मरन्च्याँसे व्यक्तित्वका कारणले पनि दुःख पाइन्छ

  चन्द्रप्रकाश बानियाँ

म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेहरुमा पारेको भ्रम र गलत बुझाईका अनेक उदाहरणहरु छन् ।

साल २०४९ विक्रमको कुरा हो । घुमघामकै सिलसिलामा म्याग्दीको निस्कोटको फेदीका पुगेको थिएँ । शुक्रबारको दिन थियो । एउटा प्राथमिक विद्यालयको प्राङ्गणमा विद्यार्थी र अभिभावकहरुको सानू भेला जमेको थियो । सानोतिनो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सय पचासको सानू भेला भुईमा पलेटी कसेर बस्यो । हामीमध्ये पाँच सातजनालाई कुर्ची नसिब भएको थियो । त्यति नै बेला एकजना भलादमीको आगमन भयो । उनी पूर्व प्रधानपञ्च रहेछन् । सरासर हाम्रो पंक्तिनेर आएर उभिए अनि मेरो छेउमै बसेका भारतीय सेनाका जवानसँग पूर्वपरिचयको भावमुद्रामा ‘गुड मर्निङ्ग’ भन्दै अभिवादनको जोसिलो औपचारिकता निभाए ।

मेरो कसैसँग पूर्वपरिचय थिएन । संयोगबस बसाईको लहरमा लाहुरे भाइ र नवागन्तुकको बीचमा पर्न गएको थिएँ । मेरो दुबै बगलमा रहेका मानिसहरु एउटै गाउँका थिए सायद । उनीहरुबीच चिनाजानी हृनु स्वभाविक थियो । उनीहरु गफिदै थिए । विनाजानपहिचान कसरी अनौपचारिक हुन सकिन्छ र ? मैले उनीहरुलाई चिन्दैनथेँ । उनीहरुले मलाई नचिन्नु पनि उत्तिकै स्वाभाविक थियो । अचम्म त त्यतिबेला लाग्यो जब ती नवागन्तुक ग्रामिण भलाद्मीको चिनाजानी मेरो छेउमा बसेका सैनिक जवानसँग पनि रहेनछ । सैनिक जवानको व्यक्तित्व खाईलाग्दो थियो । नवागन्तुक पूर्वपञ्चले मोटो, घाटो, सुन्दर र आकर्षक जिउडालका धनी सैनिक जवानलाई जिल्लाको सांसद भन्ने अनुमान गरेरै गफिन थालेका रहेछन् ।

उनलाई गाउँलेहरुका अगाडि आफ्नै क्षेत्रको साँसदसँग परिचय नभएको यथार्थ लुकाउनु श्रेयस्कर लागेहोला । उनको सामान्य ज्ञानले मञ्चमा बस्नेहरुमध्येको सबैभन्दा खाईलाग्दो मान्छे नै साँसद होला भन्ने सहज अनुमान गरेका पनि हुनसक्छ । उच्च ओहदामा पुग्ने अधिकांश जनप्रतिनिधिहरुको ‘फिगर’ गतिलै देख्ने गरेका उनले म जस्तो लुरे च्याङ्ग्रे पनि साँसद हुनसक्छ भन्ने अनुमानै गरेनन् होला । मेरो दुब्लो, पातलो र औसत दर्जाको जिउडालले बिचरा पूर्वप्रधानपञ्चलाई झुक्याई दिनु अस्वभाविक थिएन ।

सभाको अन्ततिर सांसदलाई सम्बोधनको लागि आमन्त्रण गर्दा उठ्ने मान्छे अर्कै देखेपछि बल्ल उनको भ्रम टुटेछ । मानिस निकै वाकपटु र चतुर पनि रहेछन् । वास्तविकता खुलेपछि ‘निर्वाचन प्रयोजनका लागि तयार गरिएको पोष्टरमा देखेको अनुहारसँग लाहुरे भाइको अनुहार ठ्याक्क मिले जस्तो लाग्यो । माननीयज्यू विरामी पो पर्नु भएछ क्यारे यतिबेला ! मैले ठयाम्मै खुट्याउन सकिन, माफ गर्नुहोला’ भनेर परिस्थिति सहज बनाउने कोसिस गरे । त्यो उनको व्यवहार कुशलता थियो । अप्ठेरो उनले मानेका थिए । उनले अर्कोलाई सांसद ठानेको कुरा उनैको मुखबाट नसुन्दासम्म हामीलाई कसरी जानकारी हुन्थ्यो र ? लाहुरे भाइसित प्रकट भएको उनको हार्दिक व्यवहार गलत अनुमानको कारण रहेछ ।

त्यस्तै घटना अनेकपटक घटेका छन् । त्योभन्दा दुई हप्ता अगाडिको कुरा थियो । काम विशेषले एउटा सरकारी कार्यालयमा पूर्वअनुमति नलिईकनै छिरेको थिएँ । सानू फर्म भर्नुपर्ने थियो । फर्ममा अङ्कित नाम ठेगानामा आँखा परेपछि टेबुल सम्हाल्ने कर्मचारी मित्रको अनुहारमा पनि तिनै पूर्व पञ्चको जस्तो भाव देखेथँे । उनी पनि मेरो नामसँग मात्र परिचित रहेछन । ‘ए ! तिमी नै पो फलानो !!’ मुखले नभने पनि उनको अन्तर्मनले सायद यस्तै केही भनिरहेको जस्तो उनको भावभङ्गिमाले देखाउँथ्यो । ती राष्ट्रसेवक भाइलाई मेरो ‘फिगर’ ले निराश बनायो होला भन्ने अनुमानले मेरो मनमा एउटा रमाईलो भाव सृजना गरेथ्यो । त्यो घटनाको ठ्याक्क भोलिपल्ट हो क्यारे अर्का एक जना विद्वान मित्रले त मुखै फोरेर आफ्नो अनुमान फेल खाएको कुरा सुनाई हालेका थिए । अर्थात ती मित्रलाई पनि मेरो फिजिकको गलत अनुमान रहेछ ।

आफ्नो अनुमान र कल्पनासँग यथार्थको आनकातानको अन्तर परिदियो भने असहज अनुभूति हुनजान्छ । मलाई देख्दा ‘राजा भनेको त जंङ्गे कनौरो पो !’ भने जस्तै अनुभूति गर्नेहरु धेरै भए होलान् । आफ्नो अनुमान अड्कलप्रति हाँस्यो उठ्यो होला । मलाई हेक्का नरहे पनि जीन्दगीमा यस्ता रमाईला क्षणहरु दर्जनौ चोटि आए गए होलान् । अर्काले भोगेको मर्मको यथार्थ अनुभूतिको कल्पना गर्न त सकिन्छ, साक्षात अनुभव गर्न भने सकिँदैन । अनुमान आखिर अनुमानै त हो । अनुमान सतप्रतिशत दुरुस्तै कहाँ मिल्छ र ? आफ्नो शारीरिक बनोटले कैयौं मानिसहरुका अनुमानलाई गलत सावित गरिदिएर खिस्रिक्क पारेको छ भन्ने कुराले मनभित्र विचित्र विनोदभाव सिर्जना गर्दछ । एक्लै मुस्कुराउन मन लाग्छ ।

घटना सामान्य नै हो । तर त्यही सानू घटनाको प्रवृत्तिमा हामी सबै नेपालीहरुको अफ्नोपन अन्तर्निहीत रहेको जस्तो लागेको हुनाले उल्लेख गर्न खसखस लाग्यो । २०५६ सालको बैशाख १६ गते विहान ११ बजेको समय थियो । नितान्त नीजि कामविशेषले म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा जानु पर्ने भाये । भतिजा नविनको शुभ विवाहको अवसर थियो । मुलुकमा संकटकाल लागेको बेला, पुलिस प्रशासनका दृष्टिमा माओवादी प्रभाव रहेको भनेर चिनिने भीरमुनीको ठाउँ, अलिकता सतर्कता त अपनाउनै प¥योे । दुर्घटनाले पूर्वसूचना गरेर आइदिँदैन ! हाम्रो घरमा हुने पारीवारिक भेलाको पूर्वजानकारी सुरक्षा निकायमा दिनु उपयुक्त हुने ठानेर त्यही कुराको लिखित जानकारी लिएर प्रजिअको कार्यालयमा आफै दाखिला भएको थिएँ । राहदानी वितरणको अघिल्लै दिनदेखिको बक्यौता काम फछ्र्यौट हुँदै रहेछ । निकै भिडभाडयुक्त थियो कार्यालय परिसर !

सधैं झैं विना पूर्वसूचना र अनुमति प्रजिअको कार्यकक्षतर्फ यन्त्रवत चलेका मेरा पाइलाहरु रोकिनुपर्ने खण्डखातिर आइलाग्यो । अकस्मात गतिमा ब्रेक लाग्यो ! गेटमा कुर्र्ची राखेर बसेका प्रहरी भाइले ‘एकछिन’ भनेर रोकिने ईशारा गरे । मानिसको भिडभाड देखिएकै थियो । मेरो आफ्नो काम पनि त्यस्तो विधि हतारो गरिहाल्नु पर्ने खालको थिएन । एकछिन बाहिरै उभिएँ । अर्को एकजना परिचित कर्मचारी भाइले प्रजिअको कार्यकक्षमा पस्न आग्रह गरे । भित्र छिरेँ । त्यतिन्ज्यालको घटनाक्रमलाई खासै महत्व दिएको थिईन । पूर्व अनुमतिविना कसैको कार्यकक्षमा प्रवेश गर्नु अभद्रता हो । अशिष्टता हो र असभ्यता पनि हो । कार्यालय भित्र मानिसहरुको अनियन्त्रित प्रवेशले हुनजाने अव्यवस्था र भद्रगोल नियन्त्रण गर्नु बाहिर ड्युटी दिने प्रहरीको सामान्य कर्तव्य नै होला । त्यसलाई अन्यथा अर्थमा लिन मिल्दैनथ्यो । तर त्यही सामान्य कुरा प्रजिअको कार्यकक्षमा प्रवेश गरिसकेपछि भने मेरो लागि अलिकता मथिङ्गल हल्लाउने विषयवस्तु बन्न गयो ।

प्रजिअको कार्यकक्षमा प्रवेश गर्दा सोफामा सिर्फ एकजना भलादमी विराजमान थिए । स्वभावतः प्रजिअ कार्यव्यस्त देखिन्थे । सायद भद्र्रजन आफ्नो कामको पालो पर्खेर बसिरहेका थिए होलान् । पाँचजना मान्छे आरामसँग बस्न मनग्य पुग्ने सोफामा उनी एकजना मात्र ढसमस्सिएका थिए । भित्र बसेर पालो कुर्नका लागि पर्याप्त ठाउँ हुँदाहुदैँ प्रहरीले अरुलाई बाहिरै रोक्नुपर्ने कारण के प¥यो होला भनेर स्वभावतः मनमा कुरा खेल्न थाले । सोफामा गजधम्मिएका महानुभाव सत्तारुढ पार्टीको जिल्लातहको गतिलै कार्यकर्ता मात्रै होइन मझौलो कदको प्रभावशाली नेता नै थिए । सायद प्रजिअसँग उनको विशेष कुराकानी पो हुदै थियो कि ? संकटकालको बेला विशेष मान्छेहरुकाबीच विशेष सल्लाह साउती हुने नै भयो ।

तिनताका मेरो टेलिफोनको लाइन काटिएको थियो । त्यसको अर्थ सुरक्षा संयन्त्रको संदिग्ध मान्छेहरुको सूचिमा मेरो नाम अङ्कित थियो । शंकाका अनेक कारण हुनसक्थे । त्यसमध्येको एउटा त्यस्तै विशेष मान्छेहरुका पूर्वाग्रही आग्रहले अधिकारीका कान भरिनु पनि कारण हो जस्तो लाग्थ्यो । विशेष मान्छेहरुसँग विशेष सरसल्लाह र सूचनाहरुको आदान प्रदान नहुने हो भने हामीहरु जस्ताले वाहियातमा दुःख पाउनु नपर्ने हुन सक्तथ्यो । टेलीफोनहरुले वेअर्थमा शहिद हुनु पर्ने थिएन ।

पालो कुर्नु परेन । मैले आफ्नो जाहेरी चढाएर बाहिरिएँ । काम बाँकी भएकैले होला भलाद््मी उसैगरी सोफामा बसिरहे । घर फर्केपछि पनि मनमा प्रवेशमा रोक लागेको कुरा खेलिरह्यो । शंकाले लङ्का डढाउँछ भनिन्छ । मेरो मनभित्र पनि अनेक शंका उपशंकाको बादल मडारियो । मेरो मनले जे भने पनि सिडिओको कार्यकक्ष बाहिरै प्रतिक्षा गर्नुपर्ने अवस्था सिर्जना गराउने अर्को कारण पनि हुन सक्तथ्यो । जस्तो कि –‘ आफनै वेशभुषा, पहिरन !’ खुट्टामा गतिलो जुत्ता थिएन । तनमा गतिलो (महङ्गो) पोषाक थिएन । लवेदा सुरवाल र सुटमा ठाँटिएर हिड्ने गरिदैनथ्यो । आज पनि त्यस्तो बानी छैन । पहिरन पोषाकमा ध्यान दिन अल्छी मान्ने बानीले पनि बेलामौकामा धोका दिने गर्छ ।

गाढा खैरो रंगको सफारी सुटमा भलाद्मीको व्यक्तित्व आकर्षक देखिन्थ्यो । साँचो कुरा गर्नें हो भने पहिरनकै आधारमा आफूलाई उनको घरेलु नोकर भन्न सुहाउँथ्यो । ‘प्रजिअज्यूको कार्यकक्षमा प्रवेशआज्ञा नपाउनुमा पोशाक जिम्मेवार रहेको हुनसक्थ्यो । त्यस्तो नहुन पनि सक्थ्यो । जँुंगा हेरेर भाग लगाउने” उक्ति हाम्रो समाजमा प्रचलित छ । बोली, व्यवहार, आमद हैसियत हेरेर मान्छेको हैसियत कायम गर्ने सामन्ती संस्कारबाट समाज मुक्त भैसकेको छैन । एकजना सेवानिवृत्त लाहुरे मित्र अड्डा अदालततिर जानुपर्दा जानीनजानी अंग्रेजी बोल्ने गर्छन् र भन्छन् ‘नेपाली बोल्यो भने त कर्मचारीहरुले टेरपुच्छरै लगाउँदैनन् । २÷४ शब्द अंग्रेजीमा बडबडाईदिएपछि त काम खुरुक्क बनिहाल्छ, यार !!’ साँच्चिकै त्यस्तै छ हाम्रो प्रवृत्ति !

हाम्रो विवाह परम्परामा दुलहालाई घुँडेभाग लगाउने चलन छ । वरियातमा सबैभन्दा मान्य मान्छे दुलहा हो भन्ने कुराको प्रतीक हो त्यो परम्परा । ठूलाबडालाई घुँडेभाग लगाउने संस्कारजनित दास मनोवृत्तिबाट हामीले पूर्ण मुक्ति पाईसकेकै छैनौं । व्यक्तिविशेषलाई खोट लगाउनु व्यर्थ हो । तपाईं पनि त्यस्तै हो । म पनि त्यस्तै हो । ऊ पनि त्यस्तै हुन्छ । सिंगो समाज नै त्यस्तै छ । हाम्रो आम प्रवृत्ति नै त्यस्तै बनेको छ ।

त्यतिखेर चर्चाको शिखरमा पूर्वमन्त्री हरि पाँडे थिए । आम नेपाली प्रवृत्तिको अपवाद बन्नखोज्ने चेष्टाले उनलाई भिन्न कित्तामा उभ्याएको थियो । उनले आफ्नो चरित्र, व्यक्तित्व र तत्कालीन पदको दुरुपयोगबाट हुन गएको भ्रष्टाचार विरुद्ध कार्यवाही गरिपाउनका लागि हुलाक मार्फत जिल्ला प्रशासनमा उजुुरी चढाएछन् । हुन पनि त हो नी प्रजिअको कार्यकक्षमा प्रवेश पाउनका लागि त कपडा जाबोको कत्रो महत्वपूर्ण भूमिका हुँदोरहेछ भने एमाले पार्टीको नौ महिने शासनकालमा निष्कलंक छवी भएको मन्त्री भनेर कहलिएका पाण्डेको चारित्रिक विशेषता र व्यक्तित्वको आवरण भ्रष्टाचारका अनेक गुप्तद्वार र तगाराहरु खोल्न वा काला धन्दाहरु ढाकछोप गर्नमा सहायकसिद्ध भयो होला नै ! पाण्डेको निष्कलंक छवीको छहारीमा उनका नातागोता, आफन्त, साथीभाइ र उनकै पार्टीले समेत कति जायज नाजायज काम पटाए होलान् भनेर सहजै अनुमान लगाउन सकिन्थ्यो । उनको गतिविधि मन्त्रीपदमा बहाल रहँदा करकापमा परेर शिखण्डी बन्नु परेको अपराधबोधग्रस्त मानसिकताको उपज होईन भन्न सकिदैनथ्यो ।

याे पनि…

बेनीमा निःशुल्क एजुकेशन सेन्टर !

कुरो अन्यत्रै बरालियो क्या रे । अस्तिभर्खर मकवानपुरबाट नवचिर्वाचित सांसदको खाइलाग्दो बाघे जुँगाको निकै चर्चा चलेथ्यो । उनले मन्त्रीपद पनि पाइहाले । अवश्य उनको जुँगाले मन्त्रीपद दिलाएको त अवश्य होइन होला तर त्यसले पृथक व्यक्तित्व भने अवश्य दिएको छ । व्यक्तित्वलाई प्रभावकारी बनाएको छ । व्यक्तित्वले अर्थ राख्छ । दुब्लो पातलो, लुरे लाम्रे मान्छेले आफू हेपिएको अनुभूति गर्नुपर्ने अवस्था आउन त सक्छ तर त्यसलाई सहजतापूर्वक लिन सिक्नुपर्छ । कसैको ज्ञान, सिप, क्षमता र विद्वता निधारमा लेखिएको हुदैन । साइनबोर्ड हेरेर कार्यालयको पहिचना गरेजस्तो मान्छेको अनुहार हेरेर को कस्तो हो भनेर कसैले खुट्याउन सक्दैन । महाभारतमा अष्टावक्रको कथा छ । त्यो कथा मान्छेको आँकलन शारीरिक ढाँचाका आधारमा गर्नु हुदैन भन्ने शिक्षाको लागि रचिएको होला जस्तो लाग्छ ।

मालिका प्रेस साप्ताहिक पत्रिकाबाट

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार