विश्व रेडक्रस दिवसको अवसरमा ज्येष्ठनागरिक सम्मान तथा खाद्यान्न वितरण

प्रताप बानियाँ
म्याग्दी,बुधबार बैशाख २५ गते ।
नेपाल रेडक्रस सोासाइटी पुलाचौर उपशाखाको आयोजनामा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा विविध कार्यक्रमको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठनागरिक तथा स्वास्थ्यकर्मी सम्मान र खाद्यान्न वितरण गरिएको हो ।

बेनपा–५, भीरमुनीका १०२ वर्षीया ज्येष्ठनागरिक मनरुपा बानियाँलाई अबिर लगाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको रेडक्रस उपशाखाले जनाएको छ । सोही अवसरमा उपशाखाद्वारा यसअघि भीरमुनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा सहयोग पु¥याएको भन्दै पुलाचौर स्वास्थ्यचौकीका अहेव कल्पना ढुङ्गाना र शहरी स्वास्थ्य केन्द्र भीरमुनीका अनमी चन्द्राप्रभा भण्डारी बानियाँलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी दिवसकै अवसरमा बेनपा–५, खोरगैरा निवासी फुलमाया नेपालीको परिवारलाई १ पिस चामल, १५ केजी आलु, २÷२ केजी दाल तथा चिनी, नुन, आधा दर्जन कापीकलम र नगद तीनसय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । सम्मान तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्दै रेडक्रस म्याग्दी शाखाका प्रथम यशस्कर सदस्य यामबहादुर बानियाँले विगतको समयमा द्वन्द्वका क्षेत्रमा मात्रै काम गर्ने गरेकोमा पछिल्लोपटक रेडक्रसले सामाजिक र मानवीय क्षेत्रमा पनि काम गर्दै आइरहेको बताएका छन् ।

बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले रचनात्मक कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाउनु अत्यन्तै सराह्रनीय भएको बताउँदै सामाजिक संघसंस्थामा लाग्ने व्यक्तिहरुले निस्वार्थ रुपमा सेवाको भावनासहित अगाडि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा समाजसेवी सुर्यबहादुर केसीले रेडक्रस संस्थालाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रमको अवसरमा रेडक्रसको आजीवन सदस्यता समेत वितरण गरिएको थियो । कार्यक्रम रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र सदस्य एवं कार्यक्रम संयोजक मुक्तिबहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो । आजैका दिन १८२८ मे ८ तारिखका दिन जाँ हेनरी ड्युनाले रेडक्रसको स्थापना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार