छोराहरुको जन्मदिनमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सामाग्री सहयोग

बेनी ,विहिबार बैशाख १८ गते ।

यहाँका एक व्यक्तीले छोराहरुको जन्मदिनको अवसरमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित बागलुङ्गे सुनचाँदी पसलका संचालक (प्रोप्राइटर) प्रेम विश्वकर्माले दुई छोराहरुको जन्मदिनमा लकडाउनबाट प्रभावितका लागि गाउँपालिकाले स्थापना गरेको खाद्य बैंकलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको हो ।

दुई छोराहरु असिम र अनमोल विश्वकर्माको जन्मदिनको अवसरमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री खरिद गरेर गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर मार्फत उपलब्ध गराउनुभएको हो । सहयोगप्रति अध्यक्ष रोका मगरले धन्यवाद दिँदै निरन्तर सहयोगको आशा व्यक्त गर्नुभयो । कोरोनाको विपत्तीसंग लडिरहेको समयमा जन्मदिनमा हुने फजुल खर्च कटाएर लकडाउनबाट प्रभावित गरिब तथा विपन्न परिवाराई खाद्यान्न राहत सामाग्री सहयोग गरेर उदाहरणिय कार्य गरको बताउनुभयो ।

साथै उहाँले विश्वकर्माका दुई छोराहरुलाई जन्मदिनको शुभकामना पनि व्यक्त गर्नुभयो । महामारी कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनबाट प्रभावित परिवाहरुलाई एकद्धार प्रणाली मार्फत राहत उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो । अध्यक्ष रोका मगरले कोरोनाबाट बच्न सावधानी तथा सतर्कता अपनाउन र लकडाउनको पालना गर्न समेत अपिल गर्नुभयो ।

लकडाउनबाट प्रभावित परिवारका लागि गाउँपालिकाले संचालन गरेको अभियानलाई केही सहयोग पु¥याउन सकियोस भनि दुई छोराहरुको जन्मदिनको अवसरमा खाद्यान्न राहत सामाग्री उपलब्ध गराएको विश्वकर्माले बताउनुभयो । चामल ,नुन तेल लगायत १२ हजार रुपैयाँ बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराइएको उहाँको भनाई छ । अध्यक्ष रोका मगरलाई प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्मा,वडा नं.६ का सचिव सोमबहादुर केसी लगायतको उपस्थिती हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार