साधन राम्जाली
मुना / विहिबार कार्तिक २८ गते ।
गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित फलिया गाउँकी डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको साङ्लोले बाँधीएको अवस्थामा भेटिइन ।
मुनाको फलिया गाउँकी सुमिना लामगाडेका सहपाठीहरु गाउँको खेलमैदान,टोल चोकहरुमा खेलखेली रमाइरहँदा भने सुमिनाको खुट्टामा फलामको साङलो थियो १ खुट्टामा बाँधिएको फलामको साङलोमा ताल्चा झुन्डाइएको छ । सामान्यतः ८ बर्ष उमेर भनेको साथिभाईसंग खेल्ने रमाउने विद्यालय जाने समय हो । सुमिना भने दुई बर्षदेखी फलामको साङलोमा बाँधिएर बस्न बाध्य छिन ।
उनलाई देख्ने जतिलाई लाग्नसक्छ कुनै ठुलै अपराध गरेकाले साङलोमा बाँधिएको हो । तर सुमिनाको भित्री कथा भने बेग्लै छ । सानै उमेरमा आमाको कुटाइबाट मानसिक सन्तुलन बिग्रिए पछि उनलाई साङलोमा बाँधिएर राख्न बाध्य भएको आफन्तको भनाइ छ । बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघस्थाहरु छन् । स्थानीय सरकारको गाउँपालिका केन्द्र पनि नजिक छ । तर दुइवर्ष सम्म एउटा बालिका साङ्लोमा बाँधिदा गाउँपालिका बेखवर छ ।
साङलोमा बाँधिएकी सुमिनाले नत खेलमैदान न साथिभाइहरुसंग खेल्न पाउनुभएको छ । फलामको साङलोमा दैनिकी बित्ने गरेको छ । शौचालय जानको लागि मात्र सुमिना साङलोबाट मुक्त हुन्छीन । विगत दुई बर्षदेखी खाना खाजा फलामको साङ्लो सँगै खान्छीन । सुमिनाको रात पनि साङ्लोमा नै वित्छ ।
सानैमा आमाको कुटाइबाट मानसिक सन्तुलन बिग्रिए पछि सुमिनालाइ सांलोमा बाधिएर राख्न बाध्य भएको उहाँकी हजुरआमा डोल्मा कामीले बताउनुभयो । सानैमा आमाको कुटाईबाट नातिनिको मानसिक संतुलन बिग्रिएको हो उहाँले भन्नुभयो । नातिनि दुई बर्ष नपुग्दै बुहारी मिनिता रसाइलीले अर्कै संग विवाह गरेकाले हामिसंगै बस्दै आएकी छे । हजुर आमा कामीले बताउनुभयो । सुमिना बैशाख १३ गते आठौं बर्ष पुग्दै छिन् ।
स्पष्ट बोल्न नसक्ने सुमिना गाउँमा छिमेकीको घर पसेर सामान चोरी गर्ने , भागेर जाने भएकाले साङलोमा बाँधिएको हो, हजुरआमा डोल्माले बताउनुभयो । ‘नातिनिलाई साङलोमा बाँधेर राख्न मन त थिएन ,उसको मानसिक सन्तुलन बिग्रिएकाले साङलोमा बाँधेर राख्न बाध्य छौं ।’
आमाले अर्कैसंग विवाह गरेपछि बुबा सुर्य लामगाडेले पनि अर्की आमा ल्याएर छुट्टीएर बस्नुभएको छ । सुमिनाको उमेर बढ्ढै जाँदा अरुको भन्दा छुट्टै व्यवहार देखिए पछि उपचारका लागि पोखरा स्थित चरक हस्पितलमा लगेपनि आर्थिक अभावका कारण उपचार सफल हुन सकेन । सुमिनाको हजुरबुबा नरबहादुर सामान्य खेती किसान गरी परिवार र जिविका चलाउँदै आउनुभएको छ ।
पाँच बर्षको उमेरमा अपाङ्ग बालबालिका पढ्ने विद्यालयमा भर्ना गरिए पनि सुमिनाको फरक व्यवहारकै कारण विद्यालयले पढाउन नसकिने भन्दै बाजेबज्यैको जिम्मा लगाइदियो । अपाङ्गता भत्ताका लागि वडामा सिफारिस गरिए पनि विभिन्न प्रक्रिया पु¥याउन नसक्दा भत्ताबाट बञ्चित हुनु परेको छ । उपचार पाएमा सुमिनालाई ठुलो राहत पुग्ने स्थानीय मुनाकी अनिता पुन बताउनुहुन्छ । नवविकल्प साप्ताहिकमा प्रकाशित