
म्याग्दी । म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बारासम्मको एम्बुलेन्स लगायत खर्च र तुँदी पावर कम्पनीले थप ६ लाख रुपैयाँ उपलब्ध गराउने सहमतीपछि परिवारले शव बुझेका हुन् ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पनि क्षतिपूर्ति दिलाउन समन्वय गर्नुभएको आफन्त कमलबाबु चौधरीले बताउनुभयो ।उहाँका अनुसार ,सिविएम डब्लुई कम्पनीको तर्फबाट सुपरभाइजर कमल रानाले दश लाख मध्ये पचास प्रतिशत अर्थात पाँच लाख पीडित परिवारलाई बुधबार बुझाउनुभएको छ भने बाँकी पाँच लाख जेठ महिनाको १३ उपलब्ध गराउने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जाहेरी पछि बेनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरी बुधबार साँझ मृतकका परिवार र आफन्तलाई बुझाइएको जानकारी दिनुभयो । मृतक हरिओमका बुबा रामबाबु ,दाजु धर्मराज चौधरी लगायत आफन्त बेनी आउनुभएको थियो ।
जिल्लाको रघुगंगा गाउँपालिका–८,कुइनेमंगले र वडा नम्बर–७,चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजना तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजेको समयमा अचानक बेहोस भई ढल्नुभएको थियो । उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले आइतबार करिब साढे चार बजे मृत घोषणा गरेका थिए । मृतक चौधरीका बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ ।
यो पनि पढ्नुहोस् …
जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान
मृतक सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको थियो । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका थिए । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने भन्दै परिवारले अडान लिएका थिए । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।