आफुँ बाँचे र मृगौला पीडितलाई बचाउने अभियानमा

हरिकृष्ण गौतम/म्याग्दी, आइतबार असार ८ गते । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । तर, म्याग्दीका एक यूवाले आफ्नो दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर दुवै मृगौला खराबीभएपछि जीवन मरणको दोसाधनमा पुगेका यूवाको उपचारमा आर्थिक संकलन अभियान, बिरामी र परिवारलाई आत्मविश्वास र हौसला प्रदान गर्ने गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका डकबहादुर रोका आधादशक अगाडी ब्लड प्रेसरका कारणदुवै मृगौला खरावी, जन्डिसले एकबर्षसम्म अस्पतालमा विताए । उपचारमै करिव ४० लाख खर्च गरेका थिए । आफ्नै आमाले मृगौला दिएपछि पुरानै दैनिकीमा फर्किएका रोकाले मृगौला पीडितलाई आर्थिक सहयोग तथा नयाँ जीवनका लागि आत्मविश्वास जगाउने कार्यमा सक्रिय छन्।

बेनी नगरपालिका– २ बगरफाँटस्थती बुद्ध एकेडेमीमा कम्यूटर शिक्षक रहेका रोकाले जिल्लाकै मंगला गाउँपालिका–५ अर्मनका मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियानको नेतृत्व गदैं करिव २५ लाख सङ्कलन गरेका थिए । मृगौला प्रत्यारोपणको तयारीमा रहेका छन्त्यालसँगै शुक्रबार मालिका गाउँपालिका–३ रुमका मानबहादुर पटेललाई समेत आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गरेका छन् । उनले विद्यालयको समय बाहेक आवश्यकता अनुसार मृगौला खरावीबाट चिन्तित भएका बिरामीलाई प्रत्यक्ष भेटेर र अन्य माध्यमबाट समेत परामर्श दिने गरेका छन् ।

‘म पलपल मरेर बाँचेको मान्छे,‘मृत्युलाई नजिकबाट पन्छाएर नयाँ जन्म लिएजस्तै अन्य विरामीलाई पनि उर्जा थप्ने प्रयासमा छु’ रोकाले भने । उनले आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएकाको उपचारमा आर्थिक सहयोग समेत गर्ने गरेको बताए । उनले मृगौला पीडितभन्दा पनि श्रीमति र आमाबुबाको पीडामा धेरै समय खर्चने गरेको बताए । ‘आर्थिक रुपमै उठिबास बनाउँछ,‘विपन्न परिवाका रोगीले उपचार नै गर्न सक्दैनन्’ रोकाले भने ।

छोराको दुवै मृगौलामा खरावी देखिएपछि सहयोग जुटाउन बेनीमा आएकी चन्द्रकुमारी पटेललाई आर्थिक सहयोग तथा उपचारका बारेमा जानकारी गराउँदै मृगौला खरावीबाट सबैभन्दा चिन्तित जन्मदिने आमा नै भएकाले सहयोग तथा मृगौला दान दिएर आमाले दोस्रो जन्मदिनएको आफ्नो अनुभव सुनाउँदै थिए । पटेलको मृगौला समेत छोरालाई प्रत्यारोपणका लागि म्याच भएपछि थप स्वास्थ्य समस्या र भविस्यमा काम गर्न सक्ने अवस्थाका बारेमा समेत जिज्ञासा राखेकी थिईन् । ‘रोग लाग्न’ जीवन सकिने जस्तो लाग्छ,‘आत्मविश्वास र सहयोगले रोगलाई पन्छाउन सकिन्छ’ पटेललाई सम्झाउँदै रोकाले भने । उनले मृगौला रोगीलाई समेत घण्टौसम्म सम्झाउने गरेका छन् । ‘उहाँले रोगलाई जित्ने औषधी दिनुहुन्छ,‘त्यही औषधीले पनि धेरै बाँच्न सकिन्छ जस्तो लाग्छ’ मृगौला पीडित पटेलले अनुभव सुनाए ।

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत भइरहेका मृगौला पीडितको उपचारमा रोकालाई नै जिम्मा दिइएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘उहाँबाट विरामीलाई पनि उत्साह थपिएको छ,‘भोगेको पीडा सुनाउँदा विरामीलाई पनि औषधी बनेको छ’ शाक्यले भने । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा सक्रिय कोषले हालसम्म १ सय ३५ जनाको उपचारमा आर्थिक जुटाएको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कोषले मृगौला पीडित छन्त्याल र पटेललाई सहयोग जुटाइरहेको छ ।
जनचेतनामुलक कार्यक्रम
साइलेन्स किलरको रुपमा चिनिएको मृगौल रोगका बारेमा रोकाले विद्यालय तथा अन्य संघसंस्थाले गरेका कार्यक्रममा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालनको आवश्यकता देखेका छन् । विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मृगौला रोगबाट जोगिने अभियानलाई प्रभावकारी बनाउन सकिने रोकाको भनाई छ ।

गलत खानपान तथा औषधीको साइड इफेक्सनका कारण मृगौला खराबी हुने भएकाले पनि अधिकांस रोगी विपन्न र जनचेतनाको अभावको अभावकै कारण पीडित भएकाले गरिब तथा विपन्न बस्ने बस्ती, दलित तथा जनजातिको खानपीनलाई समेत सुधार ल्याउनुपर्ने रोकाको भनाई छ ।

‘हरेक मृगौला पीडित उपचारपछि समान्य चिकित्सक जस्तै बनेर निस्कन्छन्,‘मैले मृगौला रोग लाग्नबाट जोगिन सक्ने हरेक चिकित्सकले दिने परार्मशलाई दिनसक्छु’ उनले भने । जिल्लाभित्रका सबै नीजि तथा सरकारी विद्यालयका विद्यार्थीलाई अभियानमा जोड्ने, अभिभावकलाई समेत सहभागी बनाउन सकेमा समाजमा मृगौला रोगीको संख्यामा कमी ल्याउन सकिने रोकाको भनाई छ । सडक तथा तालिमगोष्ठीमा प्रसस्तै पैसा खन्याउने जनप्रतिनिधिले समेत अति जटिल रोगबाट जनतालाई जोगाउने कार्यक्रममा ध्यान नदिएको उनको गुनासो छ । बदलिँदो जीवनशैली, खानपान, मोटोपनले समेत रोगीको संख्या थपिदै गरेको बताए । मृगौला रोगको पहिचान, रोकथाम र उपचारमा अभियान सञ्चालन गर्दा आर्थिक तथा पारिवारिक समस्याले समाज नै अस्तब्यस्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार