कौपिनको आविष्कार

  चन्द्रप्रकाश बानियाँ

त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल्ने बाक्लो छाला दिएको पनि थिएन । आवश्यकताले नयाँ कुराको खोजीतिर उद्यत गराउँछ । जाडोबाट बच्न रुखका बोक्रा र जनावरका छालाले शरीर ढाक्ने उपक्रमले कपडा आविष्कारको ढोका खोलिदिएको हो ।

आवश्यकताले सुत र उनबाट धागो बनाउने कला सिकायो । उन्नेबुन्ने सिपको विकास भयो । त्यपछि बल्ल कपडा पैरिएर मान्छेले आफूलाई पशुजगतबाट अलग गरेको हो ।

कपडाको विकास ‘शरीर रक्षाको निमित्त भएको हो कि लोकलाजबाट बच्ने उपक्रममा’ भएको हो भनेर बहस विवाद गर्न सकिएला । सामान्यतः कपडाको विकासमा उल्लेखित दुवै कारणको भूमिका उत्तिकै महत्वपूर्ण रहेको हुनुपर्छ जस्तो लाग्छ । विवादको निमित्त बहस चलाउने हो भने अण्डा र चल्लाको जेष्टताको विवाद जस्तै कहिल्यै नसुल्झने विवाद बन्ला । निष्पक्ष रहेर विनाआग्रह पूर्वाग्रह मानव विकासको इतिहास हेर्ने हो भने मानिसले सर्वप्रथम आवरणको प्रयोग कटीप्रदेश (कम्मर आसपास) ढाक्नको निमित्त गर्ने गरेको पाईन्छ ।

मान्छेले विकास गरेको कपडाको प्रथम डिजाईन कौपिन (लगौंटी) हो र कपडाको यो डिजाइनको आविष्कार लाज छोप्ने भावनाद्वारा अभिप्रेरित छ भनेर ठोकुवा गर्नु अतिशयोक्ति ठहर्दैन होला । अर्थात बित्ताभरको कपडाको टुक्राले आकारमा संक्षिप्त भएर पनि मानिसभित्र दिनानु दिन विकसित हुँदै भीमकाय रुप ग्रहण गर्दै गएको लाजसरम रुपी चेतनाबाट हुनजाने आत्मग्लानीको पीडाबाट जोगाएको छ । त्यस्ौले कौपिन मान्छेले विकास गरेको सुन्दर तथा महान साधन हो भन्नै पर्ने हुन्छ ।

लाजसरमको भावना नैतिकताको जननी हो । त्यसले मान्छेलाई मान्छेको कोटिमा गणनायोग्य बनाउँछ । नैतिकताको ख्याल गर्ने हरेक मानिसहरुले लोकलाजबाट बच्न कुनै न कुनै लगौंटीको सहारा खोज्छ नै । त्यसैले कौपिन कपडाको टुक्रा मात्रै होइन नैतिकहीनताको लोकारोपबाट जोगाउने साधन पनि हो । एक्काईसौं शताब्दीमा पाईला राखिसकेको मानव समाजमा कौपिनको परिभाषामा व्यापक विस्तार भएको छ । कौपिन त्यस्तो अनिवार्य तत्व बनेको छ, जसको सहाराविना कुनै पनि व्यक्तिले आफुलाई समाज समक्ष सभ्य र सुसंस्कृत नागरिकको रुपमा उभ्याउनै सक्तैन । कौपिनको महत्व नबुझ्ने र आवश्यकता नदेख्ने नकटा हरिलम्फुहरु थोरै मात्र जन्मन्छन् ।

हुनत यो धर्तीमा नकच्चराहरुको संख्या पनि कम छ भन्न सकिदैन । नकटोपनको मात्राले मानिसको विवेकको मात्राको पोल खोल्दछ । अर्थात को कति नकच्चरो छ भन्ने कुराले मान्छेको नैतिक विवेकको मापन हुन्छ । गाइले दाम्लो चुडाउने अवसर पायो भने आफ्नै बाच्छीको टाट्नाको घाँसपराल सबै खाइदिन्छ । उसले बाच्छीलाई माया गर्दैन भन्ने त होइन नि ! तर उसको मायामा विवेकको अंश अपेक्षाकृत कम हुन्छ । त्यसैले आपूmले घाँसपराल खाइदिँदा आफ्नै बाच्छी भोकै पर्छ भन्ने सहज ज्ञान माउ गाईमा हुँदैन । भनिन्छ सर्पको मुखमा परिसकेको भ्यागुताले किराफटेङ्ग्रा देख्दा मुख बाउँछ रे ! उसले आफू मृत्युको मुखमा परिसकेको कुरा मर्लक्क बिर्सन्छ । अर्थात स्वार्थले हरेक जीवात्मालाई विवेकशून्य बनाईदिन्छ । विवेकशून्य भएपछि मान्छेले नैतिकानैतिकको चेतना गुमाउँछ । समाजको अगाडि आफू नाङ्गै भएको कुराको ख्याल गर्दैन ।

जीवजगतमा सर्वाधिक विवेकशील प्राणी मान्छे हो । कहिले काहीँ मान्छे पनि विवेकशून्य देखिने परिस्थिति निर्माण भैदिन्छ । यस्तै हो, विवेक भन्ने वस्तु खर्चगर्नु पर्दा अलिकता बुद्धि पु¥याउनु पर्ने हुन्छ । सोचविचार गर्नु पर्ने हुन्छ । एकछिन निधार खुम्चयाउनै पर्छ । विवेकको समुचित प्रयोगबिना गरिएको काम पशुवत नभैहाले पनि राम्रो भने हुन सक्तैन । सकभर त मान्छेले हरेक कामकुरा गर्दा आपूmसँग रहेको बुद्धि, विवेक र ज्ञानको सम्पूर्ण उपयोग गर्दछ । हतारमा कुनै काम गर्नु पर्दा मान्छेले विवेक नगुमाईहाले पनि बुद्धि भने पु¥याउँदैन । अर्थात मान्छेले विवेक प्रयोगबिना गरेको काम अवचेतन अवस्थाको स्वतस्फूर्त अभिव्यक्ति हुने हुनाले संस्कारगत रुपमा उसको मन मष्तिस्कमा जुनकुरा गढेर रहेको हुन्छ, त्योे अनायासै सार्वजनिक भैदिन्छ ।

अझ यसो भन्न सकिन्छ कि कुनै नशालु पदार्थ सेवन गरेको बेलामा मान्छेले उट्पट्याङ कामहरु गर्छ । गर्न नहुने काम पनि गर्छ । बोल्न नहुने कुरा पनि बोलिदिन्छ । किनकि उसको व्यवहार लगामबिनाको घोडा जस्तो भएको हुन्छ । नशाले विवेकरुपी लगाम फितलो र खुकुलो बनाई दिुन्छ । नशा भन्ने कुरा लागु पदार्थको मात्र होइन, अरु कुराको पनि लाग्ने गर्छ । धनको नशा, बलको नशा, सत्ताको नशा, रुपको नशा आदि ईत्यादि । नशा जुनसुकै प्रकारको भए पनि आखिर नशै हो । नशाले मान्छेको विवेक नष्ट गरिदिन्छ । विवेक हराएको मान्छे निर्लज्ज हुन्छ । निल्र्लज्जता विवेकहिनताको अब्बल उदाहरण हो ।

कथा २०५७ जेठ असार महिनातिरको हो । बेनीबजारमा एउटा चर्चित घटना घटेको थियो । त्यसलाई “हाँडीभिरको घोटलाकाण्ड” भनेर पनि निकै पछिसम्म समाजले सम्झन्थ्यो । सबै कुराको ओखती समय हो भनिन्छ । घटनाको भएको पनि दुई दशक नाघिसकेछ । सायद अब बेनीमा त्यो घटना सम्झने मान्छेहरुको सङ्ख्या नगन्य बाँकी होला । घटनापछि जन्मेको नयाँ पुस्ताले जान्ने कुरा भएन । पुराना पुस्ताका मान्छेहरुले पनि अब त बिर्सिसके हा्ेलान् । सम्झनुपर्ने आवश्यकता पनि रहेन । बर्षेनी अरवौंको अङ्कमा भ्रष्टाचारका प्रत्यक्ष अप्रत्यक्ष घटनाहरु घट्ने परम्परा बसिसकेको यो मुलुकमा हाँडीभीरको घोटालाको अंङ्क उल्लेखनीय थियो भन्न पनि मिल्दैन ।

हाल जिल्ला शिक्षा कार्यालय भवन निर्माण भएको जग्गा किन्दा चलन चल्तीको परल मूल्यमा एउटा शून्य बढी थपिएको हो भन्ने चर्चा समाजमा चलेको थियो । अहिलेजस्तो पैसाको मूल्य सस्तो थिएन । २÷४ अंकको हेराफेरिले पनि रकम ठूलो त देखिदैनथ्यो तर त्यसको मूल्य निकै गरुङ्गो हुनजान्थ्यो । त्यसपटक भए गरिएको त्यही थियो । जग्गा किन्नु थियो किनियो तर परलमूल्य ठूलो देखाइयो । हुन त त्यसो गर्दा पनि शिक्षाकोषको दुरुपयोगको अंक चौथाई करोड पनि पुगेको थिएन । वर्तमान सन्दर्भमा हेर्दा त्यो सानू घोटालालाई त्यति धेरै महत्व दिनुको औचित्य देखिदैन तर उतिखेर पैसाको मूल्य आजको तुलनामा निकै ठूलो थियो । त्यसमाथि थप म्याग्दी जिल्लाको सन्दर्भमा प्रत्यक्ष देखिने गरी भएको सार्वजनिक सम्पत्ति दुरुपयोगको त्यति ठूलो घटना त्यो नै पहिलो थियो सायद । त्यसैेले होला त्यो घटना अपेक्षाकृत बढी नै चर्चित बनेको थियो । टीकाटिप्पणीको विषय बनेको थियो ।

भएको कुरा के थियो भने २०५६ साल फागुन ६ गते सदरमुकामको आसपासमा उपयुक्त जग्गा किन्न कार्यवाही अगाडि बढाउने निर्णय गरेपछि कानमा तेल राखेर सुतेको जिल्ला शिक्षा समिति २०५६ साल बैशाख २८ गते जग्गा किनबेच समाप्त भएपछि मात्रै व्यूँझिएछ ! रावणको जन्म पुलामा भएको थियो भन्ने लोककथन छ । रावणका भाई कुम्भकर्ण पनि सायद यहीँ कतै जन्मे होलान् । म्याग्दीबासीहरुमा आवश्यकता भन्दा बढि नै सुत्ने बानी हुनुको कारण वंशानुगत गुण पो थियो कि ? ढिलोगरी व्युँझेको शिक्षा समितिले समाजमा व्याप्त हल्लाबाट प्रभावित भएर नै किन नहोस् जग्गा छनोट गर्दा देखिनै अनियमितता हुँदैआएको ठहर गर्दै सम्बन्धित निकायबाट आवश्यक छानबीन गराउनु पर्ने आवश्यकता महसुस ग¥यो । जग्गा छनोट प्रक्रियामा नियमतः प्रत्यक्ष संलग्न रहेका प्रमुख जिल्ला अधिकारी स्वयंम्लाई समेत उक्त कुरामा सहमत गरायो र छानबीन गर्न गराउनतिर आवश्यक पहलकदमी गर्ने जिम्मा शिक्षा समितिका अध्यक्षलाई सुम्पियो ।

हुन त त्यस्तै हो, जति मुख उति कुरा । बोल्न खोज्ने सबै मुखहरु थुन्न सकिँदैन । बोल्नेहरु बोल्न थालेपछि सुन्नेहरुले सधैभरी कान थुनिरहन पनि मिल्दैन । त्यतिबेला नसुनुँभन्दा पनि यत्रतत्र सुनिने गुनासो थियोे ‘दुधको साँक्षी बिरालो’ राख्ने समितिको निर्णय । चौतारी गफमा होस् वा सडक हल्ला होस्, सबैतिर छानबीन गर्ने गराउने जिम्मा जिविस सभापतिलाई दिनुलाई अविवेकपूर्ण निर्णय भनेर चर्र्चा गर्न थालिएको थियो । हुन पनि कुरो ठिकै थियो । जग्गा खरिद गर्ने निर्णय गरेदेखि त्यसको कार्यान्वयन हुनका लागि जम्मा जम्मी ८५ दिन लागेको थियो । २०५६ फाल्गुण १९ गतेको मितिका प्रचलित आर्थिक ऐन नियम मिचेर निकालिएको टेण्डर सार्वजनिक हुँदादेखि शिक्षा कार्यालयको वदनियत देखिईसकेको अवस्थामा समय छँदै आवश्यक उपचारतर्फ पटक्कै ध्यान नदिने जिविस सभापतिलाई दिईएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा हुने कुरामा समाजले शंका गर्नु स्वाभाविकै थियोे ।

हुनत हाम्रो समाज यस्तै हो । अप्ठ्यारो पर्दा भन्नेहरुको त कुरै छोडौं, सुन्नेहरुले पनि साँक्षी बक्न तयार हुँदैनन् । तैपनि हल्लाको आधारमा शंका गर्ने र शंकाको आधारमा अनुमानको पहाड सिर्जना गर्ने अवसर समाजले पाएको थियो । बजार हल्लामा सत्यताको अंश कति छ भन्ने कुरा सम्बन्धित मान्छेहरुलाई जानकारी हुने कुरा थियो । अरुले त अनुमानको भरमा गफ चुट्ने मात्रै हो । बतास नचली पात हल्लदैन भनिन्छ । केही तथ्यहरु यस्ता पनि थिए, जसले बजार हल्लालाई निराधार हो भनेर ठोकुवा गर्न दिँदैनथे ।

गर्न नहुने कुरा नजानेर गरियो भने त्यो भूल मात्रै ठहर्छ । तर त्यही कुरा जानी जानी गरियो भने अपराध मानिन्छ । ऐन कानुनले त भवितव्यलाई पनि दण्डनीय अपराध मान्दछ । कहिलेकाँही परिबन्दले पनि मानिसलाई अपराधी सावित गर्छ । परिबन्दमा परेको मानिसलाई कानुनले सहुलियत नदिए पनि समाजले सहानुभूति दिन्छ, समर्थन गर्छ । हाँडीभीर घोटालामा कोही अपराधी ठहरेन । शङका गर्ने आधारहरु प्रशस्त थिए । विषय सार्वजनिक सरोकारको थियो । समयमै समितिको ध्यान घोटालातर्फ नजानु विडम्बना थियो । ईमान्दारहरु सोझा हुन्छन् तर चतुर हुँदैनन् रे ! स्वभावतः सोझो समाजले चतु¥याई देखाउन सकेन । अधिकारीहरुले शिक्षाकोषको दुरुपयोग गरे । आफ्नो दुनो सोझयाए ।

सरकारको धन खाए त खाए हाम्रो खाएका होइनन् क्या रे भन्ने भाव समाजले देखायो । कमसेकम माओवादी विद्रोहको आगो फस्टाइसकेको बेला हुन्थ्यो भने कालोमोसो सम्म त भ्रष्ट हाकिमहरुले दलिमाथ्थे होला । बेनीको समाजले त्यत्तिको साहस पनि देखाउन सकेनथ्यो ।गर्नेले लाज नमानिदिएपछि अरुले आँखा छोप्नुको के अर्थ रहन्छ र ? तत्कालीन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शिक्षाअधिकारी र मालपोतका हाकिमसमेतको मिलोमतोमा शिक्षाकोष रित्याइयो ।

हाकिमहरुले लाज मानेनन् । समाजले सतर्कता देखाउन सकेन । समाज सधै सबै कुरामा एकढिक्का हुदैन । आपसी वेमेल र असहमति रहन्छ नै । त्यसमाथि अलिकता बलियाको पक्षमा समाजको न्यायको तराजु झुक्छ । जग्गा किनबेचमा अपेक्षाकृत बलियो समुदायको स्वार्थ गाँसिएको थियो । त्यसैले तत्कालीन समयमा घोटालाको अंक ठूलै भएपनि सिङ्गो समाज चुप रह्यो । बोल्नुपर्ने आवश्कता देखेन अथवा बोल्ने हिम्मत गरेन ।घोटालामा संलग्न खतुकीहरु उसैगरी सम्मानित भैरहे, इज्जतमा दाग लागेन । सधैं झैं म्याग्दीको समाजले भ्रष्टहरुलाई आदर सम्मान दिइरह्यो । सबैका शिर उनीहरुका सामु निहुरिए । हात जोडिए ।हाकिमहरु नाङ्गै थिए । हाम्रा आँखाले उनीहरुको कटिप्रदेश कौपिनयुक्त देख्यो । समाजले नाङ्गो नदेखिदिएपछि उनीहरुलाई लाजशरम लाग्नुपर्ने कारण नै बाँकी रहेन ।मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार