बाँके खोलामा मनलाग्दी उत्खनन

धनुषा । महोत्तरी र सर्लाहीको सीमा बाँके खोलामा अवैध उत्खनन भइरहेको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको बाँके खोला पुलबाट दक्षिणतर्फ र रेल्वे ट्र्याकको दुवैतर्फ अवैध उत्खनन भइरहेको हो ।

दुई महिनायता जंगल क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा उत्खनन गरिसकिएको छ । अझै पनि घनाजंगल रहेको उक्त क्षेत्रमा टिपर र डोजर नै डुब्ने खाल्डा खनेर नदीजन्य पदार्थ निकालिराखिएको छ । जंगल क्षेत्रमा पर्ने खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायत उत्खनन गर्न पाइँदैन । तर यहाँ नदीजन्य पदार्थ उत्खननकै लागि ४० भन्दा बढी डोजर र ढुवानी गर्न ७०/८० वटासम्म टिपर प्रयोग गरिएको छ । यस्ता सामग्री धेरैजसो महोत्तरीतर्फ निकासी भइरहेको स्थानीय बताउँछन् ।

यसअघि यही स्थानमा गिट्टी, बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर २०७५ असार १४ मा ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोलका ११ वर्षीय सुमित यादवको मृत्यु भएको थियो । घटनाको विरोधमा भोलिपल्ट स्थानीयले बाँके चोकमा चक्काजाम गरेका थिए । त्यसक्रममा स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा २५ वर्षीय सरोजसिंह कुशवाहाको ज्यान गएको थियो ।

बाँके खोलामा नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न महोत्तरीको गौशाला नगरपालिका र सर्लाहीको ईश्वरपुर नगरपालिकाले आलोपालो ठेक्का लगाउँदै आएका छन् । गत वर्ष गौशालाले ठेक्का लगाएको थियो । यसपटक ईश्वरपुरले मंसिर १ मा जनकपुरको शिवम् कन्स्ट्रक्सनलाई १ करोड ८ लाख रुपैयाँमा ठेक्का दिएको हो । सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार ईश्वरपुर–१३ श्रीनगर घाटटोलस्थित बाँके खोलाबाट ५ फिट गहिराइ र ४ लाख ५० हजार ८०५ घनमिटर गिट्टी, बालुवा निकाल्न मिल्ने उल्लेख छ ।

तर सम्झौतामा उल्लेख भएभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन भइसकेको छ । उत्खनन अझै जारी छ । तर यसबारे नगरपालिका भने बेखबर छ । नगरका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटा उत्खनन परिमाणबारे आफूलाई थाहा नभएको बताउँछन् । उत्खनन सुरु भएको जानकारी भए पनि नापजाँच र अनुगमन नभएको इन्जिनियर रमेश साहले स्विकारे । ‘बाँके खोलाको घाटटोल खण्डमा मात्र उत्खनन भइरहेको जानकारी नगरपालिकामा आएको छ । रेल्वे ट्र्याक क्षेत्रमा उत्खनन भएरनभएकोबारे भने जानकारी छैन,’ उनले भने, ‘उत्खननको जाँच र अनुगमनको जिम्मेवारी पनि दिइएको छैन ।’ स्थानीय भने रेल्वे क्षेत्रमै बढी उत्खनन भइरहेको दाबी गर्छन् ।

सम्झौतामा उल्लिखित उत्खनन गर्न पाइने परिमाणको तथ्यांक लुकाएर त्यसभन्दा बढी मात्रामा गिट्टी, बालुवा निकालिएको गौशाला–१२ का राकेश महतोले बताए । अवैध ढंगले नदीजन्य पदार्थ निकालिएको ईश्वरपुर–१३ का अध्यक्ष रामकरण महतो पनि स्विकार्छन् । अवैध उत्खननका कारण नजिकको श्रीनगर घाटटोल बाढीको उच्च जोखिममा छ । महोत्तरीतर्फ गौशाला–१२ को पूरा क्षेत्र, कान्ति बजारलगायत दर्जनौं गाउँ डुबान र खेतीयोग्य जमिन कटान हुन सक्ने स्थानीय गोपाल बम्जनको चिन्ता छ ।

उत्खनन गर्न बनाइएको १२–१५ फिट गहिरो खाडल पुर्न अहिले ईश्वरपुर नगरपालिका नै लागिपरेको स्थानीयको आरोप छ । उत्खननबारे पटक–पटक अनुगमन र निरीक्षण गर्नुपर्ने भए पनि नगरका कर्मचारी तथा जनप्रतिनिधिसमेतले स्थानीयबाट आएको गुनासो सम्बोधनमा वास्ता नगर्नुले मिलेमतोको आशंका गरिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बाँके खोलामा उत्खनन सुरु हुँदा अनुगमन भए पनि त्यसपछि भने नभएको बताए । ‘खोलामा भएको अवैध उत्खननबारे हामीलाई कुनै जानकारी छैन । जिल्ला समन्वय समिति र स्थानीय तहले अनुगमनबारे थाहा दिए मात्रै प्रहरी पुग्ने हो,’ उनले भने । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार