असिना र पानीले म्याग्दीका कृषकको लाखौंको तरकारी नष्ट

म्याग्दी बिहिबार फागुन १६ गते ।
गयराती परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।

असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, धनिया, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकहरुले गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानी लगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिना पानीले नष्ट गरिदिएको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । मध्य रातमा परेको असिना र पानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

विगत ४० वर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले असिनाले आफ्नो करिब चारलाख रुपैयाँ बराबरको तरकारी खेती नष्ट गरेको गुनासो गर्नुभयो ।

बेनी नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रुपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिना पानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गर समेत झारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार