आयात घट्यो

काठमाण्डौं ,विहिबार पुस ३ गते ।
सरकारको विदेशी ऋण परिचालन वृद्धि तथा आयात र नेपालीको भ्रमणमा खर्च कम भएपछि मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर) बचतमा वृद्धि हुन थालेको छ । चार महिनामा मुलुकको भुक्तानी सन्तुलन २७ अर्ब ९२ करोड पुगेको छ । गत आवको पहिलो चार महिनामा भुक्तानी सन्तुलन ५७ अर्बले घाटामा थियो । यो अवधिमा आयात करिब ७ प्रतिशतले घटेर ४ खर्ब ५० अर्बमा सीमित भएको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, विमानका पार्टपुर्जा, स्टिल तथा फलाम, चामल, धागोलगायतका समग्रीको आयात उच्च दरमा घटेको छ ।

‘आयात र वैदेशिक भ्रमणमा गरिएको कडाइले परिणाम दिन थालेको देखिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले भने, ‘निर्यातमा समेत वृद्धि भएकोले भुक्तानी सन्तुलन देखिएको हो ।’

निर्यात २३ प्रतिशतले बढेर ३६ अर्ब ३७ करोड पुगेको छ । तर, कुल निर्यातको २३ प्रतिशत हिस्सा भने आयातीत पाम आयलले नै लिएको छ । पाम आयल अलग्याउने हो भने मुख्य निर्यात भएका २० वस्तुको निर्यात नै गत वर्षको ४ महिनाको तुलनामा ८ प्रतिशतले घटेर १६ अर्बमा सीमित भएको छ । पाम आयलको मात्रै ८ अर्ब ३६ करोडको निर्यात भएको छ । चार महिनामा ७ अर्ब ४९ अर्बको पाम आयल भित्रिएको थियो ।

सरकारले विदेश भ्रमणमा कडाइ गरेपछि यसको प्रभाव भने देखिएको छ । गत वर्ष यो अवधिमा ३४ अर्ब ९१ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च भएकोमा यो वर्ष २५ अर्ब ७९ करोडमा सीमित छ । त्यस्तै, सरकारको वैदेशिक ऋण परिचालन तुलनात्मक अवधिमा १ सय १७ प्रतिशतले बढेर २५ अर्ब ८७ करोड पुगेको छ । आयातीत वस्तुमा खाद्यान्न र पेय पदार्थको हिस्सा बढ्दै गएको छ । यसको हिस्सा कुल आयातमा ४४ प्रतिशत छ । औद्योगिक आपूर्तिहरूको आयातमा केही कमी आएको छ ।

रेमिट्यान्स घट्यो मूल्य वृद्धि लक्ष्यबाहिर
सरकारले मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न सकिरहेको छैन । यसमा एक कारण आयातमा गरिएको कडाइ र भारतमा भएको मूल्य वृद्धिसमेत हो । भारतमा तरकारीको मूल्य ३० प्रतिशतले वृद्धि भएको छ । यही कारण नेपालमा समेत तरकारीको मूल्यमा २५ प्रतिशतसम्म वृद्धि देखियो ।

त्यस्तै, मुलक भित्रने रेमिट्यान्समा पनि २।३ प्रतिशतले कटौती भएर ३ खर्ब ४ अर्बमा सीमित भएको छ । श्रम स्वीकृतिमा जाने नेपालीको संख्यामा ५।६ प्रतिशत र पुनः श्रम स्वीकृतिमा जानेको संख्यामा ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएकाले रेमिट्यान्स आप्रवाहमा सुधार हुन सक्ने अपेक्षा राष्ट्र बैंकको छ । विदेशी मुद्राको सञ्चितिले भने ८ महिना ७ दिनको वस्तु तथा आयात धान्न सकिने अवस्था छ । यस्तो सञ्चिति ११ खर्ब ३ अर्ब छ ।

कर्जा र निक्षेपमा सन्तुलन
कर्जा लगानी र निक्षेप परिचालनमा सन्तुलन देखिएको छ । पर्वहरू परेका कारण सो अवधिमा सन्तुलन देखिएको हो । कर्जा लगानी ५ प्रतिशतले बढ्दा निक्षेपमा ३।६ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूले ३० खर्ब ५० अर्ब कर्जा परिचालन गरेका छन् भने ३४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका छन् । nayapatrikadaily

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार