
दग्नाम । मौवाफाँट–दग्नाम–घ्यासीखर्क जोड्ने सडक अन्तर्गत रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित छुर्पिडाँडामा पहिरो जादा सिधा यातायात अवरुद्ध भएको छ । सोमबार राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा बेनी हुँदै गलेश्वर– पिप्ले–मौवाफाँट– दग्नाम–दर्मीजा– चिमखोला–कुइनेमङ्गलेको घ्यासीखर्क सम्म जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको वडा अध्यक्ष पबिन गर्बुजाले जानकारी दिनुभयो ।
पहिरोले क्षति पु¥याएको क्षेत्रको नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थिलगत निरिक्षण गर्नुभएको छ । गाउँपालिकामा संचालित जलविद्युत आयोजना र पालिकाको सहकार्यमा मर्मत गरी सडक सुचारु गरिने भएको छ । पहिरोको दिर्घकालिन रोकथामका लागि आफुले पहल थाल्ने राज्यमन्त्री गर्बुजाले बताउनुभयो । राज्यमन्त्री गर्बुजाकै पहलमा संघीय सरकार र जलविद्युत आयोजनाको सहकार्यमा मौवाफाँटदेखि दग्नाम सम्म सडक स्तरोन्नती भएको छ ।
यस अघि वडा नम्बर ८ कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गत जेठ ३१ मा गएको पहिरोले करिब दुई महिना देखि सडक अवरुद्ध भएको छ । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुन नसकेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो । वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भैरहेको वडाध्यक्ष पाइजाले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा कुइनेमङ्गले, चिमखोला र दग्नाम लगायत क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका छन् । सिधा यातायात सुचारु नहुँदा स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको छ ।
निरिक्षणमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, जलविद्युत आयोजनाका प्रतिनिधि, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर मान श्रेष्ठ, संघिय सिचाइ आयोजना ईन्जिनियर नरजंग गुरुङ, वडा अध्यक्ष पविन गर्बुजा लगायत सहभागी हुनुभएको थियो ।