वीरगञ्जमा नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ

काठमाडौं ,सोमबार पुस ७ गते । मानिसको स्वास्थ्यमा गंभिर असर गर्ने रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगमा कार्यरत ३ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादव रहेका छन् । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उद्योगमा विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको भेटिएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसरी उत्पादित घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि बरामद गरेको छ । नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडा कुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको छ । दैनिकअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार