काठमाडौं । मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्यू गिनीले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ ।
आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्यू गिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पीएनजीले टि२० आई आफ्नो इतिहासमा पूरा गरेको सर्वाधिक सर्वाधिक ठूलो लक्ष्य हो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको अविजित विष्फोटक इनिङ खेले ।
शर्विन मुनीआन्दीलाई १८ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा चौका प्रहार गर्दा पाँचौं बलमा लङअनमा छक्का प्रहार गर्दै खेल सकाए । ओपनर तथा कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि उरा र भालाले १ सय ३७ रनको अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै जित पक्का गराए ।
पीएनजीको यसअघि टि२० आईमा उच्च साझेदारी उरा र भालाले पहिलो विकेटका लागि २०१९ मा नामिबियाविरुद्ध १ सय २५ रनको साझेदारी गरेका थिए । ओपनर लेगा सियाका पहिलो बलमै आउट भएका थिए । नियमित ओपनर उरालाई पीएनजीले चौथो नम्बरमा ब्याटिङ गराएको थियो । भालालाई ओपनिङ गराएको थियो । जुन निर्णय सहि सावित भयो । मलेसियाका मोहम्मद वाफिक र इद्रुसले १–१ विकेट लिए । शर्विनले २।५ ओभरमा ४९ रन खर्चिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए । बायाँ हाते युवा स्टार सैद अजिजले ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
तेस्रो विकेटका लागि अजिज र फैजले १ सय १५ रनको शतकीय कीर्तिमानी साझेदारी गरेका थिए । मलेसियाबाट पहिलो पटक टि२० आईमा शतकीय साझेदारी भएको हो । यसअघि पपुवा न्युगिनीविरुद्ध यसै सिरिजमा विरनदीपसिंह र अहमद फैजले दोस्रो विकेटका लागिनै ९५ रनको उच्च साझेदारी गरेका थिए ।
ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।
नेपाल सुरुवाती तीन खेलमा लगातार जितका साथ फाइनलमा पुगि सकेको छ । नेपालले अन्तिम खेल मलेसियासँग खेल्नेछ । मलेसिया उक्त खेलमा विजयी भएमा ४ अंकका साथ फाइनलमा पुग्नेछ । पराजित भएमा भने पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । मलेसिया पराजित हुँदा दुबै टोलीको २्–२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । पपुवा न्युगिनी पहिलो खेलमा नेपालसँग १५ रन , मलेसियासँग ८ रन र नेपालसँग ३७ रनले पराजित भएको थियो । हाम्रो खेलकुदबाट