नेकपा म्याग्दीका जिल्ला सदस्यहरुले लिए शपथग्रहण

प्रताप बानियाँ
म्याग्दी,विहिबार बैशाख २६ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीका सदस्यहरुले बुधबार शपथग्रहण लिएका छन् । नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला सदस्यहरुको पहिलो पूर्ण वैठक तथा शपथग्रहण कार्यक्रममा पार्टी एकतापछि बनेको जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो ।

नवगठित जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले पद अनुसारको जिम्मेवारी वहन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि जनताको बिचमा बोलेर भन्दा पनि काम गरेर देखाउने जिम्मेवारी रहेको बताउँदै उनले सामूहिक रुपमा मिलेर अघि बढ्न नवनिर्वाचित जिल्ला कमिटी, गाउँपालिका र नगरपालिका कमिटीलाई निर्देशन दिए ।

नेकपाको केन्द्र र प्रदेशको विधि तथा विधान अनुसार आगामी दिनमा बैठक तथा सङ्गठन विस्तारको कार्यक्रम बस्तीसम्म पुग्नुपर्ने बताए । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले अहिलेसम्म संयन्त्रको माध्यमबाट जिल्लामा पार्टीको काम र गतिविधिलाई पूर्णता दिइएको बताउँदै अब नवगठित जिल्ला कमिटीमार्फत पार्टीका सबै कामलाई जनताको माझमा पु¥याइने प्रतिबद्धता जनाएका छन् ।

वैठकमा नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले पार्टी केन्द्रीय कमिटी र प्रदेशबाट प्राप्त सर्कुलर वाचन गरेका थिए । पार्टी अध्यक्ष पौडेलको अध्यक्षता र सचिव श्रेष्ठको सञ्चालनमा सम्पन्न पूर्ण बैठकमा प्रदेश कमिटीका सदस्य, जिल्ला सदस्यहरु तथा नगर र गाउँपालिकाका अध्यक्ष एवं सचिव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार