देउसीभैलोबाट किसानी सञ्जीवनी अक्षयकोषलाई ३२ लाख बढी संकलन

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको मालिका-७ , बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोमा तीन दिनको अवधिमा रु ३२ लाख, ४४ हजार,३८ संकलन भएको छ ।

विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वतस्फूर्त रुपमा नगद नै रु ३२ लाख बढी सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

प्राचार्य गर्बुजाका अनुसार अक्षयकोष स्थापनाका लागि बिम गाउँमा रहेका सातवटा टोलका वासिन्दाहरुले न्यूनतम रु २९ हजार देखि अधिकतम रु १३ लाख १९ हजारसम्म दान गरेका छन् । कार्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा संचालन गरिएको देउसीभैलोमा मालिका ७, बिमको तल्लोगाउँ टोलबाट रु १३ लाख, १९ हजार, नौ सय १६ सहयोग प्राप्त भएको छ ।

त्यसैगरी बिमबाङ टोलबाट रु. ११ लाख, १५ हजार,चारसय ३२,डाँडागाउँ टोलबाट रु. पाँच लाख २६ हजार, सात सय ३०, ढुनोट टोलबाट रु.एकलाख ७७ हजार, आठसय ६०, नौमाने टोलबाट – रु. ४३, हजार पाँचसय ७०,अर्कला टोलबाट रु ३० हजार,आठसय,पाँच र इल्पु टोलबाट रु.२९ हजार, सातसय २५ सहयोग जुटेको हो । शनिवार देउसीभैलो कार्यक्रमको समापन गरिएको छ ।

“बिमवासीले आफ्नो गाउँको प्राविधिक शिक्षालयमा स्थापना हुने अक्षयकोषका लागि मन खोलेर सहयोग गर्नुभएको छ । गाउँवासीको यो सहयोगले विदेशमा रहनुभएका बिमवासीहरु पनि निकै उत्साहित हुनुहुन्छ । यस योगदानले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्दै कृषिको सशक्तीकरणमा दीर्घकालीन प्रभाव पार्नेछ” प्राचार्य गर्बुजाले बताउनुभयो ।

“देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि यहाँ आउनुहुनेगरिब,विपन्न र जेहेनदार विद्यार्थीहरुको सहयोगका लागि हामीले रु दुई करोडकोकिसानी सञ्जीवनी अक्षयकोष स्थापना गर्न लागेका हौ” प्राचार्य गर्बुजाले भन्नुभयो “जसले समुदायलाई आत्मनिर्भर बनाउन र आगामी पुस्ताका लागि उज्यालो भविष्यको आधारशीला निर्माण गर्न सहयोग पुर्‍याउनेछ” ।

“हामीले कल्पना गरेभन्दा बढी सहयोग प्राप्त भएको छ । आफ्नो गाउँमा संचालन भएको प्राविधिक शिक्षालयप्रति स्थानीयको कति धेरै अपनत्व रहेछ भन्ने कुरा पनि देउसीभैलो कार्यक्रमबाट संकलित रकमले पुष्टि गरेको छ” देउसीभैलो कार्यक्रमकी संयोजक डिना गर्बुजाले बताउनुभयो ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताउनुभयो ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । “कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौँ”, गर्बुजाले भन्नुभयो “हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार