काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाल पिएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पिएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।
नेपालले यसअघि पिएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ । लिग–२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौँ स्थानमा छ । अंकविहीन पिएनजी १३ खेल खेल्दै पुछारमा छ । नागरिक खबरबाट