काठमाडौं । आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार उनका दुई छोरा र एक छोरी छन्। उनीहरू इँट्टा भट्टामा मजदुरी गर्थे।
प्रहरीका अनुसार उनीहरू सोही इँट्टा भट्टाको झुपडीमा बस्थे। करिब २०/२५ दिनअघि पनि बुवाले आफ्नी छोरीलाई राति बलात्कार गरेका थिए। सो कुरा छोरीले आमालाई बताएकी थिइन्। तर उनले सो घटनापछि आफ्ना श्रीमानलाई गाली गरी एक पटकलाई छाडेको प्रवक्ता कुँवरले बताए।
तर बुवाले शुक्रबार राति सुतिरहेकी छोरीलाई उठाएर पुन:बलात्कार गरेका थिए। उक्त घटना बालिकाले शनिबार बिहान आमालाई बताएपछि अति भयोु भन्दै प्रहरीकहाँ जाहेरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले बुवालाई पक्राउ गरेको हो।
हामीले उनलाई किन यस्तो गरेको भनेर सोधेका थियौं। श्रीमतीको स्वास्थ्यका कारण डाक्टरहरूले सम्बन्ध नराख्न भनेपछि छोरीमाथि बलात्कार गरेको भनेका छन्, प्रवक्ता कुँवरले भने।
पीडित र पीडक दुवैलाई स्वास्थ्य परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल पठाइएको छ। आरोपितमाथि प्रहरीले जबरजस्ती करणी कसुर अन्तर्गत जिल्ला अदालत सर्लाहीबाट ५ दिन म्याद लिई अनुसन्धान अगाडि बढाएको छ। सेतोपाटीबाट साभार