सडकको मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन सांसद केसीको माग

बेनी मंगलबार माघ १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देखि बेनी सम्मको सडक पर्वत अथवा बागलुङ कुन जिल्ला भएर म्याग्दी जोडिने भन्ने अन्यौलताका कारण स्थानीयबासी समस्यामा परेको विषय उठाउनुभयो ।

उहाँले कोरिडोरको सडक कताबाट लैजाने भन्ने विषयमा छिटो नक्साङकन् गरेर सडकको मापदण्डको विषयमा स्पष्ट बनाउन प्रदेश सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो । सडकको नक्साङकन नहुँदा सडक छेउछाउका बासिन्दाहरु घरजग्गा धितो राखेर बैङ्क तथा वित्तिय संस्थाको सुबिधा उपभोग गर्नबाट बञ्चित भएको गुनासो बढेको छ ।

साथै सांसद केसीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम सुस्त भएको उल्लेख गर्दै तिब्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सडक विस्तारका क्रममा जोखिम र संकटमा परेका संसारकै गहिरो अन्धगल्छी, भुरुङ्ग तातोपानी कुण्ड लगायत पर्यटकीय स्थलहरुको संरक्षणमा पनि ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार