गिद्धेश्वर प्राविको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन (तस्बिरहरु)

  म्याग्दी न्यूज संवाददाता

बेनी । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित गिद्धेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन गरिएको छ। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच प्रो.डा.चिनबहादुर पुन,गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका कार्यालय प्रमुख मतिलाल चपाई ,वडा अध्यक्ष तिलक जिसी लगायतले दुई कोठे भवन र प्रवेशद्वारको उद्घाटन गर्नुभयो । विद्यालयकी निवर्तमान प्रअ राजकुमारी पुनका अनुसार ,बि.सं.२०७८ सालमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत २३ लाख ९० हजार रुपैयाँ लागतमा भवन निर्माण गरेको हो । भने विद्यालयका संस्थापक एवं समाजसेवी स्व. धर्मराज पुनको स्मृतिमा उहाँका छोरा प्रो.डा.पुनको नेतृत्वमा उहाँका परिवारको तर्फबाट एक लाख ९६ हजार रुपैयाँ लागतमा गेट निर्माण गरिएको हो ।भवन र प्रवेशद्वार निर्माण भएपछि सहज भएको उहाँको भनाइ थियो ।

 

पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निवर्तमान अध्यक्ष प्रो.डा.पुनले भवन र सुरक्षित प्रवेशद्वार बनेपछि शिक्षाको गुणस्तर सुधार्न र विद्यार्थीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही विद्यालयका पुर्व विद्यार्थी समेत रहनुभएका प्रो.डा.पुनले भन्नुभयो ,‘‘विद्यालय स्थापना र संचालनमा बुबाको ठुलो योगदान छ । आफुले पनि अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी छु । आगामी दिनमा पनि विद्यालयलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’गाउँपालिका अध्यक्ष आचार्यले विद्यालय हरेक क्रियाकलापमा उत्कृष्ट हुँदै आएको र यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा स्थानीयबासी र प्रवासीहरुले गरेको आर्थिक र भौतिक सहयोग अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । गाउँपालिकाले विद्यालयलाई आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय सेनाबाट अवकाश प्राप्त स्व.धर्मराज पुनले वि.सं.२०१८ सालमा उक्त विद्यालयको स्थापना गरी अध्यापन समेत गर्नुभएको थियो । कार्यक्रममा समन्वय इकाइ प्रमुख चापागाइ ,विद्यालयका पुर्व प्रअ थलराम पौडेल ,कुवापानी टोल विकास समितिका अध्यक्ष तिर्खबहादुर पाइजा लगायतले बोल्नुभएको थियो । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामबहादुर पुनले पचास हजार ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालय प्रअ पवित्रा पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार ,भुपु विद्यार्थीहरुले करिब १२ लाख रुपैयाँको विभिन्न ९ वटा अक्षयकोष स्थापना गरेका छन् । मंगलबार प्रो.डा. पुनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री समेत सहयोग गर्नुभयो । उहाँले यसअघि पनि विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो । विद्यालयमा कक्षा पाँच सम्म पढाइ हुँदै आएको छ । शिक्षक आशा पुनले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान प्रअ पुनले स्वागत गर्नुभयो । प्रो.डा.पुनलाई कुवापानी टोल विकास समुहले सम्मान गरेको थियो । यसैगरी विद्यालयका पुर्व विद्यार्थी तथा रेफ्री अमर पुनले खेलकुद सामग्री प्रदान गर्नुभएको थियो । गायीका गिता पाइजा र गायक कृष्ण सांगेतिक प्रस्तुति दिनुभएको थियो ।कार्यक्रममा पुख्र्यौली सोरठी नाच,विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार