प्रदेशको नामाकरण गर्न प्रदेश २ मा मतदान सुरु

धनुषा,मंगलबार चैत ०४ गते । ( प्रदेश २ को नामाकरणका लागि मतदान सुरु भएको छ ।मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

नामका विषयमा सहमति जुटाउन दलहरु छलफलमा जुटे पनि सहमति हुन नसकेपछि मतदानमा जाने सहमति भएको हो । ‘जानकी प्रदेश’ नाममा दुई तिहाई अर्थात ७२ मत खसेमा त्यही नाम सदर हुनेछ । जानकी नाममा दुई तिहाई मत नखसेमा मिथिला, मध्य प्रदेश र मधेश प्रदेशमा मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रदेशको नाम टुँगो लागेपछि राजधानीबारे चुनाव हुनेछ । आज रातिसम्ममा प्रदेश २ ले नाम र राजधानी पाउने प्रदेश २ को प्रदेश सभाले जनाएको छ । प्रदेश २ को राजधानी जनकपुरधाम, विरगन्ज वा विरगन्ज लगायत आसपासका क्षेत्रलाई समेटेर तोक्ने प्रस्ताव भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले जानकी प्रदेशकै पक्षमा र कांग्रेसले मिथिलाका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । कांग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा देखिएकाले क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

यस्तै सत्तापक्षका केही सांसद मध्य प्रदेश नाम राख्नुपर्ने प्रस्तावको पक्षमा देखिएका छन् । प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद छन् ।

यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरे पनि दलहरुबीच सहमति हुन नसकेपछि मतदान हुन लागेको हो । ujyaaloonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार