म्याग्दीमा २० प्रतिशत धान रोपाइँ

  म्याग्दी न्युज संवाददाता
धान-रेपाइँ-म्याग्दी

म्याग्दी ।  हिमाली  जिल्ला म्याग्दीमा २० प्रतिशत धान राेपाइँ भएकाे छ। असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३, बरंजा र बेनी नगरपालिका–४,को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

आकासे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको हो । म्याग्दी जिल्लामै सबैभन्दा पहिला रोपाइँ हुने अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालनी भए पनि असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरूले धान रोपाइँ सुरु गरेको भए पनि सिँचाइको पर्याप्त स्रोत नभएको कारणले गर्दा आकाशको पानीकै भर पर्नु पर्ने भएकोले रोपाइँ पर्याप्त हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाको भनाइ छ ।

जिल्ला भित्र सिँचाइ सुविधा भएका क्षेत्रमा धान रोपाइँ सकिए पनि आकाशे पानीको भरमा रोपाइँ गर्न पर्ने कृषकहरूले अहिले सम्म पनि पानीको मुन नफुट्दा रोपाइँ गर्न नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।असारको सुरुवातमा पर्याप्त वर्षा नभएको तथा तीन बाली लगाइने बेँसीका फाँटहरूका खेतमा मकै भएकाले पनि धान रोपाइँमा ढिलाइ भएको छ । जिल्लाको अधिकांश कृषकहरू सिँचाइ अभावमा खेत रोपाइँका लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

केही वर्षअघिसम्म जेठको अन्तिमबाट नै धान रोपाइँ हुने गरेकोमा अहिले मध्य असारमा समेत धमाधम धान रोपाइँ हुन नसकेको हो । जिल्लामा करिब एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको छ । म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका धानको खेती हुने गर्छ ।लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया धान खेती समेत हुने गरेको रघुगंगा गाउँपालिकाका कृषि शाखाका सबिना पौडेलले बताउनुभयो । रघुगंगाको चिमखोला क्षेत्रमा घैया रोपाइ हुने उहाँको भनाइ छ ।

म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये १९ हजार चार सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिन मध्ये १३ हजार तीन सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएको मध्ये जिल्लामा तीन हजार आठ सय ९० हेक्टरको जमिनमा धान खेती हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार