म्याग्दी । कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल ।
धवलगिरि सेवा समाजले आयोजना गरेको उक्त सम्मान तथा अभिनन्दन कार्यक्रमलाई प्रशंसनीय मान्नुपर्छ । कञ्जुस्याई नगरिकन भन्नुपर्दा समाजले एउटा राम्रो परम्पराको थालनी गरेकै हो । पिछडिएको दुर्गम क्षेत्र धवलागिरिको सेरोफेरोमा जन्मिएका शेरचन र शर्मापौडेलहरुले आ–आफ्नो क्षेत्रमा त्यो वर्ष बाजीमारेकै हुन् । अरुको कुरा जानिदैन, कमसेकम हामी धवलागिरिबासीहरुका लागि उनीहरुको व्यक्तिगत उन्नति प्रगति गौरवकै विषय बनेको थियो । अद्वितीय कीर्तिमान सावित भएको थियो । त्यसलाई दीर्घकालपर्यन्त सम्झनलायक कीर्तिमान हो भन्न धक मान्नु पर्दैनथ्यो ।
धवलागिरिको सन्दर्भमा दुबैजनाले आ–आफ्नो क्षेत्रमा प्राप्त गरेको उपलब्धी र सफलता ऐतिहासिक र गरिमापूर्ण रहेको थियो भन्नैपर्छ । न हिजो त्यो उचाईमा यस क्षेत्रको कुनै व्यक्ति पुग्ला भनेर अनुमान गरिएको थियो नत निकट भविष्यमा त्यस्तो गौरव प्राप्त हुने सम्भावना देखिन्थ्यो । भावी एकडेढ दशकसम्म पनि त्यो रेकर्ड तोडिएला जस्तो लाग्दैनथ्यो । हुनत कीर्तिमानहरु तोडिनकै लागि बन्ने हुन् । त्यस कालखण्डमा धवलागिरिले त्यस्तो गौरवपूर्ण उपलब्धी हासिल गर्ला भन्ने अनुमान सायदै गरिएको हुँदो हो । त्यसवर्ष कल्पनातित उपलब्धी प्राप्त हुन गयो भने
अर्को पटक झन् ठूलो उपलब्धी प्राप्त नहोला भन्न सकिदैनथ्यो । भोलिको कुरा कसले जानेको हुन्छ र ?
माओवादी आन्दोलन भर्खर समाप्त भएको थियो । संङ्क्रमणकालको त्यो संङ्गिन परिस्थितिमा उच्च पद सम्मान प्राप्त गर्ने बन्धुहरुबाट मुलुकको हित संबर्धनमा महत्वपूर्ण योगदान पुग्ला भनेर विश्वास गर्न सकिने अवस्था थिएन । त्यस्तो आशा कसैले राखेको थिएन । ठूलठूला कामकुराहरुको आशा गर्न नसकिए पनि हाम्रा लागि उनीहरुको व्यावसायिक जीवनयात्राले त्यो उचाई प्राप्त गर्नु मात्रै पनि ठूलो कुरो थियो ।
धवलागिरिको लागि उनीहरुको उपलब्धी कोसेढुङ्गो सावित भएको थियो । अतुलनीय गौरवको विषय बनेको थियो ।
व्यक्तित्वद्वयले आआफ्नो क्षेत्रमा गरेको उन्नति सिंङ्गै धवलागिरिले घिँरौला जत्रो नाक र नाङ्गलो जत्रो छाती बनाउन मिल्ने विषय थियो । हातहातै प्राप्ति उपलब्धी केही नभए पनि अरुका अगाडि “हाम्रा पनि ठूला मान्छेहरु छन्” भनेर छाती ठोक्न पाईने भएको थियो । उन्नति प्रगतिका पदचाप पछ्याउन खोज्नेहरुका लागि प्रेरणा र हौसला दिने उदाहरण बनेको थियो । त्यसैले शेरचन र शर्माको अभिनन्दन गरेर धवलागिरि सेवा समाजले सिंगो धवलागिरिलाई कृतार्थ बनाएको हो भन्नु अत्युक्ति ठहर्दैनथ्यो ।
आयोजनाको भावना निर्मल र निष्कलङ्क थियो होला तर समारोह व्यवस्थापन र मञ्चको प्रस्तुती भने त्यो उचाईको रहेन भन्दा आयोजकहरुको चित्त दुखे पनि वास्तविकता त्यस्तै देखिएको थ्यिो । सभा सञ्चालकबाट सुरुमै संस्थालाई राजनीतिबाट अलग र अछुतो राख्ने उदघोष सुनाइएको थियो तर मञ्च व्यवस्थापनले समाजको कथनलाई झूठो सावित गरिदिन्थ्योे । मञ्च पूरै वर्तमान र भूतपूर्व राजनीतिक नेता कार्यकर्ताद्वारा भरिएको थियो । सिङ्गो धवलागिरिको प्रतिनिधित्व गर्ने भनेर आयोजित सम्मान समारोहको गरिमा गौरव बढाउन सक्ने कवि, कलाकार, समाजसेवी ,विद्वान, पण्डितहरु धवलागिरिमा नभए जस्तो परिदृश्य देखिन्थ्यो ।
भूतपूर्व सांसदहरुलाई समेत विराजमान गराइएको मञ्चमा डा. पिताम्बर शर्मा, डा. ज्योति सेरचन, डा. ओम गुरुङ, डा. मीनबहादुर श्रेष्ठ, डा. तेजकुमार श्रेष्ठहरु निम्त्याइएका थिएनन् । माओवादी नेता दीनानाथ शर्माको नामोच्चारण गरियो तर कवि शान्तिनारायणलाई सम्झिइएन । काजी रोसन र प्रेम छोटाहरुलाई बिर्सेर राजनीतिका सानाठूला सबै खेलाडीहरुलाई प्राथमिकता दिइएको मञ्चले राजनीतिबाट अलग रहने समाजको उद्घोषण झूठो सावित गरिदिए जस्तो लाग्थ्यो भन्न किञ्चित लजाउनु पर्दैनथ्यो ।
धवलागिरिका धेरै राजनीतिक कार्यकर्ताहरु आमन्त्रित उक्त कार्यक्रममा पूर्वमन्त्री नारायणसिंह पुनलाई आमन्त्रण गरिएको रहेनछ । बहालवाला उपप्रधानमन्त्रीको प्रशंसाको पुल बाँध्ने सन्दर्भमा धवालगिरिबाट आजसम्म कोही मन्त्रीपदमा नपुगेको कुरा बारम्बार दोहोराइयो । नारायण्सिंह पुन मन्त्रीपदमा पुग्ने धवलागिरिका पहिलो मान्छे हुन् भनेर स्मरण गराइएपछि “असोज १८ पछिका नियुक्तिलाई मान्यता नदिएको” भन्ने स्पष्टिकरण उत्घोषकबाट आएथ्यो । निमन्त्रणा हेर्दा त्यस्तो लाग्दैनथ्यो । किनकि पूर्वमन्त्रीहरु गौचनबन्धु भिमप्रसाद र जगतको पनि उपस्थिति थिएन । ओमकारप्रसाद गौचनलाई पनि सायद निम्ता नदिइएको रहेछ कि ? निम्तो पाउँदा त्यस्ता कार्यक्रमहरुमा उनले उत्साहपूर्वक सहभागिता जनाउने गर्थे ।
भूतपूर्वहरुको बारेमा अपमानजनक जस्तो लाग्ने समाजको घोषणा मर्यादित थियो भन्न सकिन्नथ्यो । उसै पनि विशुद्ध सामाजिक भनिएको संस्थाले यो वा त्यो राजनीतिक दर्शनलाई मान्यता दिनु नदिनुको अर्थ अराजनीतिको लगौटी खुस्कने कुरा थियो । समाजको त्यस्तो व्यवहारलाई अराजनीतिक भन्न मिल्दैनथ्यो । धवालागिरि सेवा समाजले मान्यता नदिँने भनेको आफ्नो कार्यक्रममा मात्रै थियो । त्यसले नारायणसिंहको भूतपूर्व मन्त्री पदको सामाजिक मान्यता समाप्त गर्दैनथ्यो । वास्तवमा त्यो त समाज र कार्यक्रम आयोजकहरुको कुरुप आग्रहको प्रदर्शन मात्रै थियो ।
अनुमान गरौं त्यही दिन राजाको शासनमा मन्त्री खान निवेदन चढाउनेहरु वा लुछाचुडी गरेर सिंहदरबारको घुम्ने कुर्चीमा गजधम्मिन पुगेका प्रजातान्त्रिक काँग्रेस वा एमालेको कुनै नेता समारोहमा उपस्थित भैदिएका भए उनीहरुलाई भूतपूर्व मन्त्रीको आदरार्थी सम्बोधन सहित मञ्चमा आमन्त्रण गरिदैनथ्यो होला त ? अवश्य विराजमान गराइने थियो । कोही ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै र कोही ‘प्रतिगमन आधा सच्चियो’ भन्दै राजाको सरकारमा सामेल हुन कुदेकै थिए । तिनीहरुको उपस्थितिमा आयोजकहरु भूतको छाँया परेको जस्तो अवस्थामा पुग्थे होला । समाजसँग उनीहरुलाई मञ्चमा नबोलाउने हिम्मत थियो होला जस्तो लाग्दैनथ्यो ।
इतिहास कसैले मेट्न खोजेर मेटिने विषय होइन । राम्रो वा नराम्रो जे जस्तो होस् ऐतिहासिक घटनाको महत्व सार्वकालिक हुन्छ । जङ्गबहादुरले जहानीया शासनको सूत्रपात गरे भन्दैमा उनलाई भूतपूर्व प्रधानमन्त्री नमानेर हुन्छ र ? पंचायतकालीन मन्त्रीहरुलाई देख्दा ढाडै भाँचिएला झै गरी दोब्रिएर स्वस्ती चढाउनेहरुले नारायणसिंहको मन्त्रीपदलाई मान्यता नदिने डिङ् हाँकेको देख्दा “फोहर गर्नेलाई भन्दा देख्नेलाई लाज” भएथ्यो भन्दा अत्युक्ति नहोला । हुनत मुसाको पुच्छर छुनसम्म डराउने नामर्दहरुले जङ्गलको राजा सिंहको जुँघा उखेल्ने धक्कु लगाउने गरेका उदाहरण समाजमा प्रशस्त पाइन्छन् । नारायणसिंह स्वयम् सशरीर उक्त समारोहमा उपस्थित भैदिएका भए उद्घोषकको धक फुट्न गाह्रै पथ्र्यो होला । पूर्वमन्त्रीहरु ओमकार र भीमप्रसाद गौचनहरुको उपस्थिति भैदिएका भए विचरा समाजको अडान कुन दुलोमा लुक्न जाँदो हो कुन्नी ?
सामाजिक–राजनीतिक परिवर्तनमा इतिहासको नकारात्मक पाटोको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । रावणविनाको राम र कंशविनाको कृष्णको के महत्व रहन्थ्यो् र ? राणाशाहीको अनुपस्थितिमा सात साल आउने नै थिएन । पञ्चायतको अस्तित्वविना ४६ सालको के अर्थ रहन्थ्यो. र ? असोज १८ नआइदिएको भए भए गणतन्त्रको कुरा त परै रह्यो “सेरेमोनियल किङ्ग” को परिकल्पना आउँदा कैयौं दशकसम्म यो मुलुकले गर्ने थिएन होला । सायद, हरेक असल कुराहरुको महत्व सम्बन्धित कालोपक्षको सापेक्षतामा निर्भर रहन्छ । विगत जति कालो हुन्छ आगत त्यति नै चम्किलो हुन्छ । त्यसैले इतिहासलाई बिनाढाकछोप जस्ताको तस्तै रहन दिनु राम्रो हुन्छ ।
नारायणसिंह पुनको व्यक्तित्व राजाको मन्त्रीको मात्र थियो भन्नु गलत हुन्थ्यो । विक्रमाब्द २०५९ को शिशिरयाम, कुरो त्यतिबेलाको हो जतिबेला माओवादी आन्दोलन उत्कर्षमा थियो । सरकार र विद्रोही पक्षबीच वार्ताको चर्चा बाक्लै थियो । त्यही सन्दर्ममा नारायणसिंह पुन पनि चर्चाको शिखरमा थिए । पत्रपत्रिकाहरुले उनकै कुरा छाप्थे, श्रव्यदृश्य समाचार माध्यमहरुमा दिनदिनै जस्तो उनकै अनुहार देखिन्थ्यो । सञ्चारमाध्यमहरुमा मात्रै होइन, घरघरमै उनको चर्चा हुन्थ्यो । नढाँटिकन भन्नुपर्दा सहकर्मीहरुकाबीच पुनजी आहारिस लाग्ने गरी चर्चित हुन थालेका थिए । उनको व्यक्तित्व इष्र्यालाग्दो गरी चुलिएको थियो । लोकप्रिंयता लोभलाग्दो बन्दै गएको थियो ।
उनको राजनीतिक जीवन नर्कटको ढोँडजस्तै अल्पायुको रहेको भए तापनि अपेक्षाकृत निकै छोटो समयमा नारायणसिंह एउटा राष्ट्रिय व्यक्तित्वको रुपमा उदाएको थियो । राजनीतिले उनलाई त्यो अकल्पनीय उचाईमा पु¥याएको हो भन्ने कुरामा दुई मत नभए पनि विष्मय मान्नुपर्ने कुरा के थियो भने उनले त्यो उचाई निकै छोटो समयमा तय गर्न भ्याएका थिए । राजनीतिका धुरन्धर खेलाडीहरुका लागि समेत उनको दु्रतगामी उध्र्व यात्रा अविश्वसनीय लाग्थ्यो । उनको जस्तो अल्प यात्राले कसैलाई राजनीतिको त्यति विशिष्ट उचाईमा पु¥याएको उदाहरण बिरलै देखिन्छ ।
पुनजीको राजनीतिक यात्राको प्रारम्भ सरल, सहज, सामान्य र स्वाभाविक ढङ्गबाट भएको थिएन । उनको राजनीतिक यात्रा अलि भिन्न बाटोबाट शुरु भएको थियो । संगठन निर्माणका निमित्त एकजोर जुत्ता फटालेका थिएनन् । माथिबाट सुरु भएको उनको राजनीतिको आधार भारतीय राष्ट्रिय काँग्रेसका दिवंङ्गत नेता राजीव गाँधीको जस्तो पनि थिएन । पेशा एउटै भए पनि पृष्ठभूमि फरक थियो । नारायणसिंहसंग राजिव गान्धीको जस्तो वंशपरम्पराको आधार थिएन न त संगठनमा खटेको दीर्घ अनुभव थियो । इमान्दारिपूर्वक भन्नुपर्दा उनको राजनीतिको आधार उनको आर्थिक हैसियत थियो । नेपाली काँग्रेसको चौवन्नी सदस्यतादेखि प्रतिनिधिसभाको सदस्यता समेतको आर्जनमा पैसाको महत्वपूर्ण भूमिका थिएन भनेर स्वयं नारायणसिंह आफैले पनि दावी गर्न सक्तैनथे ।
जे होस् अल्प अवधिमै नारायणसिंह पुनले राष्ट्रिय राजनीतिमा एउटा प्रभावशाली हैसियत प्राप्त गर्न सफल भएका थिए भनेर मान्नैपथ्र्यो । सामान्यतः कुनै हैसियत आमद प्राप्त गर्नुभन्दा दीर्घकालसम्म त्यसलाई जोगाउन गाह्रो पर्छ । त्यसमाथि छोटो अवधिमा सप्लाएको वस्तुको आयु पनि अपेक्षाकृत कम हुन्छ भनिन्छ । नारायणसिंहको हैसियत जोगाउने खुवीको परीक्षण भने हुन पाएन । असमयमै उनको देहावसान् हुन गयो ।
आवरणमा हेर्दा नारायणसिंह पुनले आर्जन गरेको त्यतिबेलाको हैसियतको आधार उनको नवगठित “नेपाल समता पार्टी” र त्यसको अध्यक्षका हैसियतबाट तत्कालीन टिके सरकारमा प्राप्त क्याविनेटस्तरको मन्त्रीपद हो जस्तो देखिन्थ्यो । वास्तविकता भने त्यो भन्दा बिल्कुल भिन्न थियो । अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीजस्तै थियो समता पार्टी ।
उनको पार्टी कुनै दार्शनिक र शैद्धान्तिक आधारमा स्थापना भएको थिएन । क्षत्रीयता वा साम्प्रदायिकता पनि उनको पार्टी निर्माणको आधार थिएन । उनको पार्टी विशुद्ध एनजीओ स्थापनाको शैलीमा निर्मित भएको थियो । पार्टी जनआधारित थिएन । संगठन आधारित पनि थिएन । कार्यकर्ता आधारित पनि थिएन । मालिका प्रेस साप्ताहिकबाट