मगरको नेतृत्वमा संकलन गरिएकाे ५३,५०० रुपैयाँ पहिरो पीडित नेपालीको परिवारलाई हस्तान्तरण गरिएकाे छ ।
स्थानीय दर्पण रोका मगरका अनुसार, उक्त संकलित रकम घर्ती मगरले पीडित नेपालीको परिवारलाई शुक्रबार हस्तान्तरण गर्नुभयो । युके र स्वीडेनमा रहेका बरंजेली , म्याग्दीलीहरु लगायतले आर्थिक सहयोग गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले नेपालीको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको थियो । पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका थिए । २३ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । नौ जनाको परिवार अहिले सामुदायिक भवनमा बस्दै आएका छन् ।