प्रदेश नेतृत्वमा आफ्नो पक्षलाई जिताउन देउवा र कोइराला पक्षका केन्द्रीय नेता जनकपुरमा, बुधबार मतदान
काठमाडौं, जनकपुर । कांग्रेस महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच देखिएको निकटता प्रदेश २ मा संकटमा परेको छ । प्रदेश नेतृत्वका लागि बुधबार हुने निर्वाचनमा देउवा र निधि समूहबीच प्रतिस्पर्धा हुने गरी चुनावी रणनीति अघि बढेको छ । देउवाविरुद्ध निधि र कोइराला समूहबीच समीकरणको प्रयास भइरहेको छ ।
निधिले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई सभापतिमा अघि सारेका छन् । देउवा समूहमा रहेका यादवलाई पछिल्लो समय निधिले आफ्नो पक्षमा लिएका हुन् । प्रदेश निर्वाचनका लागि गृहनगर जनकपुर पुगेका निधिले सभापति देउवालाई सहमतिमै नेतृत्व चयनमा सघाउन आग्रह गरे पनि सकारात्मक संकेत नदेखिएको बताए । ‘शेखर (कोइराला)जी रामसरोजलाई सभापतिको उम्मेदवार मानेर चुनावमा सँगै जान सहमत हुनुभएको छ, सर्वसम्मतको प्रयास सफल भएन भने हामी (कोइराला–निधि) बीच समीकरण हुन्छ,’ उनले भने ।
कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरमा खटाएका छन् । घिमिरेले निधि समूहसँग समीकरण गर्ने गरी कुरा अघि बढेको बताए । कोइराला समूहबाट सिरहाका नरेश यादवलाई सभापतिमा अघि सारिए पनि निधिसँग समीकरण हुँदा उनी पछि हट्ने घिमिरेको भनाइ छ । ‘सबै समूहलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी केन्द्रमा चुनाव जितेका सभापतिको हो, हामीले उहाँसम्म यो कुरा पुर्याएका छौं,’ उनले भने, ‘तर अहिलेसम्म त्यस्तो संकेत पाइएको छैन । त्यसैले हामी चुनावी रणनीतिमा अघि बढेका छौं ।’
सभापति देउवाले सोमबार गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणको नेतृत्वमा उदयशमशेर राणा र रामहरि खतिवडासहितको टोली जनकपुर पठाएका छन् । प्रदेश–२ बाट केन्द्रीय सदस्य निर्वाचित रमेश रिजाल र आनन्दप्रसाद ढुंगानाले स्थानीयस्तरमा समूहको चुनावी रणनीति बनाइरहेका छन् । जनकपुरमा रहेका देउवा समूहका एक नेताले सभापतिमा कृष्णा यादवबाहेक विकल्प सोच्न नसकिने बताए । यादव रौतहटका वर्तमान जिल्ला सभापति हुन् । ‘सभापतिमा कृष्णाजीको नाममा हामीले केन्द्रबाटै ‘माइन्ड सेट’ गरेर यहाँ आएका छौं, उहाँहरू (निधि–कोइराला) मान्नुभयो भने अन्य पदाधिकारीका लागि सहमति गर्न सकिन्छ,’ ती नेताले भने, ‘हाम्रो अवस्था मजबुत भएकाले तल परेर सहमति गर्ने कुरा हुँदैन ।’
केन्द्रीय सभापतिमा उम्मेदवार बनेका निधिले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेपछि प्रदेश २ को अधिवेशनमा देउवाले निधिलाई सहयोग गर्ने आकलन गरिएको थियो । स्रोतका अनुसार निधिले जनकपुर जानुअघि देउवासँग यस विषयमा कुरा पनि गरेका थिए । निधिले लामो समयसम्म देउवासँग रहेका रामसरोजलाई सहयोग गर्न आग्रह गरेका थिए तर देउवाले प्रदेश नेतृत्वको आकांक्षासहित आफूलाई सहयोग गरेका रौतहटका जिल्ला सभापति कृष्णा यादवलाई सर्वसम्मत सभापति बनाउन सुझाव दिए । ‘केन्द्रको चुनावमा सहयोग गरेकाले देउवाबाट आफ्नो गृह प्रदेशमा सहयोगको अपेक्षा राख्नु स्वाभाविकै हो,’ प्रदेश २ का देउवापक्षीय एक नेताले भने, ‘तर उहाँले अघि सार्नुभएको उम्मेदवारको नाममा सर्वसम्मति हुने सम्भावना कमै देखिन्छ ।’
३२ क्षेत्र रहेको प्रदेश २ को निर्वाचनमा करिब २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । सोमबारसम्म ३० क्षेत्रमा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये देउवा समूहका २१, कोइराला समूहका ७ र निधि समूहका २ जना छन् । महाधिवेशनमा समेत प्रदेश २ का तीनवटै केन्द्रीय सदस्यमा देउवापक्षीय उम्मेदवार निर्वाचित (दुई जना निर्विरोध) भएका छन् । १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिमध्ये देउवा समूहका ६ र निधि समूहका २ जना छन् । महाधिवेशन अघिसम्म तटस्थ रहेका सप्तरीका जिल्ला सभापति दिनेश यादव आफ्नो प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेपछि देउवा समूह थप उत्साही छ ।
निधिले पनि गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गर्न निकै कसरत गरेका छन् । केन्द्रमा देउवालाई कडा चुनौती दिएको कोइराला समूहले निधिलाई साथ दिएको छ । यद्यपि देउवा समूहबाट सहमहामन्त्री निर्वाचित महेन्द्र यादव र फरमुल्लाह मन्सुरका साथै केन्द्रीय सदस्यहरू रमेश रिजाल, आनन्दप्रसाद ढुंगाना र चित्रलेखा यादवले प्रदेश २ मा निधिलाई निस्तेज पार्न बलियो गठजोड बनाएका छन् । ‘केन्द्रको निर्वाचनमा उहाँ (निधि) ले आफ्नै प्रदेशबाट सोचेजस्तो मत पाउनुभएन, त्यसैले प्रदेश निर्वाचन उहाँका लागि दोस्रो परीक्षा हो,’ मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘निधिले गृह प्रदेशमा देउवाको उम्मेदवारलाई सहयोग गर्नु भनेको समर्पण हुन जान्छ, त्यसैले केन्द्रमा कोइराला समूहसँग मिलेरै भए पनि उहाँ चुनाव लड्ने सम्भावना बलियो छ ।’
प्रदेश २ का आठवटै जिल्लामा अधिवेशन भएको छैन । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन नभए पनि महाधिवेशनअघि प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो तर केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका निधिको आग्रहमा निर्वाचन रोकिएको थियो । ‘आफ्नै प्रदेशमा आफूले समर्थन गरेको उम्मेदवार पराजित भएमा त्यसको असर उम्मेदवारीमा पर्ने भएपछि निधिको आग्रहमा प्रदेशको निर्वाचन रोकियो,’ एक कांग्रेस नेताले भने, ‘अहिले उहाँ जसरी, जोसँग मिलेर भए पनि प्रदेशमा आफ्नो नेतृत्व स्थापित गर्ने कसरतमा हुनुहुन्छ ।’
निधिमात्र होइन, कोइराला समूहले पनि प्रदेश २ को अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएको छ । उक्त समूहबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा सोमबार बेलुकीको अन्तिम उडानबाट जनकपुर पुगेका छन् । आवश्यक परेमा कोइराला पनि जनकपुर जाने उनका प्रेस सहयोगी दिनेश थपलियाले बताए । मंसिर १७ मा प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै प्रदेश निर्वाचन स्थगित भएको थियो । प्रदेश निर्वाचन समितिले मंगलबार दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ । निर्वाचन भने बुधबार हुने तय भएको छ ।कान्तिपुर