महाशिवरात्रीमा गलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडियो/फोटो फिचर)

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा बुघवार विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि अवस्थित गलेश्वर शिवालयमा भगवान शिबको पूजा आराधना र १०८ शिबलिङ्गमा जल अर्पणका लागि विहानै पाँचबजेदेखि भक्तजनको भिड लागेको थियो ।

शिवरात्री पर्वको पूजालाई व्यवस्थित गर्न विभिन्न २४ वटा उपसमिति गठन गरी स्वंसेवक परिचालन गरेर सहज रुपमा पूजा आराधना र दर्शन गर्ने प्रवन्ध मिलाईएकोे गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको शिवरात्री पर्वको अवसरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट करिब ३० हजार भक्तजनले पुजा आरधना र दर्शन गर्ने अनुमान गरिएको छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधमप्रसाद रेग्मीले बताउनुभयो । महाशिवरात्रीका दिन शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको अध्यक्ष रेग्मीको भनाइ छ ।

मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा गनेर सार्वजनिक गरिने गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो । ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गनेर कोषमार्फत व्यवस्थापन गरी मन्दिरको भौतिक पूर्वाधार विस्तारमा लगानी गर्ने गरिएको कोषाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार