
बेनी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति न्युनिकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमतासाथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिइएको बताउनुभएको छ ।प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले शनिबार म्याग्दीको मङ्गला गाउँपालिका–२, लाम्पाटा र वडा नं–५ हाडेभिरमा आयोजना गरेको प्रदेश स्तरीय विपद् प्रतिकार्य नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले विपद्बाट हुने क्षति न्युनीकरणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
“भौगोलिक बिविधतायुक्त गण्डकीमा बाढीपहिरो, डुवान, आगलागी, हिउँ पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरि विपद्को पुर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमता विकासका लागि प्रदेश सरकारले सहकार्यलाई निरन्तरता दिएका छौ,” मुख्यमन्त्रि पाण्डेले भन्नुभयो “विपद्बाट हुने क्षती न्यूनिकरणमा सावधानी अपनाउन समुदाय स्तरमा सचेतना अभिवृद्धिका लागि यस किसिमका नमुना अभ्यासले मद्दत गर्ने विश्वास लिएको छु ।”
नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा नमुना अभ्यास प्रर्दशन गरेका थिए । भूकम्पको अवस्थामा बच्ने र स्थानीय स्रोत साधनको प्रयोगबाट उद्धार गर्ने, नदीमा फसेकाको ¥याफटिङबाट उद्धार गर्ने, खोलामा रसीको सहायताले उद्धार गर्ने, भूकम्पका समयमा घरभित्र फसेकाको उद्धार, विद्युतको पोलमा लागेको आगो निभाउने, हिडिरहेको अवस्थामा सडक माथिबाट पहिरो खसेर पुरिएका, सडकबाट सवारी साधन सहित खसेका, भिरमा अड्किएका, आगोलागी, घाइतेको उपचार, राहत वितरण, अस्थायी शिविर, पुर्नवासको नमुना अभ्यास प्रर्दशन गरिएको थियो ।
नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति मधुकर सिंह कार्कीले विपद् ब्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीहरुको क्षमता विकासका साथै समुदाय स्तरमा सचेतना अभिवृद्धिका लागि नमुना अभ्यास गरिएको जानकारी दिनुभयो ।२३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेलले नमुना अभ्यास प्रर्दशनको तयारीका क्रममा स्थानीय तहका जनप्रतिनिधी र उद्धारमा खटिने व्यक्तिहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरिएको बताउनुभयो ।
हिउँपहिरो, बाढी, पहिरो, कटान, आगलागी, भूकम्प, सडक दुर्घटना, नदीमा डुब्ने, भिरमा लड्नेजस्ता विपद्का हिसाबले जोखिममा रहेको म्याग्दीमा क्षतिको न्युनिकरणका लागि समुदाय स्तरमा नमुना अभ्यास गरिएको बाहिनीपति पौडेलले बताउनुभयो ।प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायत स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको नमुना अभ्यास प्रर्दशनीको स्थानीयबासीहरुले अवलोकन गरेका थिए ।