बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बेनी, १० फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा प्रमुख भण्डारीले म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले प्राप्त सफलतालाई निरन्तरता दिँदै आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रको समग्र विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको उहाँको धारणा थियो ।

कार्यक्रममा विद्यालयले एसएलसी÷एसईई उत्तीर्ण गरी समाज तथा राष्ट्रका विभिन्न नेतृत्वदायी भूमिकामा पुगेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको थियो। यस वर्ष जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ तथा प्रकाश माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक विनय श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । विद्यालयले उनीहरूको योगदान र उपलब्धिको उच्च कदर गर्दै दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेको शिक्षक विशाल खत्रीले जानकारी दिनुभयो ।

यसैगरी, शैक्षिक उत्कृष्टताको कदर गर्दै २०८१ सालको एइई परीक्षामा गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका शिक्षक डिम्पल कुमार चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । शिक्षण सिकाइ प्रक्रियामा उत्कृष्ट योगदान पु¥याउने शिक्षकहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, अनुशासन, नियमितता, अतिरिक्त क्रियाकलाप, खेलकुद र सिर्जनात्मक प्रस्तुतिमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

अभिभावक दिवसको अवसरमा आयोजित अभिभावक खेलकुद प्रतियोगितामा विजयी अभिभावकहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । यसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकको मन जितेका थिए । राष्ट्रिय तथा स्थानीय संस्कृति झल्किने प्रस्तुतीहरूले समारोहलाई थप आकर्षक बनाएको थियो । समापन अवसरमा वक्ताहरूले विद्यालयले ३५ वर्षको यात्रामा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारयुक्त शिक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाँको अध्यक्षता, प्रधानाध्यापक हरिकृष्ण पौडेलको स्वागत मन्तव्य तथा पिरतम सुनार र सुमित्रा शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

३५ औँ वार्षिकोत्सवले विद्यालयका विगत उपलब्धिहरूको समीक्षा गर्दै आगामी लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार