ऐतिहासिक धार्मिक स्थल ‘करबाकेली ’थानमा पुन समुदायको कुलपुजा (फोटोफिचर)

बेनी,बुधबार मंसिर १८ गते ।
म्याग्दीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल करबाकेली बाबाको थानमा पुन समुदायले कुलपुजा गरेका छन् । समुन्द्री सतहदेखी दुई हजार तीन सय मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८राम्चे ,काफलडाँडामा रहेको करबाकेली बाबाको थानमा मंगलबार विविध पुजा गरिएको हो ।

तस्बिर सौजन्य: संगिता पुन

म्याग्दी लगायत देशभरी बसोबास गर्ने पुन समुदायको धरोहर कुल देवता ‘करबाकेली बाबा’को पुजा गरेका हुन् । करबाकेली थानमा हरेक बर्षको दुई पटक पुजा गर्ने चलन रहेको करबाकेली बाबा संरक्षण समितिका सचिव रबि गबुर्जा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

पछिल्लो समय राष्ट्रिय स्तरको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टीकोणले पनि महत्वपुर्ण मानिएको करबाकेली बाबाको पुजा गर्ने भक्तजनको भिड बढेको छ । प्रत्येक बर्ष जेठको पहिलो मंगलबार र मंसिर महिनाको पहिलो मंगलबारका दिन करबाकेली थानमा विशेष कुल पुजा गरिन्छ । मंसिर महिनाको पहिलो मंगलबार भएको कुल पुजामा म्याग्दी र देशभरका विभिन्न ठाउँबाट मगर समुदायको उपस्थिती रहेको थियो ।

तस्बिर सौजन्य: संगिता पुन

पुन समुदायले परम्परागत रितिरिवाज अनुसार कुल देवता करबाकेलीको थानमा पुजा गर्दै आएका छन् । हरेक बर्षको जेठ र मंसिर महिनाको पहिलो मंगलबार करबाकेली बाबाको पुजा गरिदैं आएको सचिव गर्बुजा पुने जानकारी दिनुभयो ।करबाकेली बाबाको पुजा गर्दा मनोकामना पुरा हुने जनविश्वास छ ।करबाकेली बाबा संगै उनका जेठा छोरा रामचन र कुलचनको पनि पुजा गर्ने गरिएको सचिव गर्बुजा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

भाकल अनुसार करबाकेली बाबाको थानमा विशेष गरी जेठा छोरा रामचनलाई कुखुराको भाले र कान्छा छोरा कुलचनलाई भेडाको साँढ तथा बोकाको बली दिएर पुजा गरिँदै आएको सचिव गर्बुजा पुनको भनाइ छ । उहाँका अनुसार मंगलबार एक हजार बढी भक्तजनले पुजा तथा दर्शन गरेका छन् । विगतमा भन्दा करबाकेली बाबाको पुजा तथा दर्शन गर्ने भत्तजनको भिड बढेको छ ।

तस्बिर सौजन्य: संगिता पुन

रितिरिवाज अनुसार मंगलबार विहान मध्यान्ह रातिदेखी नै पुजारीहरुले करबाकेली बाबाको थानमा पुजा गरी सूरुवात गर्ने परम्परा रहेको करबाकेली बाबा संरक्षण समितिका अध्यक्ष देबेन्द्र पुर्जा पुनले बताउनुभयो । ‘करबाकेली पुन समुदायको कुल देवता मात्र नभइ सबै समुदायको धार्मिक आस्थाको धरोहर हो,’अध्यक्ष पुर्जा पुनल भने ।‘करबाकेलीबाबाको पुजा गर्दा खेतमा लगाइएको अन्नबालीको सुरक्षा र परिवारमा सुख शान्ति प्राप्ती संगै मनोकामना पुरा हुने विश्वास छ ।’

तस्बिर सौजन्य: संगिता पुन

स्थानीयको सक्रियतामा करबाकेली थानमा पुजा गर्न आउने भत्तजनलाई लक्ष्यित गरी लागि पक्की सडक, पदमार्ग‘करबाकेली इको ट्रेक’सामुदायिक लज र सभाहल, खेलमैदान लगायत विभिन्न पुर्वाधार निर्माण गरिएको छ । विसं २०६९ सालमा निर्माण भएको करबाकेली थानको एशियाको सर्वाधिक म्यागसेसे पुरस्कार विजेता महविर पुनले उद्धघाटन गर्नुभएको हो ।

तस्बिर सौजन्य: संगिता पुन

करबाकेली थान (मन्दिर )भित्र उहाँका दुई श्रीमती हिमला, फिमला ,जेठा छोरा रामचन र कान्छा छोरा कुलचनको मुर्ति राखिएको करबाकेली थान निर्माण समितीका संयोजक एवम् करबाकेली बाबा संरक्षण समितिका संरक्षक चाम बहादुर गर्बुजा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

साथै करबाकेली क्षेत्रमा सबै समुदायको पुर्खादेखीको रितिरिवाज, संस्कार र संस्कृति झल्काउने संग्रहालय निर्माण थालिएको छ । करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका गरी २५ वटा बढी गाउँ र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । म्याग्दी भ्रमण बर्षलाई लक्ष्यित गरी पर्यटकीय गन्तव्यको रुपमा करबाकेली क्षेत्रलाई समेटिएको थियो । मंगलबार मगर समुदायको पुख्र्यौली ख्याली सोरठी नृत्य संगै सांगितिक प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार