मुस्ताङमा चौंरीको आलो रगत पिउने मेला सुरु (फोटोफिचर)

  धनिलाल गर्बुजा

मुस्ताङ। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा चौंरीको आलो रगत पिउने याक महोत्सव  सुरु भएको छ ।याक दिवसको अवसरमा हिमालयन याक नाक संरक्षण समितिद्धारा आयोजित मेलामा पहिलो दिन शनिबार  विभिन्न रोगबाट ग्रसित बिरामीको भीड लागेको छ ।

मेलामा मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतका क्षेत्रबाट सर्वसाधारण आएको हिमालयन याक नाक पालन उपसमिति अध्यक्ष बुद्धिरत्न तुलाचनले बताउनुभयो । उहाँका अनुसार , हिमाली लेकमा पाइने शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बु लगायत जडीबुटी खाने भएकाले याक र चौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिस चौरी रगत पिउन आउने गर्दछन् ।

अन्नपुर्ण गाउँपालिका–७,घराम्दीका कर्ण पुर्जाले आलो रगतले विभिन्न रोग निको हुने जनविश्वास रहेकोले आफु पनि रगत पिउन यहाँ आएको बताउनुभयो । आलो रगत पिउने मेला आगामी १५ गतेसम्म लाग्नेछ । प्रति गिलास रगतको मुल्य तीन सय रुपैयाँ तोकिएको छ ।विभिन्न समूहबाट ल्याइएको याक–नाकबाट हुने आम्दानीसँगै पालनपोषण र संरक्षण गर्ने गरिएको छ । मेलामा पहिलो दिन करिब दुई सय जनाले आलो रगत पिएको हिमालयन याक नाक पालन उपसमिति सदस्य राजेन्द्र तुलाचनले बताउनुभयो । मेलामा चौंरी विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौरी ल्याइएको छ । मेलामा प्रतिव्यक्ती एक गिलास मात्र रगत पिउन दिइएको छ ।

चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार (चुलेसी)ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । चौँरीको दुधबाट चिज, दही, घीउ र छुर्पीलगायतका परिकार बनाएर बिक्री गरिन्छ । उक्त क्षेत्रमा २२ गोठ रहेकामा मेलामा भने १० जना किसानले पालेका चौरी र याक ल्याइएका छन् । नेपाल सरकारले पहिलोपटक घोषणा गरेको याक दिवसलाई समेत हिमालय याक नाक संरक्षण समितिले स्वागत गरेको छ ।

मेलामा चौरी र याकका बारेमा जानकारी गराउने, पर्यटनको प्रवर्धनका साथै हिमाल क्षेत्रमा बसोवास गर्ने गोठालाहरूसँग समेत अनुभव लिने, तारा खेलको याकचौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मुस्ताङमा वैशाख र साउन महिनामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भिड लाग्ने गर्दछ । मुस्ताङका ५ स्थानीय तहमा चार हजारभन्दा बढी याकचौंरी पालन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार