झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल

सन्तोष गौतम
बेनी सोमबार चैत ११ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ ।

सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ ।

जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजीअ लीलाधर अधिकारी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनपाकी उपमेयर सञ्जु बरुवाल, प्रहरी नायव उपरिक्षक महेन्द्र मरासीनी, नापी अधिकृत सहदेव सुवेदी सहितको टोलीले बिवादीत क्षेत्रको स्थलगत निरिक्षण गरेको थियो ।

नापी विभागको आधिकारिक नक्सा, पुराना कागजात, सहमतीका दस्तावेज लगायत प्रमाण जुटाएर दुवै वडाका जनप्रतिनिधिहरुसँग संयुक्त बैठक बसेर बिवाद समाधानको पहल गरिने नगर उपप्रमुख बरुवालले बताउनुभयो ।

सिमा क्षेत्रमा पर्ने रघुगंगा र बराहपंग्रेनी सामुदायिक वन तथा हिलाको भुगोललाई दुवै वडाका जनप्रतिनिधि र बासिन्दाले आफ्नो क्षेत्रमा भएको दावी गर्न थालेपछि बिवाद बढेको हो । सिमा बिवादका कारण सामुदायिक वनको घाँस, दाउरा, काठ उपयोग र सिमा क्षेत्रमा पर्ने हिला गाउँमा विकास गतिबिधि प्रभावित हुनुका साथै सामाजिक द्धन्द सिर्जना भएको छ ।

झिँका बासिन्दाले डेङग्रेखोला र पात्लेखेतले घट्टेखोलालाई आफूहरुको सिमाना भएको दावी गरेका छन् । डेङग्रेखोला र घट्टेखोलाको सिमानाको बिचमा पर्ने हिला गाउँमा करिब ३० घरधुरीको बसोबास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार